• ६ चैत २०८०, मङ्गलबार

संसदीय समितिको प्रश्न- ‘प्रधानसेनापति आईपीएसको बैठकमा किन’

blog

समिति सभापति निरादेवी जैरु । फाइल तस्बिर

काठमाडौं, साउन १९ गते। संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएको छ। 

बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकले समितिले निर्देशन दिएको बैठकमा मन्त्री, सचिव र प्रधानसेनापति उपस्थित नहुनुले यो विषयमा शंका बढेको निष्कर्ष निकालेको हो। 

बैठकमा बोल्नुहुँदै समिति सभापति निरादेवी जैरुले समितिले बोलाएको बैठकमा मन्त्रीको काम आइपरे पनि रक्षा मन्त्रालयका सचिव र प्रधानसेपति किन उपस्थित हुनुभएन भन्दै प्रश्न गर्नुभएको हो। 

उहाँले सम्बन्धित मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानसेनापतिलाई तत्काल समितिमा उपस्थितिका लागि पत्राचार गर्न समिति सचिवलाई निर्देशनसमेत दिनुभएको छ। 

सभापति जैरुले २०७२ भदौ २४, २०७२ साल असोज १३, २०७२ साल कार्तिक १०, २०७४ साल वैशाख २४, वैशाख २१ र २०७६ साउन २७ गते भएको एसपीपी सम्झौता सम्बन्धी दस्तावेज समितिले अध्ययनका लागि मागेको भन्दै समितिलाई अध्ययनका लागि उपलब्ध गराउन निर्देशन दिनुभयो। 

उहाँले आईपीएसको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले भाग लिएको बारे सरकारले जानकारी गराउनुपर्ने माग गर्नुभएको छ। समितिको निर्देशनअनुसार सम्बन्धित व्यक्ति उपस्थित नहुनुले समितिको अधिकार क्षेत्र नै कमजोर पारिएको भान समितिलाई भएको उहाँको भनाइ छ। उहाँले समितिको निर्देशन विपरित सरकार जाने हो भने समितिको मर्यादा र समितिलाई सरकारले हेर्ने दृष्टि के हुन्छ भन्दै प्रश्न गर्नुभएको छ। 

समितिले बिहीबारको बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, प्रधानसेनापति लगायतलाई बोलाएको थियो।