राजतन्त्रदेखि गणतन्त्रसम्मका काँग्रेस महाधिवेशनका नालीबेली

काठमाडौँ, फागुन १५ गते । राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा रहेको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेस प्रसव वेदनाका साथ १३ औँ महाधिवेशनमा होमिएको छ ।

पार्टी महाधिवेशनको तयारी भइरहँदा सभापति सुशील कोइरालालाई असामयिक रुपमा गुमाउनुपर्दा उसका लागि यो महाधिवेशन शोकलाई शक्तिमा रुपान्तरित गर्ने महाधिवेशन बन्न पुगेको छ । पार्टीको आन्तरिक जीवनलाई पुनर्ताजगी गर्ने ठानिएको यो महाधिवेशनले अनुमोदन गर्ने नीति र नेतृत्व कस्तो होला भन्ने विषयले आम समुदायको ध्यान खिचिरहेको छ ।

भारतको कलकत्ता भवानीपुरमा विसं २००३ माघ १२ र १३ गते नेपाली राष्ट्रिय काँग्रेसको रुपमा पहिलो महाधिवेशन सम्पन्न गरेको काँगेस हरेक राजनीतिक आन्दोलनको अगुवा, नेतृत्वकर्ता तथा साक्षी बन्दै आएको छ । विसं २००६ चैत २७ गते सम्पन्न महाधिवेशनले नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसलाई एकीकरण गरी नेपाली काँग्रेसको जन्म गराएको थियो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद उसका आदर्श र सिद्धान्त हुन् । नीति र नेतृत्वभन्दा जनता सार्वभौम हुनुपर्छ अनि मात्र सही मानेमा प्रजातन्त्र हुन्छ भन्ने नेकाले पाँच दशकभन्दा बढी समय संवैधानिक राजतन्त्रको पक्षमा आफूलाई उभ्यायो ।

संवैधानिक राजतन्त्रबाट प्रजातन्त्रका नाममा अनेकन उतार चढाव देखेको र भोगेको नेकाले अन्ततः आफूलाई गणतन्त्रको पक्षमा आफूलाई उभ्यायो । खासगरी विसं २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि नेका र राजतन्त्रको सम्बन्ध टुट्यो । विसं २०६४ मा भएको महासमिति बैठकले संवैधानिक राजतन्त्रलाई आफ्नो विधानबाट हटाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्न पुग्यो ।

प्रजातान्त्रिक आन्दोलनको प्रमुख शक्तिका रुपमा आफूलाई उभ्याउँदै आएको नेकाले आधुनिक नयाँ नेपालको निर्माण गणतन्त्रबाट मात्र हुन्छ भन्नु नयाँ राजनीतिक परिघटना थियो । परिपक्व, खारिएका र जनतामा भिजेको नेकाका नेतृत्व हुँदा त्यो परिघटनाको सार्थक रुप नै जनताको संविधान रुपमा नयाँ संविधान आउनुलाई मान्न सकिन्छ ।

राणा शासन, पञ्चायती शासन र सक्रिय राजतन्त्र (विसं २०५९ पछि) विरुद्धका आन्दोलनको नेतृत्व नेकाले गरिसकेको छ । विसं २०६२÷६३ पछि बहुदलीय प्रतिस्पर्धाको शान्तिपूर्ण राजनीतिमा तत्कालीन माओवादीलाई ल्याउन नेकाले खेलेको भूमिका अर्को ऐतिहासिक काम हो ।

स्थापनाकालदेखि नै आफ्नो सिद्धान्त, आदर्श र लक्ष्य प्राप्तिको सङ्घर्षमा नेका कहिल्ये विचलित भएन र यसबाटै उसको साख जोगिएको हो ।

विसं २००३ देखि नेपाली राष्ट्रिय काँग्रेसको रुपमा यात्रा प्रारम्भ गरेर सङ्घर्षका अनेकन चरण पार गरिसकेको छ नेकाले । विसं २००३ को विराटनगरको मजदुर आन्दोलन, २००७ को क्रान्ति, २०११ को सत्याग्रह, २०१४ को भद्र अवज्ञा आन्दोलन, २०३३ को जनमत सङ्ग्रह, २०४२ को सत्याग्रह, २०४६ को ऐतिहासिक जनआन्दोलन र २०६२–६३ को लोकतान्त्रिक आन्दोलनसम्म नेका सधैँ जनताको उन्मुक्ति र स्वतन्त्रताको सङ्घर्षमा नेतृत्वदायी भूमिकामा रह्यो । सार्वभौमसत्ता सम्पन्न जनताको पक्षमा सधँै आफूलाई उभ्याई रह्यो ।

तत्कालीन अवस्थामा जहानियाँ राणाशासनलाई समाप्त गरी नेपाललाई स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक राष्ट्रका रुपमा विकसित गर्ने लक्ष्यका साथ २००३ साल कात्तिक १५ गते बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस गठन भएको थियो । यसमा विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, ईश्वर बराल, नरेन्द्र रेग्मी, सुब्बा देवीप्रसाद सापकोटालगायतले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यसभित्र गरिएको सङ्गठित प्रयासको निरन्तरता र चेतनाकोे विस्तारले २००३ साल माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय काँग्रेसको जन्म दियो । त्यसै सम्मेलनलाई नेपाली काँग्रेसको प्रथम राष्ट्रिय महाधिवेशन मानिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना