• ६ चैत २०८०, मङ्गलबार

अयोध्यासँगको सम्बन्ध उचाइमा

blog

भारतको अयोध्या र नेपालको जनकपुरधामबीचको सम्बन्ध हिजोआजको होइन, त्रेतायुगदेखिको हो। कुनै पनि व्यक्ति, समाज र मुलुकबीचको सम्बन्ध जति पुरानो भयो त्यति बलियो र विश्वासिलो हुन्छ। त्यसैले नेपाल–भारतबीचको सम्बन्धको गाँठो कति बलियो छ भन्ने त्रेतायुगको घटनाबाट प्रष्ट हुन्छ।   

रामायणमा उल्लेख भएअनुसार, दधिची ऋषिको हड्डीबाट बनाइएको ‘पिनाक’ नामक धनुष भगवान् शिवले परशुरामलाई दिएका थिए। परशुरामले सो धनुष मिथिलाका राजा जनकलाई उपहारस्वरुप दिएको प्रसङ्ग रामायणमा छ। राजा जनक सो धनुषको दैनिक पूजाआजा गर्थे। त्यसक्रममा एकदिन उनले छोरी सीतालाई पूजा गर्न अह्राएका थिए। त्यस दिन सीताले बायाँ हातले धनुष उचालेर धनुष राख्ने ठाउँ चोख्याउँदै गरेको देखेपछि राजा जनक आश्चर्यमा परे। त्यसपछि उनले एउटा अठोट गरे कि धनुष उचालेर बाण चढाउन सक्नेसँग मात्र मेरी छोरी सीताको बिहे गरिदिन्छु।  

छोरीको विवाहको उमेर भएपछि पिता जनकले सबै राजारजौटा तथा राजकुमारलाई निम्ता गरी शिवधनुष उठाउन सक्ने व्यक्तिलाई सीताको स्वयंवर गरिदिने उद्घोष गरे। स्वयंवरमा सहभागी हुन आएका कसैले पनि धनु उचाल्न सकेनन्। यसो हुँदा छोरीको विवाह नै नहुने पो हो कि भनेर राजा जनक चिन्तित भए। भाइ लक्ष्मण र गुरु विश्वामित्रका साथ अयोध्याका राजकुमार श्रीराम पनि जनकपुर आएका थिए। गुरु विश्वामित्रको आज्ञाअनुसार रामले धनुषलाई प्रणाम गरी उचाल्दा धनु तीन टुक्रा भएर भाँचियो। त्यसपछि राजा जनक कम्ति गद्गद् भएका थिएनन्। यसरी धनुष तोडेपछि सीताको स्वयंवर तथा विवाह रामसँग भएको प्रसङ्ग रामायणमा उल्लेख छ।  

हिन्दु मान्यताअनुसार श्रीरामको जन्म अयोध्यामा भएको हो। उनको जन्मस्थान अयोध्यामा एक भव्य मन्दिर थियो जसलाई मुगल आक्रमणकारीले भत्काएर त्यहाँ एउटा मस्जिद बनाएका थिए। राष्ट्रिय स्वयंसेवक सङ्घ र भारतीय जनता पार्टीको अगुवाइमा सो स्थानलाई मुगलबाट मुक्त गर्न र त्यहाँ एउटा नयाँ मन्दिर बनाउनका लागि लामै समय आन्दोलन चलेको थियो। त्यही आन्दोलनको परिणाम अदालतले राममन्दिर भएको ठाउँमा बाबरी मस्जिद निर्माण गरिएको भन्दै अयोध्यामा हिन्दुहरूलाई मन्दिर बनाउन मिल्ने फैसला सुनाएको थियो। सर्वोच्चको फैसलापछि यतिबेला अयोध्यामा राममन्दिर निर्माणले गति लिएको छ। २८ अगस्ट २०२० देखि निर्माण सुरु गरिएको १६१ फिट अग्लो मन्दिर सन् २०२४ भित्र निर्माण गरिने श्रीराम जन्मभूमि तीर्थक्षेत्रका महामन्त्री चम्पत रायले जानकारी दिए। 

निर्माणाधीन राममन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीका तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्नका लागि पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राखेको प्रस्तावमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रले सहमति जनाएको छ। अयोध्यामा २४ साउनमा भएको बृहत् छलफलमा निधिको यस्तो प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थक्षेत्रका महामन्त्री चम्पत रायले राम मन्दिर ट्रस्ट र निर्माण समितिमा छलफल गरी सहमति गराउने वचन दिएका छन्। रायले भनेका थिए ‘मलाई विश्वास छ त्यो प्रस्तावमा सबैले सहमति जनाउनुहुनेछ।’ छलफलमा कांग्रेस नेता निधि, श्रीराम जन्भभूमि तीर्थक्षेत्रका महामन्त्री राय, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, राममन्दिर ट्रस्टका सदस्य डा. अनिल मिश्रलगायत सहभागी थिए। छलफलपछि निधिले महामन्त्री रायलाई नेपालमा निर्माण गरिएको धनुषको नक्सा हस्तान्तरण गरेका थिए। राममन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालिगण्डकी क्षेत्रको शिलाबाट बनाउने विषयमा पनि विस्तृत छलफल भएको थियो।  राम जन्मभूमि अयोध्यामा राममन्दिर निर्माण भारतीय जनता पार्टीको एक प्रमुख निर्वाचन मुद्दा बन्दै आएको छ। 

अयोध्या विवाद

हिन्दुहरूले भगवान् रामको जन्मस्थान भनी विश्वास गरेको अयोध्यामा मुगल सम्राट्ले सन् १५२८ मा मस्जिद निर्माण गरेका थिए। सन् १८५९ मा ब्रिटिस शासकले तारबार निर्माण गरी भित्र मुस्लिमलाई प्रार्थना तथा बाहिर हिन्दुलाई पूजा गर्न स्वीकृति दिने व्यवस्था गरेका थिए। सन् १९४९ मा मस्जिदभित्र भगवान् रामका मूर्ति देखिएपछि ती मूर्ति हिन्दुहरूले राखिदिएको आशङ्का गर्दै मुस्लिमहरूले विरोध गरेका थिए। हिन्दु र मुस्लिम दुवै पक्षले अदालतमा मुद्दा दर्ता गरेपछि सरकारले उक्त स्थान विवादित भन्दै ढोका बन्द गरिदिएको थियो। 

सन् १९८४ मा विश्व हिन्दु परिषद्को अगुवाइमा हिन्दुहरूले भगवान् रामको जन्मस्थानलाई ‘मुक्त’ गर्न भन्दै समिति गठन गरिएको थियो। त्यस अभियानको अगुवाइ भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीले गरेका थिए। सन् १९८६ मा जिल्ला न्यायाधीशले मस्जिदको ढोका खोलेर हिन्दुहरूलाई पूजा गर्न दिएको अनुमतिको विरोध गर्दै मुस्लिमहरूद्वारा बाबरी मस्जिद एक्सन कमिटी गठन गरिएको थियो।

सन् १९८९ मा विश्व हिन्दु परिषद्को अग्रसरतामा विवादित मस्जिदसँगैको भूमिमा राम मन्दिरको जग हाल्ने काम भएको थियो। सन् १९९२ मा विश्व हिन्दु परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकले मस्जिदका क्षति पु-याएका थिए। त्यसपछि फैलिएको हिन्दु–मुस्लिम दङ्गामा दुई हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए। 

मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त मुद्दा इलाहाबाद उच्च अदालतमा दर्ता गरिएको थियो। त्यसको आठ वर्षपछि सेप्टेम्बर २०१० मा उच्च अदालतले विवादित जमिन तीन भागमा बाँडेर मुस्लिम समुदाय, हिन्दु समुदाय र हिन्दु सन्यासीहरूको एउटा सम्प्रदाय निर्मोही अखडालाई दिनुपर्ने आदेश दिएको थियो। जुन फैसलामा चित्त नबुझेपछि हिन्दु र मुस्लिम दुवै समूहले त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए। सन् २०११ मा त्यो आदेशलाई सर्वोच्चले खारेज गरिएको थियो।

भारतीय जनता पार्टी र उसको निकट रहेको राष्ट्रिय स्वयंसेवक सङ्घले सो स्थानमा राममन्दिर बनाउने मुद्दालाई पटकपटक उठाउँदै आएको थियो। हिन्दु धर्मको पक्षपाती भारतीय जनता पार्टी सत्तामा आएपछि अयोध्यामा राम मन्दिर बनाउने विषय उसका लागि प्रमुख मुद्दा हुने नै भयो। त्यसमा पनि अयोध्या भूमि रहेको उत्तरप्रदेश सत्तारुढ भाजपाको सबैभन्दा बलियो क्षेत्र मानिन्छ। केन्द्र र प्रदेश सरकारले राममन्दिर निर्माणलाई प्राथमिक मुद्दा बनाउँदै आएको सन्दर्भमा ९ नोभेम्बर २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनायो। फैसलामा राममन्दिर निर्माणका लागि ट्रस्ट बनाउने आदेश पनि भएको थियो। सोही आदेश अनुसार केन्द्र संसद्ले ट्रष्ट बनाएको छ। सो फैसलापछि मन्दिर निर्माणको ढोका खुलेको हो। जस अनुसार ५ अगस्ट २०२० मा प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेको मात्र होइन, सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए। ट्रस्ट र निर्माण समितिले द्रुतगतिमा निर्माण अघि बढाएका छन्। ट्रस्टका अधिकारीहरूको भनाइमा ४ हजार करोड भारतीय रुपियाँमा मन्दिर निर्माण गरिनेछ। 

मन्दिर निर्माणकार्य पूरा भएसँगै त्यहाँ जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट तयार पारिने धनुष राखिनेछ। जुन धनुषले राजा जनककी छोरी सीतासँग रामको विवाह भएको घटना स्मरण गराउनेछ। यसबाट नेपाल भारतको सम्बन्ध कति पुरानो रहेछ भन्ने प्रष्ट हुनेछ। यतिमात्र होइन, राममन्दिरमा राखिने धातुको धनुषले नेपाल–भारतबीचको सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गरिएको छ। अयोध्या पुग्ने नेपालीका लागि मात्र नभएर जनकपुर नपुगेका भारतीयका लागि पनि धार्मिक पर्यटनको ढोका खोल्न राममन्दिरको धनुष कोसेढुङ्गा सावित हुनेछ।