• ६ चैत २०८०, मङ्गलबार

कांग्रेस पदाधिकारी बैठक

सिट बाँडफाँट समयमै टुङ्गो लगाउनुपर्छ : कांग्रेस पदाधिकारी

blog

फाइल तस्बिर

काठमाडौं, साउन २३ गते । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारीकाे सोमबार बसेको बैठकमा आगामी निर्वाचन सम्बन्धमा छलफल भएको छ । बैठकमा पदाधिकारीले सिट बाँडफाँटको विषय समयमै टुङ्गो लगाउनुपर्ने सुझाव दिनुभएको छ ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकमा पूर्व पदाधिकारी एवम् पदाधिकारीहरुले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाममुखी बनाउनुपर्ने सुझाव राख्नुभएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

डा. महतले भन्नुभयो, “सिट बाँडफाँट कार्यदललाई कसरी जाने सम्बन्धमा पदाधिकारी, पूर्व पदाधिकारी बसेर सुझाव दिने काम भयो । यसलगायत पार्टीको आन्तरिक विषयमा पनि छलफल भयो”, सिट बाँडफाँटको विषय पनि समयमै टुङ्गो लगाउनुपर्ने सुझाव पदाधिकारीले कार्यदललाई दिएको उहाँको भनाइ छ ।

बैठकमा सत्ता गठबन्धनमा रहेका दलहरु कसको के कति आधार छ भन्ने हिसाब गर्दै भावी दिनमा पनि परिणाम आउनुपर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

प्रवक्ता महतले भन्नुभयो, “स्वाभाविकरुपमा विशेषता र भावनालाई मध्यनजर गरेर सफलरुपमा तालमेल पनि गर्नुपर्छ र यो परिणाममुखी हुनुपर्छ । यी नै विषयमा केन्द्रित भएर छलफल भयो ।”

यद्यपि, बैठकमा आगामी निर्वाचनमा कांग्रेसलाई यति नै सिट चाहिन्छ भनेर उल्लेख गर्ने जस्ता सुझाव भने नआएको उहाँले बताउनुभएको छ ।