• ६ चैत २०८०, मङ्गलबार

एक करोड ९९ लाख राजस्व संकलन

blog

जयकृष्ण यादव

इनरुवा, साउन २३ गते । जिल्ला भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले एक आर्थिक वर्षमा एक करोड ९९ लाख रुपियाँ राजस्व संकलन गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्ती टोलिले जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको पाँच करोड ४४ लाख ५४ हजार ५१२ रुपियाँ बराबरको सामान भन्सार दाखिला गरेकोमा एक करोड ९९ लाख राजस्व असुली भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ सालबाट जिम्मेवार सरी आएका मुद्दा संख्या २७ वटासहित आर्थिक वर्ष २०७८/०७९ मा दाखिला भएका ४२४ गरी कुल ४५१ मध्ये असार मसान्तसम्ममा ३७२ वटा मुद्दाको निर्णय भएको सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजका मुद्दा शाखाका केदार सापकोटाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ सालबाट जिम्मेवारी सरी आएका २७ वटा मुद्दाको प्रतिवेदन मूल्य ८६ लाख १३ हजार ९५ रुपैयाँसहित गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४२४ मुद्दाको प्रतिवेदन मूल्य पाँच करोड ४४ लाख ५४ हजार ५१२ रुपियाँमध्ये ३७२ मुद्दाको निर्णय भएकोमा एक करोड ९९ लाख ५७ हजार ७१२ रुपियाँ राजस्व असुल भएको हो ।

जसअनुसार सशस्त्र प्रहरीले दाखिला गरेको २२४ वटा मुद्दामध्ये २०० मुद्दाको निर्णयहुँदा बुझाएको प्रतिवेदन मूल्य एक करोड ८६ लाख ७६ हजार ५६३ रुपियाँमध्ये एक करोड १७ लाख ९३ हजार ५७२ रुपियाँ राजस्व असुल भएको छ भने नेपाल प्रहरीले भन्सार दाखिला गरेको १०१ मुद्दामध्ये ८४ वटा मुद्दाको निर्णयहुँदा बुझाएको प्रतिवेदन मूल्य दुई करोड ४९ लाख ७९ हजार ८८३ रुपियाँमध्ये ६४ लाख चारहजार ५३८ रुपियाँ राजस्व असुल भएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै भन्सार कर्मचारीको गस्ती टोलिले ९९ वटा मुद्दामा प्रतिवेदन मूल्य एक करोड ७९ लाख आठ हजार ७२ रुपियाँ बराबरको सामान दाखिला गरेकोमा ८७ वटा मुद्दाको निर्णय हुँदा १७ लाख ५९ हजार ६०२ रुपियाँ राजस्व असुल भएको छ ।

जिल्लाका विभिन्न स्थानबाट सुरक्षाकर्मी र भन्सार कर्मचारीको गस्ती टोलीले बरामद गरेकामध्ये खाद्यान्न सामाग्री, तरकारी, पशु चौपाया लगायत म्याद नाघ्ने वा सड्ने सामान आफूहरूले तत्कालै लिलाम गरेपनि खासगरी सवारीसाधन प्राविधिक मूल्यांकनअनुसार लिलाम गर्नुपर्ने भएकोले प्रतिवेदन मूल्यअनुसार राजस्व असुल नभएको देखिएको सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजका निमित्त प्रमुख भन्सार अधिकृत पर्शुराम दाहालको भनाइ छ ।

पाँच करोड ४४ लाख बराबरको सामान भन्सार दाखिला

सुनसरीबाट आर्थिक वर्ष २०७८/०७९ सालको असार मसान्तसम्म पाँच करोड ४४ लाख ५४ हजार ५१२ रुपियाँ बराबरको सामान भन्सार दाखिला भएको छ । भारतीय बजारबाट चोरी पैठारीसहित अवैधानिक तवरबाट ल्याइएका  विभिन्न पाँच करोड ४४ लाख ५४ हजार ५१२ रुपियाँ बराबरको सामान भन्सार दाखिला भएको सुनसरी भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजको तथ्यांकअनुसार आर्थिक वर्षको असार मसान्तसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्ती टोलिले उक्त मूल्य बराबरको सामान बरामद गरेका हुन ।