• ६ चैत २०८०, मङ्गलबार

आठ वर्षमा तयार भयो ‘बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र’

blog

बुटवलमा निर्माण सम्पन्न भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र । तस्बिर: कपिल ज्ञवाली

१ अर्ब ११ करोड लागत,१ हजार जना अट्ने क्षमता, संचालनमा मासिक ३ करोड न्यूनतम खर्च

सिद्धार्थनगर, साउन १९ गते । बुटवलमा एक हजार मानिस अट्ने सभाहलसहितको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सकिएको छ । बुटवल– ८ रामनगरमा करिब ८ वर्ष लगाएर सम्मेलन केन्द्र निर्माण गरिएको हो । 

बि.सं. २०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र कोरोना महामारी र रुख कटानका कारण प्रभावित भएको थियो । सम्मेलन केन्द्र तयार भएपछि बुटवलमा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलनहरु गर्न सहज हुने भएको छ । बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डप संघीय सरकार सहरी विकास मन्त्रालयको एक अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र बनेको हो ।

नेपालको झन्डा आकारमा तयार पारिएको सभाहल तत्कालै प्रयोगमा ल्याउन सकिनेछ । उक्त हलमा ८७२ वटा फिक्स कुर्सी जडान गरिएको भने सभाहलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल भवन तयार भएको छ । त्यस्तै सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ ।

अब तत्कालै प्रयोग गर्न मिल्नेगरि सभाहल तयार भइसकेको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताउनुभयो । उहाँका अनुसार सम्मेलन केन्द्रको भौतिक संरचना पूर्ण रुपमा सम्पन्न भएको हो भने सभाहलबाहेक बैठक हल र बहुउद्देश्यीय हलमा फर्निचर, फर्निसिङको काम गर्न बाँकी छ ।


चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको जनाएको छ । सम्मेलन केन्द्रमा हेलिप्याड समेत बनाइएको छ । लिफ्टको सुविधासहित निर्माण गरिएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतीक संरचना तयार पारिएको छ । विद्युतका लागि छुट्टै सब स्टेशन राखिएको छ । ६३० केभीए क्षमताको विद्युत ट्रान्सपफर्मर पनि जडान गरिएको छ ।उक्त केन्द्रले प्रयोगका लागि खोनपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ । सम्मेलन केन्द्र प्रवेश गर्दा आर्कषक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पट्टी पोखरी निर्माण गरिएको छ । प्रवेश हुने र बाहिरिने गरि ५ वटा अलग अलग गेट तयार पारिएको छ । बिशिष्ट प्रवेशद्धार र सर्भिस गेट पनि बनाइएको छ । बाँकी ३ वटामध्ये २ वटाबाट सम्मेलन केन्द्र प्रवेश गर्ने र एउटा गेटबाट बाहिरिने व्यवस्था मिलाइएको छ । बाल उद्यान, कफि सप, रिफ्रेस हल, रजिष्ट्रेशन र टिकट काउण्टर समेत बनाइएको छ। 

Author

कपिल ज्ञवाली