• ६ चैत २०८०, मङ्गलबार

पुँजी बजारलाई वास्तविक बनाउनै बाँकी

blog

काठमाडौँ, साउन २० गते । नेपालको पुँजी बजारको आकार बढ्दै जाँदा यसलाई अझै वास्तविकतामा आधारित बनाउन बाँकी रहेको सरोकारवालाले बताएका छन् । 

नेपाल आर्थिक पत्रकार सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक अन्तक्र्रियामा सहभागीले पुँजी बजार नेपाली अर्थतन्त्र र विश्वव्यापी अभ्यासअनुरूप अझै वास्तविक हुन नसकेको औँल्याएका हुन् ।

कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजी बजारलाई लगानीकर्ताको हितमा केन्द्रित गर्न खोजिएको बताउनुभयो । आफ्नो नियामकीय क्षमता विस्तार गर्ने क्रममा पुँजी बजारमा रहेका कमजोरी सुधार गर्न बोर्ड गम्भीर भएर काम गरिरहेको जानकारी दिनुभयो । 

पुँजी बजारमा वित्तीय क्षेत्रको हिस्सा अधिक रहेको भन्दै उहाँले वास्तविक क्षेत्रलाई पनि यो बजारमा प्रवेश गराउन बोर्ड प्रयासरत रहेको बताउनुभयो । “सेयर बजारमा हामीले रियल सेक्टरलाई प्रवेश गराउँदै छौँ, कमोडिटी बजार पनि यसै वर्ष सञ्चालनमा ल्याउँछौँ,” उहाँले भन्नुभयो । 

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले नेपालको सेयर बजार वित्तीय क्षेत्रको विकल्प बन्न नसकेको औँल्याउनुभयो । नेपालको रियल सेक्टरको प्रवेश नभएकाले पुँजी लगानीमा वित्तीय संस्थाको एकाधिकार रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “रियल सेक्टर भइदिएको भए पुँजी बजारले नै उद्यमी व्यवसायीलाई लगानीयोग्य पुँजी उपलब्ध गराउन सक्ने थियो, बैङ्कले ऋण दिएन भन्नुपर्ने अवस्था आउने थिएन ।” 

कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका निमित्त प्रबन्धक निरन्जन फुयालले अर्थतन्त्रको मुख्य क्षेत्र नै सेयर बजारमा नआएकाले सेयर सूचक अर्थतन्त्रको वास्तविक तस्बिर बन्न नसकेको धारणा व्यक्त गर्नुभयो । “अर्थतन्त्रका मुख्य योगदानकर्ता कृषि, उद्योग क्षेत्रका कम्पनीको उपस्थिति नै नेप्सेमा न्यून छ, आफैँ उत्पादन नगर्ने बैङ्किङ क्षेत्रको दबदबा पुँजी बजार भएपछि यसले अर्थतन्त्रको तस्बिर दिने कुरै भएन,” उहाँले भन्नुभयो । 

कार्यक्रममा धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्माले बोर्डलाई अझै स्वायत्तता दिने गरी कानुनी व्यवस्था बनाउनुपर्ने बताउनुभएको थियो । 

कार्यपत्र प्रस्तुत गर्दै ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले पुँजी बजारलाई विस्तार गर्न ब्रोकरलाई विस्तार हुन दिन कन्जुस्याइँ भइरहेको भन्दै शाखा खोल्ने र डिम्याट खाता खोल्ने अधिकार दिन आवश्यक रहेको औँल्याउनुभयो ।