• ६ चैत २०८०, मङ्गलबार

दरबन्दी छ, हात्ती छैनन्

blog

लक्ष्मणदत्त पन्त 

महेन्द्रनगर, साउन २४ गते । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुसार हात्तीको पदपूर्ति नहुँदा नियमित गस्तीलगायत कामकाजमा समस्या भएको छ । भाले र पोथीसहित १० हात्तीको दरबन्दी भए पनि पाँच हात्ती मात्रै शुक्लाफाँटामा रहेका छन् । निकुञ्ज प्रशासनका अनुसार केही वर्षअघि हात्तीको दरबन्दी बढाएर सातबाट १० पु¥याइएको थियो । यद्यपि हात्ती थपिएको थिएन । 

शुक्लाफाँटा निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरका अनुसार हात्तीको अभावले नियमित काम गर्नसमेत समस्या भइरहेको छ । वर्षात्को समयमा गाडी जाने बाटो बिग्रने हुनाले हात्तीकै प्रयोग गर्नुपर्ने हुन्छ । निकुञ्जभित्र गस्ती गर्न तथा वन्यजन्तु गणनाका बेला हात्ती अभावले निकै समस्या भइरहेको सहायक संरक्षण अधिकृत ऐरले बताउनुभयो । निकुञ्जमा सुर्तीकली (वर्ष ६६), रूपकली (वर्ष ७९) गरी दुई पोथी हात्ती छन् । लवप्रसाद (वर्ष १८), सिद्धप्रसाद (वर्ष १७) र नारायणप्रसाद (वर्ष १३) गरेर तीन भाले हात्ती छन् । नारायणप्रसाद बाहेक अन्य हात्ती बर्दिया र चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याइएका हुन् ।

सहायक संरक्षण अधिकृत ऐरका अनुसार हात्तीको अभाव त छ नै भएका हात्ती पनि अशक्त छन् । नारायणप्रसादको उपचार गरिएको भए पनि ढाडको समस्या ठीक भएको छैन । रूपकली र सुर्तीकली बूढी भइसकेका छन् । 

उहाँले भन्नुभयो, “नारायणप्रसाद र सिद्धप्रसाद कलिला भएकाले मातिएका बेलामा पर्यटक घुमाउन खतरा हुन्छ ।” निकुञ्जमा हात्तीसँगै माउतेको पनि दरबन्दी अभाव छ । १० जना माउते, १० जना फणित र १० जना पछुवाको दरबन्दी भए पनि पाँच÷पाँच जना मात्र कर्मचारी कार्यरत रहेको बताइन्छ ।

वर्षात्को समयमा पैदल गस्ती गर्न नसकिने भएकाले हात्तीकै भरमा गस्ती गर्नुपर्ने हुन्छ । आवश्यकताअनुसार हात्ती तथा माउतेको अभावमा नियमित गस्ती गर्नसमेत समस्या हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । अहिले निकुञ्ज भएका मध्ये दुईवटा (रूपकली, लवप्रसाद) शुक्लाफाँटा पोस्ट, हात्तीसारमा दुुईवटा (सिद्धप्रसाद, नारायणप्रसाद) र एक (सुर्तीकली) मालुमेलामा रहेका छन् । हात्ती अभावमा गैँडा अनुगमन र गस्ती गर्न समस्या भएको निकुञ्ज प्रशासनले जनाएको छ । हात्ती गस्ती, पेट्रोलिङ, वन्यजन्तु अनुगमन, उद्धार, अनुसन्धानसँगै पर्यटन व्यवसायमा हात्तीको प्रयोग हुने गरेको बताइन्छ ।