• ८ वैशाख २०८१, शनिबार

गाँजा तस्करीको केन्द्र बन्दै खुला सीमा

blog

धीरज दाहाल

विराटनगर, साउन १८ गते । खुला सिमाना र सहज आवागमनको फाइदा उठाउँदै विराटनगरको रानी नाका हुँदै भारततर्फ गाँजा तस्करी हुने क्रम बढेको छ। नेपालतर्फबाट तस्करले विभिन्न नयाँ तरिका अपनाउँदै भारतीय क्षेत्रतर्फ गाँजा तस्करी गर्ने गरेका छन्। 

सशस्त्र प्रहरी बलको टोलीले पाएको सूचनाको आधारमा तरकारी बोकेको ट्रकमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेलापारेको हो। सङ्खुवासभाबाट बन्दाकोबी राखेर भारततर्फ लगिँदै गरेको उक्त गाडीलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नियन्त्रणमा लिइएको थियो। 

तरकारी ढुवानी गर्ने भन्दै तस्करले गाँजासमेत बीचमा लुकाएको अवस्थामा ४६ बोरा तरकारीको बीचमा ६ बोरा गाँजा राखेको पाइएको थियो। गाँजा बरामद भएपछि सशस्त्र प्रहरीले ट्रक चालक धनकुटा शहीदभूमि गाउँपालिका–३ का २९ वर्षीय विवेक राईलाई नियन्त्रणमा लिएको छ। गाँजा पठाउने मुख्य व्यक्तिको बारेमा भने प्रहरी अनभिज्ञ रहेको छ। प्रहरीले मुख्य व्यक्तिको खोजी जारी रहेको जनाएको छ।

तस्करले मोरङका अन्य विभिन्न नाकाबाट गाँजा तस्करी गर्ने गरेको समेत पाइएको छ। छवटा बोरामा रहेको १५६ केजी गाँजा बरामद गरेको एक साता बित्न नपाउँदै ३६ केजी गाँजासहित एक जना भरियालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ जहदा गाउँपालिका–२, हरिनगराबाट भारततर्फ तस्करी गर्न लागेको अवस्थामा प्लास्टिकमा प्याक गरेर टाउकोमा बोकी लाँदै गरेको गाँजासहित २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

नेपालमा गाँजा प्रयोगलाई कानुनी रूपमा बन्देज लगाइएको छ। गाँजाको खेती र बिक्री वितरण गर्न नपाइने कानुनी व्यवस्थामा स्पष्ट उल्लेख भए पनि नयाँनयाँ प्रयोगमार्फत तस्करी हुने गरेको छ। बेरोजगार युवा पुस्तालाई आर्थिक प्रलोभनमा पारी गाँजा तस्करले भरियाका रूपमा प्रयोग गरी तस्करी गर्ने गरेको पाइन्छ। 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले प्रहरीले लागूऔषध प्रयोग तथा बिक्री वितरण नियन्त्रणका लागि विशेष कारबाही सञ्चालन गरेका कारण दैनिकजसो तस्कर र भरिया पक्राउ परिरहेको जानकारी दिनुभएको छ। “खुला सिमानाको फाइदा उठाउँदै हुने सबै किसिमका आपराधिक कार्यको नियन्त्रणमा प्रहरी सक्रिय रहेको छ,” उहाँले भन्नुभयो, “विराटनगरका नाका मात्र होइन, जिल्लाका तस्करी हुनसक्ने सबै नाकामा प्रहरीले सक्रियता बढाएको छ।” 

प्रहरीले लागूऔषध नियन्त्रणका लागि विशेष कारबाही चलाएको भनिरहँदा दैनिकजसो पक्राउ परेको लागूऔषधको परिमाण नियाल्ने हो भने प्रदेश १ मा यसको भयावह अवस्था रहेको सहजै अनुमान गर्न सकिन्छ। खासगरी युवापुस्तामा छिटो पैसा कमाउने लालसाका कारण तस्करको दृष्टिमा भरियाका रूपमा युवा समूह सजिलै सम्पर्कमा पुग्ने गरेको पाइन्छ। 

गत साउन ७ गते धनकुटा र सुनसरीका अलगअलग स्थानबाट ठूलो परिमाणमा गाँजासहित पक्राउ परेका शहीदभूमि गाउँपालिकापा–५ का २१ वर्षीय मनोज परियार र वडा नम्बर २ का २० वर्षीय तेज राईको उमेर समूहलाई नियाल्ने हो भने तस्करीमा पक्राउ परेका भरियाको उमेर करिब एकै समूहको पाइन्छ। 

अस्थायी प्रहरी पोस्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरानतर्फ आउँदै गरेको प्रदेश नं. १–०२–००१ ज. ४०७७ नम्बरको बोलेरो गाडी जाँच गर्दा चार केजी गाँजा बरामद भएको थियो त्यही दिन नै सुनसरीको इनरुवा नगरपालिका–४ बाट पिकअप भ्यानमा सात बोरा गाँजा बरामद भयो। प्रहरीले को. १ ख. २९२६ नम्बरको भ्यानलाई नियन्त्रणमा लिई राईलाई कारबाहीअघि बढाएको जनाएको छ। यसैगरी साउन ३ गते उदयपुरको चौदण्डीगढी नगरपालिका–४ का ३४ वर्षीय विनेश राई पक्राउ परे । मोटरसाइकलमा राखेर तस्करी गर्दै गरेको अवस्थामा राईबाट गाँजा बरामद भएको थियो । त्यसैगरी मोरङको सुन्दरहरैँचा नगरपालिका–५, बुढीपुलबाट आठ केजी गाँजासहित धनकुटा साँगुरीगढी गाउँपालिका–८ का २९ वर्षीय मिलन राई, ३० वर्षीय सुरेन्द्र राई र २९ वर्षीय बाला राईलाई प्रहरीले पक्राउ गरेर आवश्यक कारबाही गर्न प्रक्रियाअघि बढाएको छ। 

सशस्त्र प्रहरी बल टङ्कीसिनवारीका सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेले केही समययता बढेको गाँजा तस्करीको जालो टुटाउन आफूहरू केन्द्रित भएको बताउनुभएको छ । “भारततर्फ ठूलो मात्रामा गाँजा तस्करी हुने गरेको सूचना छ,” लामिछानेले भन्नुभयो, “दैनिक तस्करी हुने गरेकोले हामी सक्रिय भएका छौँ, हामीले सूक्ष्म ढङ्गले निगरानी बढाएका छौँ।”