प्रजातान्त्रिक समाजवादका पराकम्पन

ram p gautamरामप्रसाद गौतम 


भोलिदेखि नेपाली काँगे्रसको महाधिवेशन हुँदैछ । त्यो पार्टीको जगमा प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक आधार बीपी कोइरालाले बिजारोपण गरेर जानु भएको हो । आज वास्तविक रूपमा प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयन गर्ने क्षमता त राज्यसँग छैन तर यसको सान्दर्भिक परिभाषा र त्यसको स्वरूपबारे केही पराकम्पन कार्यबाहक सभापति रामचन्द्र पौडेल र नरहरि आचार्यका केही लेखमा महसुस गर्न पाइन्छ । यद्यपि कसैले यसको युगानुकूल परिभाषा दिएको देखिएको छैन । यो शब्द र यसको प्रयोजनलाई लगभग ‘कोमा’ मा राखेर पार्टी १३आँै महाधिवेशनमा प्रवेश गर्दैछ ।
कुनै पनि पार्टी एउटा सैद्धान्तिक आधारबिना अडिन सक्दैन । यो प्रजातान्त्रिक पार्टी हो, यसले आर्थिक उदारीकरण, राजनीतिक रूपमा स्वतन्त्र आवधिक चुनाव, बहुलवादमा विश्वास, निष्पक्ष न्याय प्रणाली र पुँजीवादमा निर्भर अर्थतन्त्रको वकालत गर्छ तर यी कुनै पनि विषयले प्रजातान्त्रिक समाजवादलाई पुस्ट्याउन सक्दैन । वास्तवमा प्रजातान्त्रिक समाजवादको लागि उच्च नैतिकताको राष्ट्रिय पुँजीपति वर्गको आवश्यकता पर्छ । जसले वैधानिकरूपमा पर्याप्त पुँजी आर्जन गरोस् र सरकारलाई कर तिर्नमा गर्व महसुस गरोस् । त्यो करबाट सरकारले पूर्वाधार विकास गर्नुका साथै समाजको विपन्न र असहायवर्गलाई शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता अति आवश्यक नागरिक सुविधाहरू प्रदान गर्न सकोस् । पर्याप्त रोजगारी सिर्जना होस् र कोही केही कारणवश बेराजगार बस्न बाध्य भएमा जीवन निर्वाहको लागि बेरोजगार भत्ता दिन सक्ने अवस्थामा सरकार पुग्नु नै प्रजातान्त्रिक समाजवाद हो । आज अमेरिकामाबाहेक अन्यत्र प्रजातान्त्रिक समाजवाद फस्टाउन सकेको छैन तर स्वयं अमेरिकाले आफूलाई पँुजीवादी मुलुक भने पनि यसले प्रदान गर्ने नागरिक सुविधा र न्यायप्रणाली बीपीको प्रजातान्त्रिक समाजवादको अवधारणासँग मिल्दाजुल्दा छन् ।
प्रजातान्त्रिक समाजवाद अनुरूप पार्टी सञ्चालन गर्न सम्भव नभएर हो वा ईच्छाशक्ति नभएर हो नेपाली कांँगे्रसको कुनै पनि राजनीतिक सुझबुझ त्यतातर्फ ढल्केको जस्तो लाग्दैन । राजनीतिक दलमा सर्वस्वीकार्य नेतृत्व नजन्मेसम्म सैद्धान्तिक बहस निकै ओझेलमा परेर व्यक्ति केन्द्रित बहसमै पार्टी अल्मलिन पुग्छ । यही कारणले गर्दा आजसम्म पनि कांँगे्रसले कुनै मञ्चमा आगामी दिनमा पार्टीलाई कसरी जनतामाझ उभ्याउने भन्नेमा भन्दा कुन नेतालाई पदमा स्थापित गराउने र उसको सहयोगबाट आफ्नो स्वार्थको दुनो सोझ्याउने बारेको चिन्तनमा समय बर्बाद गरिरहेको छ । विगतको तुलनामा यसपटक झनै स्वीकार्य नेतृत्व नभएको मौका पारेर लगभग बीस हजार रुपियाँमाथिका कोटसुट लगाउने हैसियत भएका सबैले म सभापति हुन पाउनुपर्छ भनी डुक्रेको सुन्न पाइएको छ । सबै ‘म’प्रेमीहरूले आफ्नो क्षमता, वैधानिकता, योगदान र सङ्गठनात्मक पद शृङ्खला पनि हेर्नुपर्ने हो पार्टीमा तर ठूलै नेताले फलानोलाई जिताउन सकिंँदैन म भए पक्कै जित्छु भनेको सुन्दा नोकरीको पदमा प्रतिस्पर्धा गरेको जस्तो देखिएको छ । विजयको बारेमा स्वआँकलन गर्नु सैद्धान्तिक विचलनको मनोगत प्रयास भएन र ? पार्टीमा त सिद्धान्त, नीति योजना र कार्यक्रमले पो जित्ने हो, सुन्दरी प्रतियोगितामा झँैं परिधान र वक्षस्थलको तालमेलले जितिने हो र ? यदि कसैले शतप्रतिशत चुनाव जित्दछ भने उसको बाटो रोक्नु हुँदैन तर जित्ने के का लागि र कसका लागि भन्ने प्रश्न आउनासाथ फेरि देश र जनताकै नाम अगाडि आउँछ । त्यसको लागि सिद्धान्त, सङ्गठन, संरचना चाहिन्छ, त्यहाँ पदसोपान हुन्छ । त्यसै अनुरूप जो माथि छ उसैलाई सभापति बनाउनु सर्वमान्य विषय हुनु पर्ने हो तर यसपटक च्याउ उम्रेझैँं सभापति निस्केका छन् ।
वैचारिक आरोह अवरोहमा, राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा, जनताले भोगिरहेको कठिन जीवनको सहजीकरण, नयाँ संविधानको कार्यान्वयनको सम्बन्धमा र राष्ट्रियतामा देखिन लागेका केही छिर्काहरूको सम्बन्धमा आफ्नो चेतना कति उर्वर छ त्यसको आधारमा मात्र आफूलाई शिखर पदमा घोषणा गर्नु पर्नेमा पूर्वजको विरासतको आधारमा र ३०–४० जना प्रतिनिधिले मलाई फोन गरेर तँपाई ठीक भनेका छन् भन्ने भरमा मात्र नेतृत्वमा दाबी गर्नु हास्यास्पदमात्र नभएर राजनीतिक बचपना पनि हो । राजनीतिमा लागेपछि सम्बन्धित पार्टीका धेरै महाधिवेशन प्रतिनिधिलाई चिनिन्छ, कसैको केही काम गरिदिइएको हुन्छ, उनीहरू आफूप्रति नजिक हुन्छन् तिनै प्रतिनिधिको ध्वाँसमा पार्टीभित्र बार्गेनिङ गर्ने प्रणालीले गुट उपगुटको सिर्जना हुन्छ र पार्टी द्वन्द्वको अखडा बन्न पुग्छ । यी सबै कुरालाई मनन गरेर एउटा सर्वमान्य नेतृत्वमा सहमत हुन सकेमा व्यक्ति केन्द्रित राजनीति, सिद्धान्त र राष्ट्रियतामा केन्द्रित हुने थियो ।
आज देखिने गुटहरू भोलि सतहमै छताछुल्ल भएर साना साना काममा पनि मेरो र तेरो हुने अवस्था आएमा देश तथा पार्टीको लागि ठूलो दुर्भाग्य हुनेछ । गुट बनिसकेपछि प्रत्येक प्रतिनिधि एउटा न एउटा गुटमा लाग्न बाध्य हुन्छ । प्रतिस्पर्धात्मक खेलमा सबै टिम राम्रो खेलुन् भन्ने आशा राख्नु स्वभाविकै हो तर सबै टिम प्रथम हुन् भन्ने कामना गर्नु पटकल्पना हो । तसर्थ अरूभन्दा बढी आधिकारिक र स्वभाविक उत्तराधिकारीहरूलाई प्रतिस्पर्धी बनाएर स्वच्छ प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन गर्नु सबैभन्दा बुद्धिमानी हुनेछ । होइन भने गल्लीगल्लीमा कांँग्र्रेसका नेतामात्र जन्मने कार्यकर्ता कोही पनि नहुने अवस्था आएमा त्यसको जिम्मेवारी कसले लिने ?
राजनीतिक पार्टीले जनतालाई खुशी पार्न सक्नुपर्छ । विभिन्न कारणले पछाडि परेको वर्गलाई अगाडि ल्याउनु र अन्यायमा परेकालाई न्याय दिलाउन सक्नुपर्छ । वर्षौदेखि एउटा वर्गले राज्यसुख सुविधा भोगिरहने र अर्को वर्ग जनजीविकाको आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्थामा रुमल्लिएको तीतो यथार्थ छर्लङ्ग छ । यसैलाई समाधान गर्नको लागि बीपीले प्रजातान्त्रिक समाजवादको परिकल्पना गर्नुभएको हो । जसले गर्दा राष्ट्रवादी पुँजीपति वर्गले तिरेको करबाट समाजका पँहुचहीन वर्गलाई देश विकासको मूलप्रवाहमा ल्याउन सकियोस् भन्ने परिकल्पना गरिएको छ । त्यो यथार्थलाई रत्तिभर ख्याल नगरी सबैलाई पद चाहिने, त्यो पनि सभापति नै चाहिनेजस्ता मनोगत अन्तद्र्वन्द्वलाई छताछुल्ल पारेर जग हसाउँनु निश्चय पनि देश र पार्टीको लागि पनि राम्रो होइन ।
जसरी एउटा मेसिनको प्रत्येक पार्टपुर्जा तथा नटबोल्ट आफैँंमा हिरो हो, त्यो नभए मेसिन चल्दैन । त्यसैगरी सङ्गठनभित्रका सबै पदाधिकारी आफँैमा महìवपूर्ण हुन् । प्रत्येकको आफ्नै किसिमको योगदान छ । सङ्गठन भनेको विशिष्ट तर फरकफरक क्षमताको संयोजन हो । त्यसैले सबैले एउटै पदमा दाबी नगरेर साङ्गठनिक जेष्ठताको आधारमा पदाधिकारी चयन गर्न सक्ने हो भने सायद काँग्रेसले जनतालाई बढी प्रभाव पर्ने गरी काम गर्न सक्ने थियो । विगतमाभन्दा आज बढी सान्दर्भिक बन्दै गएको प्रजातान्त्रिक समाजवादलाई परिमार्जित रूपमा फैलाउन सक्ने थियो । देशको सबैभन्दा ठूलो भनिने पार्टीले अरूले उठाएका एजेण्डामा अँ अँ र हँ हँ गर्नुभन्दा आफ्नो सिद्धान्तमा देश र जनतालाई डो¥याउन सक्नुपर्छ । सधैँभरि गुट र उपगुट बनाउने मौका परे आफ्नो ढिकुटी भर्ने नत्र भने नैतिकवान बनेर काशीयात्रामा गएको बिरालोझँैं साधु बन्ने प्रवृत्तिले न त पार्टी राम्रो हुन्छ न देश र जनताले केही प्राप्त गर्न सक्छन् ।
नेपाली कांँग्रेसले व्यक्तिगत स्वार्थ त्यागेर साँच्चै नीतिगत बहस अगाडि सारेर सबै क्षेत्र, सबै वर्ग, जातजाति, धर्म सम्प्रदाय, भौगोलिक क्षेत्र सबैको हित हुने गरी काम गर्न सक्ने हो भने प्रजातान्त्रिक समाजवादबाट नै लोकप्रिय पार्टी बन्न सक्छ । अन्यथा फलानाको अनुहार मसित भन्दा अर्कोसँग बढी मिल्छ यसलाई सक्रिय सदस्य दिन हुन्न भन्ने सङ्कीर्णताबाट माथि नउठ्ने हो भने सधैंँभरि रक्षात्मक रूपमा बाँच्नु पर्ने अवस्था रहनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना