• ६ चैत २०८०, मङ्गलबार

प्रशिक्षकको खोजीमा क्यान

blog

काठमाडौं, साउन १८ गते । दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट सङ्घ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ । खेलसँगै प्रशिक्षकको प्रशिक्षण अवधिमा पनि अस्थिरता देखिन थालेको छ । प्रशिक्षक खोज्न ढिलो भएको भन्दै आलोचना पनि सुरु भइरहेको अवस्थामा क्यानले नियुक्तिका लागि प्रारम्भिक कार्य थालेको बताएको छ ।

राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको अवस्थामा दोस्रो पटक नेपाली टोली सम्हाल्न आएका प्रशिक्षक पुबुदुले सात महिनापछि राजीनामा दिनुभयो । उहाँको  राजीनामा सँगै अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली प्रशिक्षक विहीन छ ।

नेपाली टोलीको अस्थिर प्रदर्शनसँगै प्रशिक्षको कार्यकाल पनि अस्थिर हुन थालेको हो । पहिलो कार्यकालमा नेपाली क्रिकेटलाई सफलताको उचाइको पु¥याएका प्रशिक्षक पुबुदुबाट सोही अपेक्षाका साथ दोस्रो पटक क्यानले नियुक्त गरेको थियो । तर पुबुदुमाथिको भरोसा उहाँको राजीनामा सँगै सकियो । टोलीबाट स्थिर प्रदर्शनको अपेक्षा राखिए पनि त्यो हुन सकेन । टोलीको प्रदर्शन ठिक उल्टो हुँदै गयो ।

विश्व क्रिकेट लिग–२ को भ्रमणमा नेपाली टोलीले उपलब्धि निकाल्न सकेन । अपेक्षा गरिएका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् र स्वदेश फर्किएपछि पुबुदुले राजीनामाको घोषणा गर्नुभयो । राजीनामा दिन आयोजित कार्यक्रममा पुबुदुले टोलीमा गुट/उपगुट भएको सङ्केत छोडेका छन् । पुबुदुको बहिर्गमनसँगै क्यान अहिले नयाँ प्रशिक्षकको खोजीमा रहेको क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ले बताउनुभयो ।

क्यानले विदेशी प्रशिक्षकहरुसँग सम्पर्क गरिरहेको र राम्रो प्रशिक्षक छिट्टै नियुक्त गर्ने मल्लले जानकारी दिनुभयो । प्रशिक्षक नियुक्तिका लागि आन्तरिक प्रक्रियाबाट अगाडि बढेको र कठिन अवस्थामा रहेको नेपाली क्रिकेट सम्हाल्न सक्ने प्रशिक्षकको खोजीमा रहेको मल्लले बताउनुभयो । क्यानको सम्पर्कमा विश्वका नाम चलेका प्रशिक्षक पनि रहेको उहाँको भनाइ छ ।

क्रिकेट एउटा समूहको खेल होे । टोलीका हरेक खेलाडीको भूमिका खेलमा उत्तिकै महत्त्व हुन्छ । प्रशिक्षक एउटा पात्र हुन् जसले टोलीलाई एक बनाउन र योजनासहित अगाडि बढाउन भुमिका खेल्नुपर्ने हुन्छ । यही अपेक्षा पुबुदुबाट गरिए पनि हुन सकेन । जसका कारण अहिले टोली प्रशिक्षक विहीन छ । अहिलेको अवस्थामा नेपाली टोलीले पाएको एक दिवसीय मान्यता धरापमा पर्न थालेको छ । खेलाडीको प्रदर्शनको पारो उकालो लाग्नुभन्दा पनि ओरालो लाग्नु एउटा कारण गणना हुन थालेको छ । कुनै समय साख बटुलेको नेपाली क्रिकेटलाई अहिले जोगाउन मुस्किल देखिन थालेको छ । यी सबै समस्या समाधान गर्न नयाँ र विगतका भन्दा माथिल्लो स्तरका प्रशिक्षकबाट सम्भव हुने देखिएको छ । नेपाली क्रिकेटलाई उकास्नका लागि नेपाली संस्कृति र नेपाली खेलाडीको मनोभावना बुझ्नसक्ने प्रशिक्षक आवश्यक भएको पूर्व क्रिकेटर पवन अग्रवाल बताउनुहुन्छ । उहाँले खेलाडी र प्रशिक्षकबीच भाषा मिल्ने प्रशिक्षक आवश्यक रहेको बताउँदै भारत, श्रीलङ्का, पाकिस्तानका लेभल थ्री कोर्ष गरेका प्रशिक्षक हुँदा नेपाली टोलीलाई सहज हुने बताउनुभयो । अहिले नेपाली क्रिकेटमा भाषा र संस्कृति नबुझ्ने समस्याका कारण पनि कतिपय खेलाडीहरुलाई प्रशिक्षणमा कठिन भएको उहाँको भनाइ छ । उहाँले पूर्व प्रशिक्षक दाशानायकेले आफ्नो दोस्रो कार्यकालमा अपेक्षा अनुसारको नतिजा दिलाउन नसकेको बताउनुभयो ।

विशेष गरी नेपाली क्रिकेटको ब्याटिङ पक्ष सधैँ आलोचना हुँदै आएको छ । केही पछिल्ला खेलमा पनि नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा मुखैमा आएका नतिजा सुम्पिनुपरेको छ । र अहिलेको नेपाली टोलीमा सबैभन्दा सुधारको पाटो ब्याटिङ नै हो । सँगै पुबुदुले साङ्केतिक रुपमा टोलीभित्र देखाएको गुट-उपगुट अर्को समस्या नतिजा धकेल्ने कारक बन्न थालेको छ । यी समस्या समाधान नगरे नेपाली क्रिकेटको साख धराशायी हुने निश्चित छ ।