सुदूरको गन्तव्य खप्तड

sailendra rokayaशैलेन्द्र रोकाया

आत्म शान्तिका लागि भौतारिरहेका तथा प्राकृतिक रमाइला दृश्य हेर्न आतुर मानिसका लागि नेपालका धेरै ठाउँमध्ये एक महŒवपूर्ण धार्मिक एवं पर्यटकीय स्थल हो खप्तड । धर्तीको स्वर्गका रूपमा मानिने खप्तड बाजुरा, बझाङ, अछाम र डोटी चार जिल्लाको केन्द्रमा रहेको छ । खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनीहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ । धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको यो क्षेत्रमा कौरव र पाण्डवको युद्ध हुँदा पाण्डवले चौध वर्ष वनबास बस्दा केही समय यहाँ बिताएको किम्बदन्ती रहँदै आएको छ ।
चार जिल्लामध्ये सबैभन्दा सजिलो र एकदम कम पैदल हिँडेर खप्तड पुगिने बाटो बझाङबाट छ । धनगढीबाट बसमा बैतडीको खोडपे हँुदै बझाङको सुबेडा गाविसको तमैल बजार झरेपछि त्यहाँबाट छ घण्टा पैदल यात्रामा खप्तड पुगिन्छ । धनगढीबाट १० घण्टा बसको यात्रामा तमैल बजार सहजै पुगिन्छ । छान्ना क्षेत्रबाट तीन घण्टा उकालो हिँडेपछि खप्तडको मनोरम दृश्यले मनमा भएको थकाइ मेटिने र प्रकृतिसँगै लीन हुने आनन्द आउँछ ।
समुन्द्री सतहबाट ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिकरूपमा पवित्र मानिन्छ । बझाङ माझी गाविस एक का ७५ वर्षीय राम रावल खप्तडलाई भगवान् बस्ने मन्दिरका रूपमा बयान गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– खप्तड पुग्ने बित्तिकै मनमा भएको कुबिचार आफैँ हटेर जान्छ, राम्रो विचार मात्र मनमा आउँछ ।
तपस्या भूमि
विक्रम संवत् २००२ मा बझाङी राजा रामजंग सिंह र छान्नाका स्थानीय समाजसेवी घुरे रोकायाले भारतबाट आएका एक जना साधुलाई कुटी बनाइ खप्तडको घनघोर जङ्गलमा तपस्या समेत गर्न राखेका थिए । उनले यस खप्तडलाई देवभूमीका रूपमा रहेको बताउँदै देश विदेशमा यसको महŒव र धार्मिक पर्यटनको महŒवबारे प्रचार प्रसार गरेपछि यस ठाँउले व्यापक चर्चा पायो । पछि उनी खप्तड बाबाका नामले परिचित बने । उनि २०५२ सालसम्म (५० वर्ष) यसै भूमिमा बसे र २०५२ सालमा उनको निधन भयो । पौराणिक कालदेखि धार्मिक महŒव रहेको यस क्षेत्रमा खप्तड बाबाको बसाइँपछि झनै चर्चित बनेको बताउनुहुन्छ, यहाँका पुजारी धु्रवराज जोशी । जोशीका अनुसार पहिले गाईगोरुको चरन क्षेत्रका रूपमा रहेको यो क्षेत्र खप्तड बाबाको आगमनपछि राजा वीरेन्द्रलाई अग्रह गर्दा २०४२ सालमा राष्ट्रिय निकुन्ज भएको हो ।
खप्तड क्षेत्रमा रहेका २२ वटा ठूला ठूला पाटन रङ्गीबिरङ्गी फूलले पर्यटकको मन तान्छन् । ठूल्ठूला ढुङ्गाका नाग ढुङ्गा, हरिना चरिजेठी बहुरानी, छिन्टे ढुङ्गा, ¥याई घट्ट छ्याई पानी, भिम लौणी लागायतका आकृति रहेका छन् । विभिन्न शक्तिपिठ जस्तै सहस्रलिङ्ग, त्रिवेणी, खप्तड बाबा आश्रम, खापर दह, त्रिवेणी, माईकाथान जस्ता ठाउँमा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने विश्वास रहँदै आएको छ । यहाँ जेठ महिनामा गङ्गा दशहरा मेला लाग्ने गर्छ ।
बझाङका निवासी भूमि सुधार मन्त्रलयका पूर्व सचिव बिष्णुप्रसाद खत्री खप्तडको विकासका लागि विभिन्न निकायबाट आर्थिक स्रोतसमेत उपलब्ध हुँदै गएको तर स्थानीयस्तरमा सहीरूपमा परिचालन हुन नसकेको गुनासो गर्नुहुन्छ । यस क्षेत्रमा धार्मिक पर्यटनका रूपमा विकास गर्नसके यो देशकै महŒवपूर्ण पर्यटकीय क्षेत्र हुनसक्ने अनुमान गर्न सकिन्छ ।
प्रकृतिले नै रमाइलो बनाएको यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, ससाना ढिस्का र रमाइलो जङ्गल रहेको छ । गाईगोरु घोडा रमाउने गर्छन् खप्तडका फाँटहरूमा । चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फाँट छन् । जैविक विविधताले भरिएको यो क्षेत्रमा २०४० सालदेखि राष्ट्रिय निकुन्ज बनेको छ । यस क्षेत्रको सुरक्षाका लागि २०४७ सालदेखि नेपाली सेनाको ब्यारेक पनि स्थापना गरिएको छ । खप्तडमा दुई सयभन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडिबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफे लगायतका जन्तु–पक्षी पाइन्छन् । मङ्सिरदेखि फागुनसम्म हिउँले ढकमक्क हुने यस ठाउँमा स्तरीय होटल तथा आवश्यक अन्य पूर्वाधारको अभावमा विदेशी पर्यटकको आगमन न्यून रहेको छ ।
खप्तड क्षेत्रको विकासका लागि बर्सेनि करोडौँको बजेट आउने भए पनि खप्तड पर्यटन बोर्डमा हुने राजनीतिकरण र आर्थिक अनियमिताले यस क्षेत्रको विकास हुनसकिरहेको छैन । खप्तड क्षेत्रलाई राजनीतिक दलहरूका कार्यकर्ताले कमाइखाने भाँडोका रूपमा प्रयोग गरिरहेकाले बर्सेनि अख्तियार दुरूपयोग आयोगमा उजुरी पर्ने भए पनि त्यसको छानबिन प्रक्रिया फितलो हुने गरेको यस क्षेत्रका बासिन्दाको भनाइ छ । यस क्षेत्रको संरक्षण संवर्धन गर्न राष्ट्रिय निकुञ्ज स्थापना गरिएको भए पनि खप्तड वरिपरिका क्षेत्रबाट व्यापकरूपमा चोरी निकासी भइरहेको स्थानीय गुनासो छ । खप्तडलाई पर्यटकीय क्षेत्र घोषणा गर्न तथा आवश्यक पूर्वाधार तयार गर्ने प्रतिबद्धता गर्दै प्रत्येक चुनावमा नेताहरू यस क्षेत्र वरिपरिका बासिन्दालाई भोट बैङ्कका रूपमा प्रयोग गर्छन् तर यस क्षेत्रको विकासका लागि भने ठोस पहल हुनसकेको छैन ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना