क्रान्तियोद्धा राईको रामकहानी

sachit raiसचित राई

रामप्रसाद राई र नारदमुनि थुलुङ सात सालको क्रान्तिका योद्धा हुन् । नारदमुनीलाई २०१५ सालको चुनावमा ‘बीपी कोइरालाले टिकट नदिएर धोका दिएको’ भनेर कतै पढिएको थियो । रामप्रसादले भने डा. केआई सिंहसँग चीन जाँदा बिरामी परेर बाटोमै मृत्युवरण गर्नुपरेको भन्ने सुनिएका थियो । २०६९ माघ अन्तिममा केही सामग्री पाइएला कि भनेर इन्टरनेटबाट खोजी थाल्दा ‘रामप्रसाद राई पहिलो बेपत्ता नागरिक हुन्’ भन्ने लाइनले दिमागमा धक्का दियो ।
फागुन ७ नजिकिँदो थियो । रामप्रसादकी छोरी ७५ वर्षीया (त्यस बेला) कृष्णकुमारी राईसँग भेट गर्न ललितपुरको ग्वार्को पुग्दा रामप्रसादको विषयमा अनुसन्धान गरी पुस्तकाकार कृति नै प्रकाशन गर्नुभएका जय सिवाहाङसँग पनि भेट भयो । कृष्णकुमारीले राज्यप्रति बडो आक्रोश व्यक्त गर्नुभयो । अनुसन्धानकर्ता जय भन्दै हुनुहुन्थ्यो – ‘राज्यव्यवस्था नै परिवर्तनमा लागेको मान्छेलाई सरकारले कसरी सम्मान गरोस् ?’
रामप्रसादसम्बन्धी ऐतिहासिक सामग्री षड्यन्त्रमूलक ढङ्गबाट नष्ट गरिएको परिवारजनको दाबी छ । पारिवारिक स्रोतमा रहेका दस्तावेजसमेत डा. केआई सिंहले ‘इतिहास लेखिदिन्छु’ भनेर गायब पारेको खुलेको छ । भरपर्दो स्रोत त अब अनुसन्धानकर्ता, परिवारका सदस्यको अभिव्यक्ति, रामप्रसाद राई स्मृति प्रतिष्ठान (२०५१) का गतिविधि हुने नै भए ।
राणाशासन अन्त्यका लागि फागुन ७ को बिन्दुमा आइपुग्न राजा त्रिभुवन, कांँग्रेस र राणाबीच भएको त्रिपक्षीय दिल्ली सम्झौता निर्विवाद रहन सकेन । बीपी कोइराला, गणेशमान सिंहको संस्मरणसम्बन्धी किताबमा पनि दिल्ली सम्झौताप्रति असन्तुष्टि व्यक्त भएको पाइन्छ । सात सालको क्रान्तिका नायकले नै असन्तुष्टि जनाएको हेर्दा दिल्ली सम्झौता पनि किन
भन्नु ? दिल्ली सम्झौताको नाममा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले आफ्नो स्वार्थ पूरा गर्न नेपालीहरूलाई जबरजस्त मिलाएर पठाएको देखिन्छ । जे जस्तो भए पनि त्यसकै आधारमा जहानियाँ राणाशासनको अन्त्य भएको भने पक्कै हो । मोहन शमशेरलाई नै प्रधानमन्त्रीमा रहन दिने गरी भएको उक्त सम्झौतालाई ‘धोका’को संज्ञा दिई विद्रोहमा उत्रिएका तत्कालीन मुक्तिसेनाका कमान्डर रामप्रसाद (लप्टन रामप्रसाद राई) भने दशकौंँसम्म बेपत्ताजस्तै रहेछन् । राज्य पक्षबाटै षड्यन्त्रमा पारी रामप्रसादको हत्या भएको परिवारजनको दाबी छ । तत्कालीन पूर्व ४ नम्बर भोजपुर क्षेत्रबाट क्रान्तिलाई सफलतापूर्वक अघि बढाएका रामप्रसादको परिवार वर्षौंदेखि उही समस्याले पिरोलिइरहेको छ ।
‘रामप्रसाद राईको खोजी कतैबाट भएन । बरु सात सालको क्रान्तिमा पु¥याएको योगदानलाई नामेट पार्न खोजिएको छ,’ नाति पारुहाङ राईको गुनासो छ, ‘कालगतिले उहाँको मृत्यु भयो भनेर कसरी विश्वास गर्ने ? विश्वास गर्ने आधारै छैन । उहाँको शव पनि आएन । अझैँ बेपत्ताजस्तै हुनुहुन्छ । ’ कृष्णकुमारीले आफ्नो बुबाको विषयमा राज्य मात्र होइन, राजनीतिक दलसमेत मौन बसेकोमा आक्रोश पोख्नुहुन्छ । उहाँको भनाइ छ, ‘दिल्ली सम्झौताको विरोध गर्दा सरकारले हाम्रो बुबाको टाउकोको मोल नै तोकेको थियो । उहाँ सिंहदरबार विद्रोहपछि बेपत्ता हुनुहुन्छ । ’
रामप्रसादको जीवनीसम्बन्धी कृतिका लेखक जयकाअनुसार दिल्ली सम्झौताप्रति असन्तुष्टि जनाएका रामप्रसाद भोेजपुरमै पक्राउ परेका थिए । उनी जेलमुक्त भएपछि २० जेठ २००८ मा काठमाडौंँ आए । ‘राजा त्रिभुवनले एक भेटमा पदको प्रलोभन देखाउँदा रामप्रसाद झन् आक्रोशित बनेको देखिन्छ,’ जय भन्नुहुन्छ । उहाँका अनुसार त्रिभुवनले नयाँ व्यवस्थाको कुरा नगरेपछि दिल्ली सम्झौताप्रति असन्तुष्ट रामप्रसाद झन् आक्रोशित बन्न पुगे । राजधानीका सार्वजनिक समारोहमा भाषण गर्न थाले । त्यही क्रममा उनलाई २००८ माघ ४ गते पक्राउ गरी सेन्ट्रल जेलमा राखिएको थियो ।
‘हाम्रो मुक्तिसेनाको जवानको उपेक्षा गरी हाम्रो मञ्जुरीबेगर हतियार खोसी राणाको खाली कुर्सीमा गद्दार नेता चढाउँछ । सरकारको तरिका बदली मुक्तिसेनाको सङ्गठन सम्बद्र्धन गरी हतियार दिँदैन भने हामीलाई सरकारले कमजोर नठानोस् । म एक दिनमै रगतको खोलो बगाई प्रजातन्त्रको स्थापना गर्नेछु,’ जननायक सहिद रामप्रसाद राई नामक आलोचनात्मक इतिहासमा भूगोल पार्कको भाषण र महान् विद्रोह शीर्षकमा जयले प्रत्यक्षदर्शीको अन्तर्वार्तासमेत समेटी यसरी लेख्नुभएको छ, ‘भाषणपछि रामप्रसाद राई राष्ट्रिय महासभाको अफिसमा जानुभयो । उहाँलाई कालभैरव थानाका पुलिस इन्चार्ज बलदेव उपाध्याय (धादिङ)का कमान्डका रक्षा दलका जवानहरूले गिरफ्तार गरी केन्द्रीय कारागारमा कैद गरे । ’
जेलमा राखिए पनि रामप्रसादले आफ्नो पहरामा खटाइएका रक्षा दल (गोरखा दल अर्थात् खुकुरी दलले काण्ड मच्चाएपछि तत्कालीन गृहमन्त्री बीपी कोइरालाले मुक्तिसेनालाई काठमाडाँैं उपत्यकाको सुरक्षाको जिम्मेवारी दिई रक्षा दल बनाएका थिए) कै जवानलाई साथ लिई सिंहदरबार विद्रोह गराएको अध्ययनले देखाउँछ । जय सिवाहाङको खोजअनुसार केन्द्रीय कारागारमा भोजपुरेहरू नै ढोके, पाले र गार्ड कमान्डरहरू थिए । उनीहरूबाट मुक्तिसेनाको लेफ्टिनेन्ट मुगाधन राई र एकदेव आलेलगायत क्रमशः सेकन्ड बटालियन, फस्र्ट बटालियन र थर्ड बटालियनका कमान्डरहरूसँग रामप्रसाद राईले सम्पर्क बढाएका थिए । माघ ८ गते राति ९ बजे केन्द्रीय जेलका कोतबाट हतियार लिई सबै बन्दी रामप्रसादले आफूसँगै मुक्त गरे । केन्द्रीय जेल तथा सिंहदरबारका तीन बटालियनका २१०० मध्ये १२०० जवानले विद्रोहमा साथ दिए । केन्द्रीय जेलबाट गएर उनीहरूले सबैभन्दा पहिला सिंहदरबारको कोत फोरे । त्यसपछि ११ बजे विद्रोही रक्षा दलले तीन दिवारभित्रका केआई सिंहलाई मुक्त गरे ।
सात सालको क्रान्तिमा भैरहवा क्षेत्रको नेतृत्व गरेका डा. केआई सिंह पनि दिल्ली सम्झौताको विरोधमा गतिविधि चलाएपछि पक्राउ परेका थिए । डा. सिंह र खड्गबहादुर गुरुङलाई पाल्पाबाट हिँडाएर २००८ साल भदौ २६ गते सिंहदरबारमा बन्दी बनाइएको डा. भवेश्वर पंगेनीकृत डा. सिंहको जीवनीसम्बन्धी कृति डा. के. आई. सिंह र नेपालको राजनीतिमा उल्लेख छ ।
जयको खोजअनुसार रामप्रसादले सिंहलाई जेलबाट मुक्त गरेपछि विद्रोही सरकारका रूपमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्री क्रमशः डा. केआई सिंह, रामप्रसाद, अग्निप्रसाद खरेल र चन्द्रखर शाक्यलाई तोकिएको थियो ।
‘सिंहदरबार विद्रोहलाई भारतीय सेना ल्याई दबाउने हल्ला चलेपछि एकदेव आलेले धादिङ, केआई सिंहले नुवाकोट र रामप्रसाद राईले रसुवा कब्जा गरी काठमाडौँं घेर्ने योजना बनाएको देखिन्छ,’ जय सुनाउनुहुन्छ, ‘तर, केआई सिंह तोकिएको आफ्नो क्षेत्रमा नगई रसुवातिरै गए । यसबाट पहिले विद्रोही पक्षका सिंह त्यस बेला आएर राज्य पक्षबाट किनिई रामप्रसादलाई ठेगान लगाउने जिम्मा उनलाई दिएको स्पष्ट हुन्छ । सिंहदरबार कब्जाकै बेला पनि आफ्ना सेनालाई गोली नचलाउन आदेश दिएर सिंह शङ्कास्पद भूमिकामा देखिएका थिए । ’
खोजअनुसार रसुवा जाँदा बाटोमा रामप्रसाद र सिंहबीच झगडा भएको थियो । उनीहरूका साथमा घूसपैठवाला सेना पनि थिए । अरू सीआईडीले पिछा पनि गरिरहेकै थिए । उनीहरू झुंगाको ओढारमा पुगेर बास बसेका थिए । मुक्तिसेनाहरू अन्यत्र बास बस्न पुगे । उही रात त्यहाँ गोली चलेको आवाज सुनिएको थियो । त्यसपछि नै रामप्रसाद गायव भए । ‘सिंहले आफूहरूले नियन्त्रणमा लिएका दुई जना घूसपैठवाला सेना भाग्दा गोली चलाउनुपरेको बताएका रहेछन्क,’ जय निष्कर्ष सुनाउनुहुन्छ, ‘उनीहरू कसरी भाग्न सफल भए ? उनीहरूलाई भगाउने बहानामा त्यही रात रामप्रसादलाई मारिएको देखिन्छ । ’
राजा त्रिभुवनले दिल्ली सम्झौतापछि काठमाडाँैं फर्किंदा पाएको स्वागतजस्तै डा. सिंहलाई पनि चीनबाट फर्कंदा भव्य स्वागत गरेको देखिन्छ । सिंहलाई स्वदेश फर्काउँदाका किस्सा पनि अनेक रहेछन् । यसलाई रामप्रसादको ‘ठेगान’ लगाएकोमा डा. सिंहका लागि पुरस्कार भएको कृष्णकुमारीको तर्क छ ।
सिंहदरबार विद्रोहलाई सुनी जान्नेले मात्र होइन, देखी जान्नेहरूले नै पनि फरक–फरक व्याख्या गरेका छन् । कतिपयले सिंहदरबार विद्रोहलाई केआई सिंह काण्ड, कसैले रक्षा दलको विद्रोह त कतिपयले गोरखा दल या कम्युनिस्टहरूको विद्रोह पनि भनेका छन् । यद्यपि, रक्षा दलको असन्तुष्टिको शृङ्खला र रामप्रसादले उनीहरूको माग सम्बोधनका लागि आवाज उठाएको लगायत तथ्य हेर्दा सिंहदरबार विद्रोह रामप्रसादको नेतृत्वमा रक्षा दलमार्फत भएको भन्ने स्पष्ट आधार छ । विद्रोहपछि पनि रक्षा दललाई राक्षसको संज्ञा दिइनु, रक्षा दलबाट सरकारको पक्षमा लागेकाहरूलाई पनि बन्दी बनाइनु आदिले पनि उक्त घटनामा रक्षा दलको संलग्नता देखिन्छ । यद्यपि, सङ्क्रमणकालीन अवस्थामा सिंहदरबार विद्रोहसँग अनेक स्वार्थ गाँसिएकै होलान् । सिंहदरबार विद्रोह, मदन भण्डारीको हत्या, राजा वीरेन्द्रको वंशनाश गरी तीन घटना सबभन्दा रहस्यमय लागेका छन् ।
सिंहदरबार विद्रोहका सन्दर्भमा सिंहको जीवनीसम्बन्धी कृतिमा चाहिँ शान्तिवार्ता सफल नभएको खण्डमा एउटासम्म पनि गोली नचलाई सिंहदरबारबाट तिब्बत जाने निर्णय गरिएको उल्लेख छ । उनले भारतीय राजदूतका कारण राजा त्रिभुवनसँग राजनीतिक सम्झौता हुन नसकेको, सम्झौता नभएपछि सिंहदरबारलगायत काठमाडौं उपत्यकामा बसिरहेको खण्डमा सरकारी फौजसँग लडाइँ गरेको खण्डमा उपत्यका रगतले भरिने भएकाले भाग्नु नै राम्रो उपाय भएको बताएको पनि उल्लेख छ ।
रामप्रसादको हत्या गर्नुपर्ने कारण के थियो ? या त सिंहले भनेजस्तै निमोनिया भएरै उनको निधन भएको थियो ? सिंहका विषयमा धेरै नेताको आआफ्नो बुझाइलाई नियाल्दा यी दुई नेताबीच दरबार र राणाप्रतिको बुझाइमा मतभिन्नता बढेको स्पष्ट देखिन्छ ।
१९६५ साल फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका रामप्रसाद वि.सं. १९७८ मा ब्रिटिस–भारत गोरखा सेनामा भर्ती भए । नौ वर्षपछि नाम कटुवा भएर फर्किएका उनी राणाको फौज (मिलिसिया)मा रहेका दाइ सुबेदार जर्नसिंहको साथ लागी काठमाडौँं गए । घोडेजात्राको बेला ‘बेइमान घोडा’लाई नियन्त्रणमा लिएपछि प्रभावित भई भीम शमशेरले उनलाई सिधँै सुबेदार पदमा नियुक्ति दिएका थिए । मिलिसियामा हुँदा राणाशासनलाई नजिकबाट नियालेका उनी गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलगायतको सम्पर्कमा पुगेको देखिन्छ । उनको निकट सम्बन्ध प्रजापरिषद्सँग थियो । उनी क्रान्तिको पक्षमा लागे पनि राणाहरूले प्रमाण अभावमा कारबाही गर्न सकेका थिएनन् । प्रजापरिषद्सँगको सम्बन्धबाट टाढा गराउन उनलाई खोटाङमा खटाएको देखिन्छ । वि.सं. २००६ मा खोटाङको सहायक बडाहाकिम पदबाट राजीनामा दिएपछि भने उनी औपचारिकरूपमा क्रान्तिको पक्षमा लागेका थिए ।
सहायक बडाहाकिम पदबाट राजीनामा दिनुपरेपछि रामप्रसाद समाज सेवामा लागे । त्यही बेला उनको राजनीतिक सक्रियता पनि बढ्दै थियो । कांँग्रेसको बैरगनिया सम्मेलनमा सहभागी भई फर्किएपछि भोेजपुर क्षेत्रमा सङ्गठन विस्तारमा लागे । बैरगनिया सम्मेलनले नै जहानियाँ राणाशासनविरुद्ध सशस्त्र क्रान्तिमा जाने निर्णय गरेको थियो । प्रजातान्त्रिक लडाइँका लागि जिम्मावाल र भूतपूर्व गोरखा सैनिकलाई साथ लिएर जनमुक्ति सेना गठन गरी अघि बढेका उनीसहित नारदमुनि थुलुङलगायतको नेतृत्वले पहिलोपटक २४ मङ्सिर २००७ मा बिनारक्तपात भोजपुर कब्जा गरेको थियो । एवंरीतले रामप्रसादकै योजनाअनुरूप पूर्वका अधिकांश क्षेत्र (माझकिरात, वल्लो किराँत र पल्लो किरात–लिम्बूवान) राणाको हातबाट मुक्त हुँदै गए । उनले जनसरकार प्रमुख भई भोजपुरबाट पूर्वी क्षेत्रमा सैन्य प्रशासनसमेत चलाएका थिए । रामेछाप कब्जा गरिसकेपछि भने दिल्ली सम्झौता भएको थियो । चरिकोटसम्म विजयक प्राप्त गर्दै अघि बढेका उनी सम्झौताबाट असन्तुष्ट बनी भोजपुर फर्किए । प्रतिक्रान्तिकारीको षड्यन्त्रमा परी भोजपुरमै पक्राउ परेका उनलाई २६ दिन जेलमा राखिएको थियो । उनलाई जीबी याक्थुङ्बा र सीबी बान्तवाले रिहा गरी धनकुटा पु¥याए । त्यही बेला उनलाई निःशस्त्र बनाइएको थियो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना