पहिचानको चौबाटोमा असन

sushil darnalसुशील दर्नाल

पित्तलको छानामा सुनको जलप लगाइएको छ । ढोकामा चाँदीको पाताले मोडिएको छ । सुन मोलम्मा गरी पित्तल पाताको छाना राखिएको छ । तोरणहरू चढाएको प्रस्तरको प्राचीन कलशजस्तो मूर्तिलाई चाँदीले मोडेर कलशकै स्वरूप दिइएको छ ।
नेपालका अरू मन्दिरभन्दा बेग्लै पहिचान देखिने झकिझकाउ भएको असनमा रहेको अन्नपूर्ण मन्दिरको चारैतिर बाहिरपट्टि अष्टमात्रिका, अष्टभैरव र गणेशको मुर्तिले सजाइएको छ । कलश विराजमान भएको काठमाडौँ उपत्यकाको तीन सहरमध्ये एक प्रख्यात ठाउँ हो, असन अन्नपूर्ण देवीको मन्दिर । ऐतिहासिक पहिचान झल्काउने असनमा अन्नपूर्ण मन्दिरसँगै लोकेश्वर नारायण मन्दिर, गणेश मन्दिर, मत्स्य अवतार नारायणको मन्दिर र उमा महेश्वरको मन्दिर पनि रहेका छन् ।
धेरै पुरानो इतिहास बोकेको असन बजारबारे खासै लेखिएको पाइँदैन । पछिल्लोपटक अन्वेषक तीर्थमान महर्जनले आफ्नो पुस्तक ‘अन्नपूर्ण मन्दिर र अन्नपूर्णदेवी जात्रा’ मा असनबारेको इतिहास केलाउने जमर्को गर्नुभएको छ । धैरै वर्ष पहिले ठिमीका एकजना व्यापारीले बाँसको नोल काँधमा राखेर त्यसमा चामल हाली बोकेर ल्याउँदै गर्दा गरुङ्गो भएर भारी बिसाए । व्यापारीले पछि भारी उठाउन खोजे तर हल्लाउन पनि सकेनन् ।
त्यसपछि रित्तै घर गए । घर परिवारले सोध्दा उनले डराएर अनसं (नेपालभाषामा त्यहीँ ) मात्र भन्न सके । त्यसपछि तान्त्रिकलाई देखाउँदा भारी बिसाएको ठाउँमा देवी अन्नपूर्ण विराजमान भएको बताए । अनसं शब्दको अक्षर अगाडि पछाडि भई कालान्तरमा असन रहन गएको महाजनको भनाइ छ ।
असनको इतिहास माछाको शिलामूर्तिसँग पनि जोडिएको छ । असनबारे लेख्ने इतिहासकार भुवनलाल प्रधान र प्राज्ञ डा. जगमान गुरुङले पनि माछाको प्रसङ्गलाई उठाउनुभएको छ तर त्यहाँको सांस्कृतिक र ऐतिहासिकताबारे समेटिएको पाइँदैन । डा. गुरुङले ‘रचना’ को पूर्णाङ्क १३५ मा यसरी लेख्नुभएको छ – ‘नेपालका ज्योतिषीले प्रारम्भमा उज्जैन (भारत) को महाकालेश्वरदेखि समय शोधन गरी काठमाडौँ टुँडिखेलको महाकांललाई केन्द्रविन्दु मानेर ज्योतिषीय कालगणना गर्दथे । कालान्तरमा मीनभैरव अर्थात् असनको माछालाई केन्द्रविन्दु मानेर गणना गर्ने परम्परा स्थापित गरे ।’ ज्योतिषीय गणनाको सन्दर्भमा टँुडिखेलका महाँकाल मकर राशि, असनका अन्नपूर्ण कुम्भ राशि र भेडासिं मेष राशिका प्रतीक मानिआएका र यी स्थान ज्योतिषीय कालगणनाका लागि स्थापना गरिएका बिन्दु अर्थात् डट (.) हरू भएका विज्ञहरू बताउँछन् । त्यो ढुङ्गे माछालाई कसै कसैले मीन भैरव मानेर पूजा गर्नेहरू पनि छन् । कसैकसैले आकाशबाट वर्षा हुँदा धर्तीमा झरेको मत्स्यावतार नारायण पनि भन्ने गरेका छन् । काठमाडौँ उपत्यकामा जात्रा, पर्व र सांस्कृतिक जुलुसजस्ता जुनसुकै कार्य गर्दा पनि यो ढुङ्गाको माछालाई दाहिने पारी जाने चलन छ । मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षित अहिलेको भोटाहिटीनिरै मानदेवको नामाङ्कित ढुङ्गेधारो फेला परेकाले त्यो असन इलाका लिच्छवीकालमा नै आवाद भएको धारणा राख्नुहुन्छ । असन सेवा समितिका पूर्व अध्यक्ष अमुलकाजी तुलाधरका अनुसार धेरै वर्ष पहिले नै असन क्षेत्र ‘डिपार्टमेन्टल स्टोर’को रूपमा विकास भएको हो । असन बजारको विविधताले नै यो तथ्यको पुष्टि गर्ने उहाँ बताउनुहुन्छ ।
काठमाडौँको प्राचीन टोलमध्येका असन (असं) एक हो । यसपटकको विनाशकारी भूकम्पले यस क्षेत्रलाई खासै असर गरेन । “डिपार्टमेन्टल स्टोरको दाँजोमा असन साँघुरो छ तर यसको महìव कम छैन,” स्थानीय व्यापारी सुमित्रा तुलाधर भन्नुहुन्छ – “यस स्थानको महìव भएकै कारण अहिले पनि बाह्रैमास मानिसको भीड लाग्ने गरेको छ ।” यस ठाउँको गरिमा व्यापारसँग जोडिएको छ । धेरै वर्ष पहिले असन बजारमा व्यापार गर्न आउने व्यापारीले बिक्रीका लागि मोलतोल गर्नुभन्दा अगाडि असनमा रहेको अन्नपूर्णदेवीलाई अञ्जुलिभरी कलशमा चामल चढाउने गर्दथे । अन्यत्र मोलतोल हुनेगरे पनि पनि असनमा चलेको भाउलाई प्रामाणिक मान्ने गरिन्थ्यो । असन बजारप्रति जनजनमा रहेको आस्था र विश्वास नमरेको भए पनि विगतजस्तो यसको गरिमा भने अब रहेको देखिँदैन । बढ्दो सहरीकरण र टोलटोल र चोकचोकमा खुलेका ठूलठूला बिक्री कक्षको स्थापनाले यस्तो स्थिति आएको हो ।
समितिका पूर्व अध्यक्ष तुलाधर भन्नुहुन्छ – “यहाँका साँघुरा बाटालाई व्यवस्थित गर्ने र पुरानाका ठाउँमा नयाँ भवन बनाउने हो भने असनको स्वरूप नै फेरिएर अस्तित्व हराउने खतरा रहन्छ । त्यसैले असनलाई जे छ त्यही स्वरूपमा रहन दिनुपर्छ ।” असन बजार क्षेत्रले पूर्वमा रानीपोखरी, दक्षिणमा भोटाहिटीदेखि महाबौद्धसम्म, पश्चिममा न्हैकन्तलादेखि बाङ्गेमुढासम्म र उत्तरमा त्यौडसम्मको ठाउँलाई जनाउने स्थानीय बासिन्दा बताउँछन् ।
नेवार समुदाय र तिब्वतेलीले आफ्नो व्यापार राम्रो होस् भनी गुफामा कुबेरले साँचेर राखेको धन भएको कलशलाई तान्त्रिकद्वारा तानेर असनमा ल्याई विराजमान गराएको हुनुपर्छ भन्ने इतिहासमा रुचि राख्ने कतिपयको भनाइ छ । त्यस अर्थमा असनमा जुनसुकै सामान पाइने र जे व्यवसाय गरे पनि फलिफाप हुने जनविश्वास रहेको अन्वेषक तीर्थमान महर्जन बताउनुहुन्छ । तिब्वती भाषामा कलशलाई भूम्बा भनिन्छ । कसैकसैले कलशको सन्दर्भलाई तिब्वतेली व्यापारी छोम्पेन नोर्बू साम्पो (भूम्वा) सँग पनि जोडेर हेरेको पाइन्छ ।
असन बजारको सुरक्षासँगै पसलको व्यवस्थापन र मठमन्दिरको संरक्षण गर्ने काम असन सेवा समितिले गर्दै आएको छ । समितिसँगै अन्य सङ्घसंस्था र क्लबले आफ्नै तरिकाले संरक्षण र प्रवद्र्धनका काम गर्दै आएका छन् । समितिले दैनिक जसो हुने भीडलाई व्यवस्थित गर्न सुरक्षा गार्डको समेत व्यवस्था गरेको छ । पछिल्लो पटक यहाँ १० वटा सिसी क्यामेरासमेत जडान गरिएका छन् । समितिले बजारलाई व्यवस्थित गर्न बिहान नौ र बेलुका चार बजेपछि मात्र तरकारी र फलफूल बिक्रीका लागि फुटपाथ पसल चलाउने अनुमति दिने गर्छ । पछिल्लो समय यहाँ एकीकृत बस्ती बसाल्ने विषयमा काठमाडौँ महानगरपालिकाले स्थानीयसँग छलफल चलाइरहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना