• ६ चैत २०८०, मङ्गलबार

‘सबै घरधुरीमा विद्युत् पुर्‍याउँछौँ’

blog

बनेपा समाचारदाता

बनेपा, साउन २६ गते । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले आगामी पाँच वर्षभित्र गाउँपालिकाका सबै घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराउने बताउनुभएको छ । उहाँका अनुसार हाल गाउँपालिकाको वडा नम्बर ५ मा रहेका करिब ५० घरधुरीले मात्रै राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् प्रयोग गर्दै आएका छन् । 

केन्द्रीय प्रसारणको विद्युत् गाउँमा नपुगेका कारण महाभारत गाउँपालिकाका अधिकांशमा घरधुरीमा लघु जलविद्युत्को बिजुली प्रयोग गरिँदै आएको अध्यक्ष जिम्बाले गोरखापत्रसँग बताउनुभयो । उहाँले हाल गाउँपालिकाको विभिन्न वडाका करिब आठ सय घरधुरीमा ‘एक घर, एक धारा’को माध्यमबाट खानेपानीको सुविधा पुगेको बताउँदै यस वर्षभित्र करिब एक हजार घरधुरीका लागि खानेपानीको काम अघि बढाइने बताउनुभयो । पाँच वर्षको अवधिमा गाउँपालिकाभित्र रहेका ३३ सय घरधुरीमा नै ‘एक घर, एक धारा’ खानेपानी सुविधा उपलब्ध गराइने उहाँ बताउनुहुन्छ । सङ्घीय सरकारको सहयोगमा दस शøयाको अस्पताल निर्माण सुरु गरिएको बताउँदै आगामी तीन वर्षको अवधिमा अस्पताल निर्माण सम्पन्न गरी स्थानीय स्तरमा नै स्वास्थ्य सेवा प्रदान गरिने पनि उहाँको भनाइ छ । 

उहाँले दोस्रो कार्यकालमा गाउँपालिकाभित्र रहेका ४९ वटा सामुदायिक विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण गरी शिक्षालाई गुणस्तरीय बनाउनका लागि विभिन्न कार्यक्रम अघि सारिने बताउनुभयो । पाँच वर्षको अवधिमा गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई कालोपत्रे गर्ने र विभिन्न वडामा रहेका सडकको स्तरोन्नति गरिने योजना रहेको सुनाउँदै अध्यक्ष जिम्बाले स्थानीय कृषकको जीवनस्तर उकास्न कृषिमा उत्पादनमुखी कार्यक्रम सञ्चालन, नागरिकलाई उद्यमी, व्यवसायी बनाउनका लागि कटाइ, सिलाइलगायतका सीपमूलक सञ्चालन गरिने बताउनुभयो । 

गाउँपालिकाका विभिन्न वडामा रहेका टोलमा महिनाको एक पटक स्वास्थ्यकर्मीको समूह गई ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने काम सुरु गरिएको छ ।