• ८ वैशाख २०८१, शनिबार

बाढीपहिरोबाट छ जनाको मृत्यु एक बेपत्ता

blog

काठमाडौँ, साउन १८ गते । अविरल वर्षाका कारण पहाडी र तराई क्षेत्रमा ४३ जिल्ला बाढीपहिरो र डुबानको चपेटामा परेका छन् । आइतबारदेखिको वर्षामा सबैभन्दा ठूलो मानवीय क्षति म्याग्दीमा भएको छ । सोमबार राति गएको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–२, रुममा दुईवटा घर पहिरोमा पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घामबहादुर विक, उहाँकी श्रीमती राममाया विक, छोराहरू नवीन विक र राजन विक तथा छोरी अस्मी पटेल रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका गोठे विक र श्रीमती गोरी विकको रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । कपिलवस्तु समाचारदाता नारद कोहारका अनुसार वाणगङ्गा नदीले तीन जनालाई बगाउँदा वाणगङ्गा नगरपालिका–९, झिनुवा निवासी राममाया सुनारको मृत्यु भएको छ । उहाँका श्रीमान् दिलकुमार सुनारको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । छोरालाई भने सकुशल उद्धार गरिएको छ ।

कास्की प्रहरीका अनुसार रूपा गाउँपालिका–१, गैरीमा सडक भासिँदा पोखरा–लमजुङको भोर्लेटार जोड्ने पक्की सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

चितवन समाचारदाता शालिग्राम नेपालका अनुसार मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्दा सोमबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध छ । केराबारी र सत्र किलोमा ठूलो पहिरो आएर बाटो अवरुद्ध भएको छ । मुग्लिन–काठमाडौँ सडकखण्डमा गएको पहिरो हटाएर आवतजावत सुचारु गरिएको छ । माथिबाट निरन्तर लेदो बगेकाले दुईवटा ट्रकमा क्षति पुगेको छ । नारायणी, राप्ती, रिउलगायतका ठूला तथा साना नदी र खोलामा पानीको सतह बढिरहेको र देवघाटमा नारायणी नदीमा खतराको नजिक पुगेकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

झापा समाचारदाता विष्णुप्रसाद पोखरेलका अनुसार वर्षाका कारण झापाको दमक नगरपालिका र कमल गाउँपालिकामा खोलाले धार परिवर्तन गर्दा बाढी बस्तीतर्फ लागेको छ । रतुवा खोलामा आएको बाढीले नेपाल–चीनमैत्री औद्योगिक पार्कको जमिन कटान गरी क्षति पु-याएको छ । बाढीका कारण निर्माणाधीन दमक चक्रपथमा क्षति पु-याएको छ । त्यसैगरी  कमल गाउँपालिका–२, क्याम्पामा बाढीले धार परिवर्तन गर्दा तटबन्ध नै भासिएको छ । 

हालसम्म ३५ जनाको मृत्यु

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता  डा. डिजन भट्टराईका अनुसार गत जेठ तेस्रो सातादेखि वर्षाका कारण हालसम्म ३५ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा तीन जना बेपत्ता रहेको र ३९ जना घाइते रहेको प्राधिकरणले जनाएको छ । हालसम्म बाढीपहिरोबाट ८२ घर पूर्ण क्षति र ६४ वटा घरमा आंशिक क्षति पुगेको छ ।

बाढीपहिरो तथा डुबानबाट क्षति भएका क्षेत्रमा तथा अन्य जिल्लामा पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी आवश्यक उपकरणसाथ तैनाथ राखिएको छ । 

गृह मन्त्रालयले बाढीपहिरो तथा डुबानबाट घरवारविहीन बनेको परिवारलाई तत्काल पुनस्र्थापना गरी १५ हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ भने मृतकका परिवारलाई दुई लाख रुपियाँ घटनास्थलमा नै पुगेर दिने गरेको छ ।