• ६ चैत २०८०, मङ्गलबार

मङ्कीपक्स सङ्क्रमण

सङ्क्रमितमध्ये ९७.५ प्रतिशत यौनिक तथा अल्पसङ्ख्यक

blog

काठमाडौं, साउन २५ गते । हालसम्म विश्वका ८० भन्दा बढी देशमा मङ्कीपक्सका २४ हजारभन्दा बढी बिरामी भेटिएका छन् । विश्व स्वाथ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्कअनुसार ९७.५ प्रतिशत सङ्क्रमण यौनिक तथा अल्पसङ्ख्यक समुदायबाट सरेको पाइएको छ । सङ्क्रमितमध्ये ३७.६ प्रतिशतमा एचआइभी पोजिटिभ देखिएको छ ।

त्यसैगरी, स्वास्थ्यकर्मीमा १३.५ प्रतिशत सङ्क्रमण देखिएकाे छ। नीलहिरा समाजले गरेको अध्ययनअनुसार नेपालमा सो समुदायका मानिसहरु करिब नौ लाख छन् ।

नेपालमा पनि उक्त जनसङ्ख्यामा उच्च जोखिम रहेको तथ्याङ्कले देखाएको छ । यो रोग अफ्रिका, युरोप, मध्यपूर्वी एसिया देशहरुमा तीव्र गतिमा फैलिसकेको छ । दक्षिणपूर्वी एसियामा भारत र थाइल्याण्डमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भैसकेकाले नेपालमा पनि यो रोग भित्रने उच्च जोखिम भएको विज्ञको तर्क छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले भारतसँग नेपालको खुल्ला नाका र विश्वबाट विभिन्न नाका हुँदै पर्यटक भित्रने हुँदा नेपालमा उच्च जोखिम रहेको बताउनुभयो । डब्लुएचओले विश्वमा मङ्कीपक्सलाई जनस्वास्थ्य आपतकालीन घोषणा गरिसकेको छ ।

डब्लुएचओले मङ्कीपक्स विश्वको अन्य देशमा तीव्रताका साथ फैलिएकाले नेपालमा पनि सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । भारतमा मङ्कीपक्सको सङ्क्रमणबाट एक जनाको मृत्यु भैसकेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजीको तथ्याङ्कअनुसार नेपालमा अहिलेसम्म मङ्कीपक्स रोगको सङ्क्रमण पुष्टि भएको छैन । डा. खगेश्वर गेलालले नेपालमा शङ्कास्पद चार जनाको मंकीपक्स परीक्षण गराए पनि रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो । नेपालमा अहिलेसम्म नभित्रिएको भए पनि नेपालमा पनि उच्च जोखिम रहेको उहाँले बताउनुभयो ।

के छ नेपालको तयारी ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीले नेपालमा अहिले विश्वमा द्रुत गतिमा फैलिरहेको मङ्कीपक्स नेपालमा भित्रन नदिन सरकार सचेत रहेको बताउनुभयो । यसकाे जोखिम बारे समुदायमा जानकारी गराउनु आवश्यक रहेकाले सरकारले सो रोगको बारेमा परामर्श दिन १४ जना छालाराेग विशेषज्ञ तोकेको डा. गेगालले जानकारी दिनुभयो ।

डा. गेलालले भन्नुभयो, “सरकारले मङ्कीपक्स सम्बन्धी सहजै जानकारी दिन सातै प्रदेशका विभिन्न १४ अस्पताललाई यसको उपचार गर्ने डेडिकेटेड अस्पताल तोक्दै १४ जना छालाराेग विशेषज्ञलाई खटाइएकाे छ ।” टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई डब्लुएचओले २५० वटा टेष्टकिट उपलव्ध गराइसकेको उहाँले जानकारी दिनुभयो ।

के हो मङ्कीपक्स ?

जनस्वास्थ्य विज्ञ डा. शीतल अधिकारीले मान्छेबाट मान्छे र जनावरबाट मान्छेमा यो रोग सर्ने गरेको बताउनुभयो । उहाँका अनुसार घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, ¥यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामाग्रीको प्रत्यक्ष सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो रोग सर्दछ । काटिएको, बिमिरा वा फुटेको छाला, आँखा, नाक वा मुख, श्वासनली जस्ता अङ्गबाट पनि यो सर्न सक्दछ । एक व्यक्तिले अर्को व्यक्तिमा २१ देखि २४ दिनभित्रमा सार्ने सक्ने भएकाले एक महिनासम्म आइसोलेसनमा बस्नुपर्ने चिकित्सको आग्रह छ ।

बच्ने उपाय

मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्कमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने, नियमित रूपमा साबुनपानीले हात हुने वा सेनिटाइजर प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिको लुगा, तौलिया, ओछ्यान र भाँडाहरू तातो पानी, साबुन वा डिटर्जेन्टले धुनुपर्छ ।

यस्तै, मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले पिसिआर परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने र फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्दछ । यो रोगबाट बच्न विफरविरुद्धको खोप प्रभावकारी हुने अध्ययनहरूले देखाएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।