नेपालमा हवाई दुर्घटना ः कमजोरी कहाँ ?

विश्वास रेग्मी

काठमाडौँ, फागुन १६ गते । पछिल्लो हप्ता नेपालको उड्डयन इतिहासका लागि सबैभन्दा खराब समय रह्यो । पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयर र नेपालगञ्जबाट जुम्ला उडानका क्रममा काष्ठमण्डप एयरको ट्वीनअटर दुर्घटनामा परी २५ जनाको मृत्यु भयो ।
दुई दिनको फरकमा भएका यी दुई जहाज दुर्घटनापछि नेपालको हवाई सुरक्षा र यसमा रहेका कमजोरीको चर्चा पनि सुरु भएको छ । त्यसो त ६५ वर्षे हवाई इतिहासमा नेपालमा अहिलेसम्म ६४ वटा हवाई दुर्घटना भएको तथ्याङ्क छ । आखिर नेपालमा बारम्बार भइरहने यस्ता हवाई दुर्घटनाको पछाडि के कमजोरी छन् त ?
हवाई क्षेत्रसँग प्रत्यक्ष जोडिने एयरक्राफ्ट(मेसिन), पाइलट(जनशक्ति) र प्रोसेड्युर अर्थात् समग्र प्रणाली र प्रक्रियाबीच आपसी तालमेल हुन नसक्दा नेपालले बारम्बार हवाई क्षेत्रमा यस्ता घटना व्यहोर्नु परेको नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको भनाइ छ ।   plane crase
‘यी तीनमध्य पनि सबैभन्दा ठूलो कमजोरी भनेको ‘प्रोसेड्युर’कै हो’ उहाँ भन्नुहुन्छ ‘जसले गर्दा तारा एयर दुर्घटनामा प¥यो । ’ यसबाहेक हवाई दुर्घटनापछि त्यसबारे हुने छानबिन र तयार हुने प्रतिवेदनको कार्यान्वयनमा नेपालमा अझै सम्झौता हुनुले पनि जहाज दुर्घटनाले निरन्तरता पाइरहेको उहाँको बुझाइ छ ।
‘प्रतिवेदनमा जे सुझाव दिइन्छ, ठ्याक्कै त्यही पालना गर्ने विषयमा सम्झौता भएका उदाहरण छन्’ उहाँले भन्नुभयो ‘जबसम्म त्यस्ता सुझावको प्रभावकारी कार्यान्वयन हुँदैन तबसम्म हवाई सुरक्षाको सुधार गर्न पनि कठिन छ । ’
नेपालको हवाई दुर्घटना पछाडि पर्याप्त प्रक्रियाको पालना नहुनुलाई मुख्य कमजोरी मान्नुहुन्छ, उड्डयन विशेषज्ञ ई.भेषराज सुवेदी । तारा र काष्ठमण्डपको जहाज दुर्घटना पछाडि फरक फरक कारण रहेकाले यसको वास्तविकता पत्ता लगाएर त्यसबाट पाठ सिक्नुपर्ने उहाँको भनाइ छ । अनुसन्धानपछि प्राप्त हुने प्रतिवेदनको पूर्ण कार्यान्वयन र उडानसँग अन्तर्सम्बन्धित सबै प्रणालीबीच तादाम्य मिलाउन सकेमा मात्र दुर्घटना कम हुन सक्ने उहाँको सुझाव छ ।
नेपालमा सञ्चालनमा रहेका हवाई कम्पनीले सीमित सङ्ख्यामा मात्र पाइलट राख्ने भएकाले पनि एउटै पाइलटलाई त्यसको बोझ बढी परिरहेको क्याप्टेन परोल अधिकारीको भनाइ छ ।
‘कम्पनीहरूले विकल्पमा अर्को चालक दल नराख्ने र एउटै समुहले उडान गरिरहँदा पर्याप्त आराम नपाउने जस्ता समस्या नेपालमा छ’ उहाँले भन्नुभयो । यसरी एउटै चालक दलले उडान गर्नुपर्दा एउटा उडान पुरा नहुँदै अर्को उडानको चिन्ता रहने भएकाले पनि पाइलट मानसिक रूपमा तनावमा रहने उहाँको अनुभव छ । चालक दलको विकल्प र समयमै पर्याप्त तालिम उपलब्ध गराउने हो भने पनि पाइलटको कमजोरीबाट हुन सक्ने दुर्घटना कम हुने उहाँको भनाइ छ । यसबाहेक हवाई कम्पनीबीच पाइलटलाई पर्याप्त तालिम विना नयाँ रूटमा उडान गराउने प्रतिस्पर्धाका कारण पनि समस्या देखिंदै गएको उहाँको बुझाइ छ ।
तलबको अपर्याप्तता र समयमै भुक्तानीको व्यवस्था नहुँदा पनि पाइलटलाई मानसिक रूपमा तनाव हुने र त्यसले उडानमा समेत असर पार्न सक्ने उहाँले बताउनुभयो । छानबिन समितिबाट प्राप्त सुझावलाई अझै पनि कार्यान्वयन गराउन नसक्दा नेपालमा सामान्य गल्तीबाट पनि हवाई दुर्घटना दोहोरिँदै गएको उहाँले जानकारी दिनुभयो ।
भौगोलिक रूपमा नेपालमा उडान कार्य कठिन भए पनि आवश्यक संरचनाको पर्याप्त व्यवस्था भएमा दुर्घटना कम हुँदै जाने उड्डयनसँग सम्बन्धित विज्ञको भनाइ छ । मौसम र भूगोलभन्दा पनि मानवीय त्रुटिलाई सक्दो कम गराउँदै जाने हो भने भविष्यमा नेपालले ठूला दुर्घटनाबाट सुरक्षित रहन सक्ने उहाँहरूको सुझाव छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना