• ४ वैशाख २०८१, मङ्गलबार

नमुना विद्यालयकै नतिजा कमजोर

blog

काठमाडौँ, साउन १८ गते । सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत जोड्दा विद्यालयको औसत नतिजा २.९३ जीपीए रहेको छ । जसमध्ये सामुदायिक विद्यालयको औसत जीपीए २.३२ तथा संस्थागत विद्यालयको ३.५ रहेको छ । 

सरकारले नमुना घोषणा गरेको विद्यालयको नतिजा भने जिल्लाकै औसत नतिजाभन्दा पनि कमजोर देखिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले तयार गरेको विवरणले यस्तो देखाएको हो । नमुना विद्यालयकै कमजोर नतिजा देखिएपछि एकाइले समेत यी विद्यालयमा सरकारी लगानीअनुसारको उपलब्धि हासिल हुन नसकेको विश्लेषण गरेको छ । 

सरकारले घोषणा गरेको नमुना विद्यालयमध्ये काठमाडौँमा मात्रै नौवटा छन् तर ती सबै विद्यालयका एसईईको औसत नतिजा जिल्लाभरको औसतभन्दा कमजोर छ । नमुना विद्यालयमध्ये कालीदेवी माध्यमिक विद्यालय काभ्रेस्थलीको औसत नतिजा सबैभन्दा उच्च अर्थात् २.९१ रहेको छ । 

त्यस्तै कीर्तिपुरस्थित मङ्गल माध्यमिक विद्यालयको औसत नतिजा २.८१ जीपीए रहेको छ । नमुना विद्यालय नै घोषणा भएको विश्व निकेतन माध्यमिक विद्यालय र कङ्काली माध्यमिक विद्यालयको नतिजा २.७९ रहेको छ तर विश्व निकेतन माध्यमिक विद्यालयबाट एसईईमा सहभागी विद्यार्थी सङ्ख्या सबैभन्दा धेरै अर्थात् २.३२ रहेको छ । नमुनामध्येकै कीर्तिपुरको जनसेवा, भगवतीबारीको शान्ति निकुञ्ज, जोरपाटीको चामुण्डा र धापासीको तिलिङ्गाटार माध्यमिक विद्यालयको औसत नतिजा क्रमशः २.६१, २.४९, २.४१ र २.३० जीपीए रहेको छ । त्यस्तै भद्रबासको आदर्श माध्यमिक विद्यालयको औसत नतिजा पनि २.२३ जीपीए छ । 

शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेलले यी विद्यालयको औसत उपलब्धि जिल्लाकै औसत उपलब्धिको तुलनामा निकै कम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नमुना प्रस्तावित विद्यालयको पूर्वाधारमा व्यापक सुधार भए पनि उपलब्धिमा त्यसको प्रभाव 

देखिएको छैन । आउने दिनमा पूर्वाधार विकासका साथै उपलब्धि सुधारमा पनि धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।”

२०७८ को एसईई परीक्षामा काठमाडौँका एक हजार २१ विद्यालयबाट ३६ हजार ५७८ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये आठवटा विद्यालयका १० जना विद्यार्थीले चार जीपीए ल्याएका थिए । यी सबै संस्थागत विद्यालयका विद्यार्थी हुन् । 

परीक्षा नियन्त्रण कार्यालय आफैँले परीक्षा सञ्चालन गरेको २०७५ सालको नतिजामा भने काठमाडौँबाट ४० विद्यालयका ५२ जना विद्यार्थीले चार जीपीए ल्याएको एकाइले जनाएको छ । २०७५ को एसईईमा भने जिल्लाको औसत जीपीए ३.१२ थियो । २०७८ सालको एसईई परीक्षाको नतिजा गत बुधबार सार्वजनिक भएको थियो । 

   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।