जुम्लालाई ६ नं प्रदेशको सुन्दर सहर बनाइने

janardanजुम्ला, फागुन १३ गते । एनेकपा (माओवादी) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले जुम्लालाई प्रदेश नं ६ को सुन्दर सहर निर्माण गर्ने योजना तयार गरिएको बताउनुभएको छ ।

आन्तरिक पार्टी निर्माणको सन्दर्भमा बुधवार जुम्ला आइपुग्नुभएका नेता शर्माले पत्रकार भेटघाट कार्यक्रममा कुरा गर्दै आफ्नो पार्टीले प्रदेश नं ६ को सबै कुरालाई समेटेर कार्य योजना निर्माण गरेको जनाउनुभयो । प्रदेश नं ६ का इन्चार्जसमेत रहनुभएका नेता शर्माले भर्खरै मात्र यो प्रदेशको कार्ययोजना तयार गरी सुर्खेतमा सार्वजनिक गरेको बताउनुभयो ।

कर्णाली ऐतिहासिक महत्वको प्रदेश भएपनि अन्य प्रदेशभन्दा कमजोर भएको औँल्याउँदै उहाँले १६ लाख २३ हजार जनसङ्ख्या रहेको यो प्रदेश सम्पन्न बनाउने परिकल्पना रहेको विचार व्यक्त गर्नुभयो ।

विकास कर्णालीका हुम्ला, मुगु, डोल्पा र जुम्लाबाट सुरु गर्नुपर्ने उहाँको तर्क थियो । कर्णालीको जलस्रोत, कृषि र जडीबुटीलाई उच्चतम प्रयोग गरी समृद्धि हासिल गर्न पार्टीले यसलाई प्रमुखताका रुपमा लिएको बताइएको छ ।

मुलुकमा भ्रष्टाचार व्याप्त भएको र शक्ति केन्द्रमा मात्र भएकाले समानुपातिक विकास हुन नसकेको उहाँको आरोप थियो । राजनीतिक पक्ष यसको प्रधान दोषी रहेको जनाउँदै नेता शर्माले भ्रष्टाचारको विरुद्धमा जनचेतना जगाउनेखालका कार्यक्रम आफ्नो पार्टीले अघि सारेको बताउनुभयो ।

आफू लेखा समितिको संयोजक हुँदा नै यसको खबरदारी गर्दै आएको बताउँदै उहाँले कर्मचारी वर्गलाई राजनीतिक नेताहरुलेसही दिशानिर्देश गर्न नसकेको औँल्याउनुभयो ।

देश संविधानमय भइसकेकाले अब नवनिर्मित संविधानको कार्यान्वयन गर्नु मुख्य कार्यभार रहेको छ र ३०० कानुन निर्माण गर्नुपर्ने देखिन्छ, उहाँले भन्नुभयो । उहाँका अनुसार सरकारलाई आत्मनिर्भर अर्थतन्त्रको विकासतर्फ अघि बढ्न सुझाव दिइएको छ ।

भूकम्पले तहसनहस भएको नेपाल नाकाबन्दीबाट झनै थिलथिलो भयो । यसबाट सिर्जित भारत–नेपालबीचको तिक्तता हटाउन र बिग्रेको सम्बन्धलाई सुधार गर्न प्रधानमन्त्रीलाई सल्लाह दिएर पठाएका हौँ, उहाँले थप्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना