• ६ चैत २०८०, मङ्गलबार

उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ : रामकुमारी झाँक्री

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २३ गते ।
नेकपा (एकीकृत समाजवादी) का सचिव रामकुमारी झाँक्रीले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताउनुभयो ।

सचिव झाँक्रीले आफू मन्त्री हुँदा मन्त्रालयबाट स्वीकृत योजनाहरु सबै सार्वजनिक खरिद प्रक्रियाबाट गर्ने प्रयास गरेको बताउनुभयो । आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘साना आयोजना समयमा नै नसकिनुको कारण उपाभोक्ता समितिबाट गरिने काम गुणस्तरहीन र असारको मसान्तमा आएर काम सक्नु हो । मैले पटक पटक भनेको छु । उपभोक्ता समितिको काम गुणस्तरहीन भएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट काम नगरौं भनेर त्यो काम रोक्यौं । त्यसपछि सार्वजनिक खरिद प्रक्रियामा जानुपर्‍यो । त्यस्ता स्वीकृत सबै काम खरिद प्रक्रियामा लैजनाको लागि मङ्सिरको ३ गतेदेखि ७ गतेसम्म मन्त्रालय स्तरको बैठक बस्यौं ।’’

उहाँले भन्नुभयो, ‘‘आयोजना तयारीको लागि आयोजनाको सम्भाव्यता, आयोजनाले पार्ने प्रभावसमेत विश्लेषण गर्नुपर्छ । अन्य विकासे मन्त्रालयको भन्दा राम्रो प्रगति गरेँ । त्यसको पछि शहरी मन्त्रालयले योजनामा काम गरेको थियो । धेरै विकास निर्माणको काम गर्न रहेका धेरै बाधालाई किनारा गरेका थियौं । अनियमितता रोक्ने प्रयास गरेँ, यस्ता झण्डै दुई दर्जन समिति बनाएको रहेछु । दुई दर्जन प्रतिवेदन नै छन् । प्रतिवेदनमा प्रमुख प्राथमिकताका विषयहरुकै प्रतिवेदन आएका छन् । त्यसरी नै विकास नीतिहरुलाई परिर्वतन गर्न धेरै काम गरेका थियौं ।’’

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको हो । उहाँले आफ्नो कार्यकालमा शहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्वयनको विषयमा योजना बनाएर काम गरेको बताउनु भयो ।

झाँक्रीले शहरी विकासमन्त्री हुँदा विकास निर्माणसम्बन्धी महत्त्वपूर्ण नीतिहरु परिर्माजन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको बताउनु भयो । उहाँले अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने बताउनुभयो । झाँक्रीले नीतिगत तहमा अनियमितता रोक्नका लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि उल्लेख गर्नुभयो ।