• ६ चैत २०८०, मङ्गलबार

बजेट सुनिश्चित भएपछि मात्रै रुख कटान

blog

काठमाडौँ, साउन २६ गते । वन तथा वातावरणमन्त्री प्रदीप यादवले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट सुनिश्चित भएपछि मात्रै रूख कटानको अनुमति दिइने बताउनुभएको छ ।

सामुदायिक वन दिवसका अवसरमा वन तथा भूसंरक्षण विभागद्वारा बुधबार आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले विमानस्थल निर्माणका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली नगराएरसम्म रूख काट्न नदिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “मुआब्जा पाइसकेको जमिन खाली गरियोस् । विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रुख कटान गर्न मन्त्रालय अनुमति दिन तयार छ ।” 

वन माफियालाई तह लगाउन आफू जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले मुआब्जा पाइसकेका वनको कब्जा गरिएको करिब पाँच सय हेक्टर जमिन खाली हुनुपर्नेमा जोड दिनुभयो । 

मन्त्री यादवले सामुदायिक वनका कारण नेपालको वन क्षेत्र वृद्धि भएको चर्चा गर्दै साझेदारी वन, कबुलियती वन, निजी वन आदिका कारण मन्त्रालयले प्रशंसा पाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वन कर्मचारी तथा विभिन्न सामुदायिक वनले जग्गाजमिन संरक्षण गर्नुका साथै वनजङ्गल जोगाउन ठूलो योगदान दिएका छन् । यसै कारण देशमा हरियाली छ ।” उहाँले काठमाडौँको बबरमहलस्थित वन परिसरमा निर्मित सामुदायिक वन स्तम्भको पनि अनावरण गर्नुभयो ।