• ६ चैत २०८०, मङ्गलबार

सीतापुरमा गोबरग्याँस जडान गरिने

blog

टीकापुर समाचारदाता

टीकापुर (कैलाली), साउन २४ गते । टीकापुर नगरपालिका –२ स्थित खोटेना भुराखानी सामुदायिक वनमा राखिएका सामुदायिक चौपायाको गोबरबाट दुई सय घनमिटरको गोबर ग्याँस प्लान्ट निर्माण गरिएको छ । नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गरी गोबर ग्याँस प्लान्ट स्थापना गरिएको हो । एक करोड ६० लाखको लागतमा प्लान्ट निर्माण गरिएको हो । प्लान्टमा ३५ प्रतिशत टीकापुर नगरपालिका र ६५ प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी भएको जनाइएको छ ।

गोबर ग्याँस प्लान्टबाट उत्पादन भएको ग्यास पाइपमार्फत नजिकैको सीतापुर बस्तीका ५५ घरमा पु-याएर मिटरसहित चुल्हा जडान भइसकेका छन् । स्थानीय लौटी चौधरीले गाईगोरु व्यवस्थापनले खेतीबाली पनि जोगिएको र घरघरमा ग्याँस बाल्न पनि पाइने भएको बताउनुभयो ।

गौशालामा करिब एक हजार गाईगोरु रहेका छन् । तीमध्ये तीन सय जति गाई टहरामा राखिएका छन् । टहरामा राखिएका गाई र बाच्छाबाच्छीको सफा गोबर हरेक बिहान प्लान्टमा हाल्ने गरिएको छ । प्लान्टमा हरेक दिन दस क्विन्टल गोबर हारेर मोटरको सहायताले घोलेर ट्याङ्कीमा पठाउने गरिएको छ । 

खाली ठाउँमा बस्ने चौपायाको गोबर मलका लागि थुपार्ने गरिएको गौशालाका सहयोगी डेगकुमार चौधरीले जानकारी दिनुभयो । गौशालामा आठ जना सहयोगी रहेका छन् । उनीहरूले बिहान गोबर व्यवस्थापन गर्ने र दिउँसो कर्णाली किनारका बन क्षेत्रमा गाईगोरु चराउने काम गर्दछन् । टीकापुर नगरपालिकाको भौतिक पूर्वाधार शाखाका इन्जिनियर नवराज जोशी केही दिनमै भारतबाट प्राविधिक ल्याएर प्लान्ट सञ्चालन गरी घरघरमा ग्यास पु-याइने बताउनुभयो । उहाँका अनुसार प्लान्टलाई व्यवस्थित गरेर सहुलियत दरमा ११० घरमा ग्यास पु-याउने लक्ष्य छ । 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयबाट नवप्रवर्तनात्मक कार्यक्रमबाट पानी ट्याङ्की, दाना खुवाउने डुँड, मल राख्ने दुईवटा स्टोर बनाउने योजना रहेको बताइन्छ । 

पशु विकास शाखाका प्रमुख श्यामराज पाण्डेयले गोबरग्यास प्लान्टबाट उत्पादित ग्यास नजिकैका स्थानीयलाई वितरण गर्ने र प्राङ्गारिक मललाई बिक्री गर्ने, गाईको नश्ल सुधार गरी दूध र बहर बिक्री वितरण गर्ने योजना रहेको बताउनुभयो ।

२०७६÷७७ सालमा निर्माण सुरु भएको गोबरग्यास प्लान्ट निर्माण आयोजनाको मुख्य काम एक वर्षअघि नै सम्पन्न भई घरघरमा पाइप, मिटर, चुल्हा जडान भइसकेको छ । यद्यपि २०७८ कात्तिक २ मा आएको बाढीले रानी कुलाहुँदै बनाइएको ग्यासको पाइपलाइन बगाइदिएको र अन्य सासाना काम बाँकी हुँदा ग्याँस वितरण कार्यमा ढिलाइ भइरहेको प्राविधिकको भनाइ छ ।