बिरामी आउन छोडेपछि सामुदायिक अस्पताल सुनसान बन्दै

इलाम, माघ ९ गते । एघार वर्षअघि सामुदायिक अस्पतालको रुपमा स्थापना भएको इलाम नगरपालिका–८ स्थित सिङफिरिङमा रहेको डाक्टर मेघबहादुर पराजुली सामुदायिक अस्पताल अहिले सुनसान बन्दै गएको छ ।

हिमालयन हेल्थकेयर काठमाडौँद्वारा सञ्चालित अस्पतालमा दक्ष चिकित्सक अभावका कारण बिरामी आउन छोडेपछि अस्पताल सुनसान बन्दै गएको हो । स्वास्थ्य सेवाको पहुुँचबाट टाढा रहेका बिरामीलाई सस्तो र भरपर्दो सेवा पु¥याउने उद्देश्यका साथ सञ्चालन भएको अस्पतालमा बिरामी आउन छाडेपछि त्यहाँ कार्यरत कर्मचारी घाम तापेर बन्न बाध्य छन् ।

विसं २०६१ वैशाख ९ गते डाक्टर मेघबहादुर पराजुली क्लिनको नाममा स्थापना भएको सामुदायिक अस्पताल तीन वर्षपछि स्वास्थ्य मन्त्रालयबाट १५ शय्याको अस्पतालको रुपमा स्वीकृत भएको थियो । कुनै बेला २४ सैँ घन्टा बिरामीको चापाचाप देखिने अस्पताल अहिले दिनदिनै घाम ताप्ने मैदानको रुपमा परिणत हुँदै गएको छ ।

स्थापनासँगै अस्पतालले २०६६ सालसम्म बहिरङ्ग, अन्तरङ्ग, साधारण ए–क्सरे, भिडियो एसिजी, प्रसूति सेवा, दन्त सेवा, आँखा उपचारलगायत सेवा दिँदै आएको थियो । तर पछिल्लो समय हिमालयन हेल्थ केयर संस्थाले दक्ष डाक्टर उपलब्ध गराउन नसक्दा अस्पतालमा सामान्य सेवा लिन पनि बिरामी आउन छाडेका छन् ।

सामुदायिक अस्पतालको अवस्था दिनदिनै नाजुक अवस्थामा पुग्दा यहाँका स्थानीय निकाय, स्थानीयवासी तथा सरोकारवालाको सहयोग नपाएको भन्दै कर्मचारीले गुनासो पोखेका छन् । अस्पताल सञ्चालनका लागि गठन भएको व्यवस्थापन समिति पनि राजनीतिक हानथापका कारण निस्क्रिय बनेको उनीहरू बताउँछन् ।

इलाम सदरमुकामदेखि डेढ किमी टाढा रहेको अस्पतालमा संस्थाले पनि हात झिकिदिने हो भने पूर्णरुपमा बन्द हुने अवस्थामा पुग्ने अस्पतालका प्रशासकीय अधिकृत खेमराज घिमिरेले बताउनुभयो ।

संस्थाबाट अस्पतालमा विदेशी डाक्टर पठाएर सेवा दिँदै आए पनि नेपाल मेडिकल काउन्सिलले विदेशी डाक्टर ल्याउन रोक लगाएपछि अझ सेवा ठप्प हुने स्थितिमा पुगेको घिमिरको भनाइ छ । अस्पताल सञ्चालन गर्न वार्षिकरुपमा रु ७० लाखभन्दा बढी खर्च हुने गरेको अस्पतालका लेखा अधिकृत दीपक ढुङ्गानाले बताउनुभयो । बिरामी भर्ना शुल्क तथा ल्यापजस्ता सेवाबाट सङ्कलन भएको रकमले सामान्य बिल तिर्नसमेत अवस्था नाजुक रहेको उहाँको भनाइ छ ।

विसं २०१४ को अन्त्यसम्ममा एक चिकित्सकसहित तीन जना स्वास्थ्य प्राविधिक रहेकामा अहिले एक जना मात्र चिकित्सक कार्यरत छन् ।

संस्थाले पूर्वी पहाडी जिल्लाका जनताका लागि न्यून शुल्कमा सेवा पु¥याउनका लागि सञ्चालन गरेको अस्पतालको बेला–बेलामा अनुगमन गर्ने गरेको छ ।

अस्पतालले शनिबार र इमर्जेन्सीमा आउने बिरामीलाई भर्ना शुल्क लिँदै आएपनि अन्य बार आउने बिरामीबाट निःशुल्क भर्ना गराउँदै आएको जनाएको छ ।

यता बिरामी बोक्नका लागि ल्याइएको एम्बुलेन्स पनि काम नलाग्ने गरी बिग्रिएर थन्किएको छ । करिब रु सात÷आठ लाखमा खरिद गरेर ल्याएको एम्बुलेन्स डेढ वर्षदेखि बिग्रिएर थन्किएको अस्पतालले जनाएको छ । अस्पतालमा बिरामी कम उपस्थिति हुँदा त्यहाँ भएका बहुमूल्य कतिपय औजार तथा मेसिनजस्ता सामग्री थन्किने अवस्थामा रहेका छन् ।

 अस्पतालमा कार्यरत २४ जना कर्मचारी पनि निराश बन्दै दिनभरि त्यसै बस्न बाध्य छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना