नेपालमा पत्रकार आचारसंहिता

bhauch_1भउचप्रसाद यादव

अरू पेसाको जस्तै पत्रकारिताको पनि आचारसंहिता छन् । राज्यको चौथो अङ्गको रूपमा स्वीकारिएको यो पेसाकर्मीले आफ्नो आचारसंहिताभित्र बसेर काम गर्छ भने आमनागरिक सुसूचीत हुनुका साथै जनमानसमा यो पेसाप्रतिको सम्मान पनि बढ्छ । पत्रकारिता पेसा पूर्ण स्वतन्त्र हुनुपर्छ तर स्वतन्त्रताको अर्थ अनियन्त्रित र अराजक भने पक्कै होइन । स्वतन्त्रताको नाममा कसैको चरित्र हत्या, अमर्यादित भाषाको प्रयोग, आधारहिन समाचारको सम्प्रेषणले सिङ्गै पेसाको साख घटाउँछ ।
नेपालमा पत्रकार आचारसंहिताको दृष्टिकोणले पनि गोरखापत्र पहिलो नेपाली पत्रिका हो, जसमा विक्रम सम्बत् १९५८ वैशाख २४ गते प्रकाशित पहिलो अङ्कमा नै तत्कालीन प्रधानमन्त्री देव शमशेरले के छाप्ने र के नछाप्ने भनेर पत्रकार आचारसंहिताको रूपमा सनद जारी गरेका थिए । देव शमशेरद्वारा जारी सनदलाई नेपाली पत्रकारिताको पहिलो आचारसंहिताको रूपमा मान्न सकिन्छ ।
विक्रम सम्बत् २०१४ सालमा गठित प्रेस कमिसनले नेपाली पत्रकारितालाई सुधार गर्नका लागि तयार पारेका प्रतिवेदनको परिच्छेद १२ मा पत्रकारको आचारसंहिताको रूपमा १८ वटा बुँदा प्रस्तुत गरेको थियो । त्यसपछि, विक्रम सम्बत् २०२३ मा बनेको पत्रकार सङ्घले २२ बुँदे आचारसंहिता घोषणा गरेको थियो, पत्रकारको पेसागत सङ्गठनले तयार पारेको यो पहिलो घोषणापत्र थियो । त्यसैगरी, २०२४ सालमा २१ बुँदे आचारसंहिता, २०३३ सालमा प्रेस काउन्सिलले जारी गरेको २२ बुँदे आचारसंहिता, २०४१ सालमा ११ बुँदे आचारसंहिता र २०४२ सालमा १४ वटा पत्रिकाको सम्पादक मिली १० बुँदे पत्रकार आचारसंहिताको निर्माण गरेका थिए ।
२०४६ सालमा बहुदलीय व्यवस्थाको आगमनसँगै मुलुकको पत्रकारिता क्षेत्रले पनि काँचुली फेर्ने अवसर पायो । प्रेस काउन्सिल नेपालले २०४७ सालमा नयाँ आचारसंहिता ल्यायो । त्यसपछि, प्रेस काउन्सिल ऐन, २०४८ को आगमनसँगै पत्रकार आचारसंहिता, २०४९ लागू भयो । यसको लगत्तै २०५० सालमा वीरगञ्जमा भएको पत्रकारको भेलाले १४ बुँदे पत्रकार आचारसंहिताको घोषणा गरेको थियो । त्यसपछि, नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालले छुटाछुट्टै आचारसंहिता लागू गर्ने परम्परालाई तोड्दै पहिलो पटक संयुक्तरूपमा पत्रकार आचारसंहिता, २०५५ लागू गरेको थियो ।
यो आचारसंहिता यस अघिका आचारसंहिताभन्दा विशिष्ट किसिमको थियो । पछि छापा माध्यमका साथै रेडियो, टेलिभिजनमा समेत लागू हुने गरी २०६० वैशाख २० गते प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले संयुक्तरूपमा पत्रकारले के गर्न मिल्ने र के गर्न नमिल्ने भनी प्रस्ट रूपले छुट्याएर नयाँ किसिमको परिस्कृत आचारसंहिताको घोषणा गरे ।
नेपालको परिप्रेक्ष्यमा आजसम्मकै सबभन्दा स्पष्ट आचारसंहिताको रूपमा रहेको यो आचारसंहिता तत्कालीन राजनीतिक परिस्थितिको कारणले त्यति प्रभावकारीरूपमा लागू हुन नसके पनि यस क्षेत्रमा यसको आफ्नै महŒव र विशेषता सावित भइसकेको छ ।
नेपालको पत्रकारिता क्षेत्रमा धेरै आचारसंहिता बने तर कुनै पनि आचारसंहिता प्रभावकारीरूपले लागू भएको देखिँदैन । एउटा सञ्चारगृहका लागि विज्ञापन आम्दानीको प्रमुख स्रोत पक्कै हो तर हिजोआज विज्ञापनलाई समाचार बनाएर प्रकाशन प्रसारण गरिएको पाइन्छ । यहाँसम्म कि विज्ञापनदाताको जीवनीसमेत प्रकाशन प्रसारण गरिएको पाइन्छ । हाम्रो पत्रकारिताले अरूको नाङ्गो तस्विरसमेत छाप्न पछि परेन जसको परिणाम स्वरूप श्रीषा आत्महत्या जस्तो घटना भयो । आफूलाई ठूलो मिडिया हाउसको ध्वाँस दिनेलेसमेत मन्त्री र सचिवद्वारा आफ्नै घरमा दास बनाएर राखिएका बालबालिकामाथि निर्घात कुटपीट हुँदाको घटनालाई पुछारको समाचारसमेत बनाउन सकेनन् । यति हुँदाहुँदै पनि आचारसंहिताको अनुगमनको जिम्मेवारी पाएका प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घले यस क्षेत्रमा उल्लेखनीय काम गर्न नसकेको आरोप चाहिँ नलागेको होइन ।
आखिर यस्तो किन हुन्छ ? राणाकालीन सनद सवाल होस् चाहे पञ्चायती शाही कमिसन, चाहे अहिलेका संयन्त्र, सबैले पत्रकारको कलमलाई सत्ता र सिद्धान्तको दास बनाउन लागे जसको कारणले आज प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घमाथि विभिन्न आरोप पनि लागेका छन् । प्रेस काउन्सिलमा उजुरी गर्नेको सङ्ख्या पनि ह्वात्तै घटेको देखिन्छ । पीडित पक्ष काउन्सिलभन्दा अदालतको दैलोमा न्याय पाउन विश्वस्त देखिन्छ ।
प्रेस काउन्सिल पनि यति कमजोर हुनुमा नेपालमा सूचना सम्बन्धी प्रभावकारी कानुनको अभाव हुनु, भएको कानुनको पनि प्रभावकारी कार्यान्वयन हुन नसक्नु, सूचना लुकाउने प्रवृत्तिको विकास हुनु, अनुमानको आधारमा कानुनविहीन अवस्थामा अनुगमन गर्नु लगायतका कारण देखिन्छ । यति मात्र नभई विभिन्न राजनीतिक पार्टी र नेताको छत्रछायाँमा हुर्केका अधिकांश पत्रकारको कारणले तथा आचारसंहिताको चर्को नारा लगाउने तर व्यवहारमा लागू नगर्ने प्रवृत्ति प्रेस काउन्सिलको खुट्टामा जाँतो बनेको छ । नेपाली पत्रकारिताले आफ्नो यात्राको एक सय वर्ष पूरा गरिसकेको र दर्जनौँ आचारसंहिता बनिसकेको अवस्थामा पनि नेपालमा पत्रकारिता एउटा मर्यादित पेसाको रूपमा स्थापित हुन नसक्नु दुःखद पक्ष हो र यस पेसासँग सम्बन्धित सबैको ठूलो कमजोरी पनि हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना