• ६ चैत २०८०, मङ्गलबार

डाइलासिस सेवा सञ्चालनका लागि डडेल्धुरा अस्पताललाई चार वटा मेसिन हस्तान्तरण

blog

विभागले उपलब्ध गराएका मेसिन बुझ्दै अमरगढी नगरप्रमुख जोशी । तस्विर – पुष्कर भण्डारी

पुष्कर भण्डारी

डडेल्धुरा, साउन १८ गते । सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा डाइलासिस सेवा सञ्चालनको तयारी भएको छ । अस्पतालले मिर्गाैलाका बिरामीको सहजताका लागि सो सेवा सञ्चालनको तयारी गरेको छ । 

उक्त सेवा सञ्चालन गर्न स्वास्थ्य सेवा विभागले चार सेट डाइलासिस मेसिन अस्पताललाई उपलब्ध गराएको छ । अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीलाई मेसिन मंगलबार हस्तान्तरण गरेको वडा नम्बर १० का अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक खेमराज भट्टले बताउनुभयो ।

‘अमरगढी नगरपालिकाको विशेष पहल तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा स्वास्थ विभागबाट डडेल्धुरा अस्पतालका लागि चार थान डाइलासिस मेसिन तथा विभिन्न स्वास्थ सामाग्री प्राप्त भएको छ,’ वडा अध्यक्ष भट्टले भन्नुभयो । डडेल्धुरा अस्पतालमा डाइलासिस सेवा सुचारु भए सुदूरपश्चिमका पहाडी सात जिल्लाका बिरामी लाभान्वित हुनेछन् । 

स्वास्थ्यकर्मीलाई डेढ महिनाको तालिम दिएपछि डाइलासिस सेवा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइने बताइएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सम्बन्धित अस्पतालहरुमा पुगी आवश्यकता पहिचान गरेपछि सोही आधारमा अस्पतालहरुमा मेसिन वितरण गरिएको जानकारी दिएको छ ।