• ६ चैत २०८०, मङ्गलबार

ठूला अपराध आफन्तबाटै : प्रहरी

blog

नारायणगढ समाचारदाता

भरतपुर, साउन २५ गते ।  नेपालमा अपराधको स्वरूप परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै भरतपुरमा आयोजित कार्यक्रमका वक्ताहरूले यसको नियन्त्रण गर्न नसकिए भयावह स्थिति आउने बताएका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान विभाग र बागमती प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा मङ्गलबार भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै वक्ताहरूले हत्या, बलात्कार, ठगीजस्ता जघन्य अपराधको स्वरूप परिवर्तन भएको बताए। 

नेपाल प्रहरी केन्द्रीय कार्यालय अनुसन्धान विभागका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीले अहिले भइरहेका ठूला अपराधमा ८५ देखि ९० प्रतिशत चिनेजानेका र आफन्तकै संलग्नता हुने गरेको बताउनुभयो। 

“पन्ध्र वर्षयताको अपराधलाई हेर्ने हो भने अपराधको स्वरूप परिवर्तन भएको छ। आपराधिक समूहभन्दा पनि आफ्नै परिवार चिने जानेकाहरूबाट अपराध भइरहेको पाइन्छ,” उहाँले भन्नुभयो। उहाँ अपराधको स्वरूप परिवर्तन हुनुमा सामाजिक सञ्जालको दुरुपयोगलाई नै प्रमुख कारण मान्नुहुन्छ। 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले समाजमा अपराधको स्वरूप फेरिएकाले सोअनुसार अनुसन्धानमा प्रहरीलाई समयानुकूल दक्ष बनाइनुपर्ने बताउनुभयो। चितवन जिल्ला अदालतका न्यायाधीश रिपेन्द्र थापाले अनुसन्धानमा प्रहरी निष्पक्ष नहुँदा समस्या भएको बताउनुभयो। 

“न्यायाधीश निष्पक्ष हुनुपर्ने, मुद्दा दायर गर्ने न्यायाधिवक्ता पनि स्वतन्त्र हुनुपर्ने अनि प्रहरीचाहिँ स्वतन्त्र हुनु नपर्ने ?,” उहाँको भनाइ थियो, “जबसम्म प्रहरीमा दबाब र प्रभाव रहिरहन्छ, तबसम्म अनुसन्धान निष्पक्ष हुन सक्दैन।” 

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता श्यामनारायण श्रेष्ठ र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख नायब प्रहरी महानिरीक्षक किरण बज्राचार्यले प्रविधि सदुपयोग गरेर अपराध अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो।