‘मोदी सार्क सम्मेलनमा मात्र सहभागी हुने’

काठमाडौँ, मङ्सिर ७ गते । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको प्रस्तावित जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण स्थगन भएको छ ।

“स्वदेशका अपरिहार्य प्रतिबद्धता तथा  देशभित्रकै पूर्वनिर्धारित यात्राकाकारण प्रधानमन्त्री मोदी सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौँ मात्र जानुहुनेछ,” प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे नयाँदिल्लीमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा भारतीय बाह्य मामिला मन्त्रालयका प्रवक्ताले भन्नुभयो ।

नयाँदिल्लीमा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता सैयद अक्वरुद्धिनले आज उक्त जानकारी दिँदै प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको विशेष सम्बन्धलाई अति महत्व दिनुभएको तथा नेपालका नेतृत्व वर्ग र नेपाली जनतासँग पारस्परिक संवादका निम्ति नेपाल भ्रमण गर्ने चाहना व्यक्त गर्नुभएको बताउनुभयो ।

प्रधानमन्त्री मोदी यथासम्भव चाँडो जनकपुर, लुम्बिनी र मुक्तिनाथ तथा नेपालका अन्य भागको भ्रमण गर्न उत्सुक रहनुभएको पनि प्रवक्ता अक्वरुद्धिनले स्पष्ट गर्नुभएको छ ।

प्राचीन सभ्यतादेखिको भारत नेपाल सम्बन्ध  तथा दुई देशका जनताबीचको अद्वितीय सम्बन्ध मुखरित गर्ने विशेष उद्देश्यले गत साउनमा नेपाल भ्रमणमा रहेका बेला भारतका प्रधानमन्त्रीले जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने अभिलाषा प्रकट गर्नुभएको थियो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौं शिखर सम्मेलनमा सहभागी हुन नेपाल भ्रमणमा आउने क्रममा ती धार्मिकस्थलको भ्रमण गर्ने इच्छा उहाँले सार्वजनिकरुपमा व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री मोदीको उक्त इच्छा पूर्ण गर्न नेपाल सरकारले आवश्यक तयारी पनि प्रायः पूरा गरिसकेको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना