• ६ चैत २०८०, मङ्गलबार

खुम्बु क्षेत्रमा तेह्र विदेशीको मृत्यु

blog

सन्तोष राउत

सोलुखुम्बु, साउन १९ गते । एक वर्षको अवधिमा खुम्बुक्षेत्र भ्रमणमा आएका १३ जना विदेशी पर्यटकको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन्। २०७८ को जेठदेखि ०७९ को जेठसम्ममा खुम्बु भ्रमणमा आएका १३ जना विदेशीको मृत्यु भएको र दुई जना बेपत्ता रहेको पर्यटक प्रहरी कार्यालय लुक्ला सोलुखुम्बुले जनाएको छ। 

कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक पूर्णप्रसाद दाहालका अनुसार २०७८ मा सगरमाथा आरोहण गरेर फर्कने क्रममा लडेर वैशाख ३० गते ३४ वर्षीय बेलायती नागरिक, ४१ वर्षीय स्वीस नागरिक र जेठ ८ गते ३४ र ६१ वर्षका दुई बेलायती नागरिकको मृत्यु भएको हो। असोज २९ गते भारत केरलाका २० वर्षीय नागरिक र कात्तिक १९ गते १९ वर्षीय बेलायती नागरिकको लेक लागेर बेस क्याम्प क्षेत्रमा मृत्यु भएको हो। त्यस्तै कात्तिक २१ गते २७ वर्षका दुई जना र ३४ वर्षका एक जना गरी तीन जना फ्रान्सेली नागरिकको सगरमाथा चढ्ने क्रममा लडेर मृत्यु भएको पर्यटक प्रहरी उपशाखा लुक्लाले जानकारी दिएको छ। 

२०७९ को वैशाख ६ गते रसियन नागरिक ५५ वर्षका पुरुष हिमाल चढ्ने क्रममा लडेर र वैशाख २२ गते ५५ वर्षीय भारतीय नागरिकको गोक्योमा लेक लागेर मृत्यु भएको प्रहरीको तथ्याङ्क छ। वैशाख ३१ गते क्यानेडियन ५० वर्षीय पु्रुषको स्याङ्बोचेमा सुतेकै अवस्थामा मृत्यु भएको र जेठ २० गते बेलायती १९ वर्षीय पुरुषले खुम्बुमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथचन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन बेपत्ता भएका छन्। उनीहरूको खोजी जारी राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। खुम्बुक्षेत्रमा मृत्यु भएका तथा बेपत्ता भएका अघिकांश विदेशी पर्यटक गाइड तथा सहयोगी बिना एक्लै भ्रमणमा आएका पर्यटक प्रहरीले जनाएको छ।