• ६ चैत २०८०, मङ्गलबार

पानी शुद्धीकरण गर्ने ‘थेरापी गार्डेन’

blog

बनेपा समाचारदाता 

काभ्रे, साउन २३ गते । धुलिखेल अस्पतालले दुई रोपनी क्षेत्रफलमा अस्पतालबाट निस्कने दूषित पानी शुद्धीकरण गर्ने प्रविधिको निर्माण गरेको छ। पछिल्लो समय अस्पतालले परियोजना निर्माण गरेको स्थानलाई ‘थेरापी गार्डेन’का रूपमा विकसित गरेपछि उक्त स्थान बिरामी कुरुवाको विश्रामस्थल, गर्भवती महिलाको डिँडडुल गर्ने र बच्चाको तेल लगाउने स्थानका रूपमा परिणत भएको छ। 

धुलिखेल अस्पतालका इन्जिनियर राजाराम पराजुलीले अस्पतालबाट निस्कने दूषित पानी शुद्धीकरण गर्ने परियोजना सञ्चालन गरेको जमिनलाई ‘थेरापी गार्डेन’का रूपमा विकसित गर्ने काम भइरहेको बताउनुभयो। उहाँले पानी शुद्धीकरण गर्न प्रयोग गरेर बाँकी रहेको जमिनमा विभिन्न किसिमका फूल, दुबो, बिरुवा रोपेर बगैँचाका रूपमा विकास गरिएको बताउनुभयो। 

“सुरुमा त फोहोर पानी शुद्धीकरण गर्ने स्थान भएकाले कोही पनि त्यस आसपास जान मान्दैनथे, अस्पतालले बगैँचाका रूपमा विकास गरेपछि भने अस्पताल आउने बिरामीका कुरुवा बगैँचामा गएर फोटो खिच्ने र आराम गर्ने गरिरहेका छन्,” पराजुलीले थप्नुभयो।

उहाँले अस्पताल स्थापना भएसँगै अस्पतालले सन् १९९६ मा दैनिक अस्पतालबाट निस्कने २५ हजार लिटर दूषित पानी प्रशोधन तथा शुद्धीकरण गर्ने प्लान्ट निर्माण गरेको बताउनुभयो। उहाँले अस्पतालमा बिरामीको चाप र सेवा बढेसँगै दूषित पानीसमेत बढी निस्कने भएपछि सन् २००७ मा २५ हजार लिटर पानी शुद्धीकरण गर्ने प्लान्टलाई दैनिक ९० हजार लिटर पानी शुद्धीकरण गर्ने प्लान्टमा विस्तार गरिएको बताउनुभयो। उहाँले सन् २०१७ मा ‘इन्भारोन्मेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसन’ (एन्फो) नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोगमा नयाँ प्रविधि अपनाएर विकेन्द्रित दूषित पानी शुद्धीकरण प्रणालीको नयाँ प्रशोधन केन्द्रको योजना बनाइएको बताउनुभयो। 

एन्फोले तयार गरेको नयाँ डिजाइनअनुसार सन् २०१८ देखि सुरु गरिएको भन्दै अस्पतालबाट निस्कने दूषित पानीलाई एक लाख लिटरको ट्याङ्कीमा हालेर ठोस र तरल छुट्याउने काम गरिने उहाँले बताउनुभयो। ठोस एउटा ट्याङ्कीमा जम्मा भएर बस्छ भने ट्याङ्कीबाट निस्केको दूषित पानीलाई ब्याक्टेरियाको माध्यमबाट कुहाउने काम गरिने र ब्याक्टेरियाबाट कुहिएर शुद्धीकरण भएको पानीलाई गिटी, बालुवामा रोपिएको नर्कटघारीमा पठाइन्छ। नर्कटको जराले फोहोर पानीको जैविक फोहोर लिने र पानीलाई शुद्धीकरण गर्ने काम गर्दछ। नर्कटघारीबाट निस्केको पानीमा अक्सिजनको मात्रा बढाउने काम गरेर उक्त पानीलाई खेतीयोग्य जमिन तथा खोलामा पठाउने काम गरिँदै आएको अस्पतालका इन्जिनियर पराजुलीले बताउनुभयो।  

धुलिखेल अस्पतालले रासायनिक पदार्थको प्रयोग नगरी अस्पतालबाट दैनिक निस्कने करिब डेढ लाख लिटर प्रयोग गरिएको पानीलाई शुद्धीकरण गर्ने काम गर्दै आएको छ। अस्पतालले दूषित पानी शुद्धीकरणका लागि अर्को एक लाख लिटरको ट्याङ्की बनाउने लक्ष्य राखेको छ। दुई रोपनी क्षेत्रफलमा रहेको पानी शुद्धीकरण गर्ने प्रणाली निर्माणका लागि हालसम्म करिब एक करोड पचास लाख रुपियाँ खर्च भएको अस्पतालले जनाएको छ।