जुर्मुराउने सुर कस्दै ऐतिहासिक टक्सार बजार

अर्जुन बस्नेत

भोजपुर, फागुन १ गते । पूर्वी पहाडी जिल्ला भोजपुरको ऐतिहासिक थलो टक्सार बजारमा शनिबारदेखि द्वैशतवार्षिकी महोत्सव सुरु हुँदैछ ।  वि.सं. १८७२ मा राजा गीर्वाणयुद्धविक्रम शाहको पालामा स्थानीय भीमसेनस्थान परिसरमा टक्सार खानी अड्डा स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो । तीव्र बसाइँसराइका कारण सुनसान बन्दै गएको टक्सार बजारको स्थिति सुधार गर्न फागुन १ देखि ७ गते सम्म महोत्सव आयोजना गर्न लागिएको हो ।
टक्सारमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्बद्र्धन, टक्सारको इतिहासको प्रचारप्रसार, पर्यटकीय स्थलहरूको विकास, लोप हुन लागेको धातु व्यवसाय पुनः सञ्चालन तथा स्थानीय हस्तकलाको विकासमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका अध्यक्ष गणेश वज्राचार्यले  जानकारी दिनुभयो ।  taksar
महोत्वसमा ऐतिहासिक डोलीपैसाका साथै सात फुट अग्लो र करिब चार सय केजीका दुईवटा करुवाको स्मारक अनावरणसमेत गरिने वज्राचार्यले  जानकारी दिनुभयो । महोत्सव आयोजना गर्न करिब ५० लाख रुपियाँ लाग्ने टक्सार महोत्सवका प्रचारप्रसार संयोजक रमेश शाक्यले बताउनुभयो । टक्सारवासीबाट महोत्सवका लागि सहयोग आइरहे पनि सरकारी सहयोग प्राप्त नभएको शाक्यको भनाइ छ । अहिले मूल समिति र उपसमितिहरू बनाएर प्रचारप्रसार र सहयोग सङ्कलनको काम भएको उहाँले जानकारी दिनुभयो । साहित्यकार तथा सामाजिक अगुवा श्याम तमोटले महोत्सव सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ ।
टक्सारमा विभिन्न देवीदेवताका मठमन्दिर, नेपालकै पुरानो बौद्ध विहार, तीनधारालगायतका धार्मिक तथा सांस्कृतिक सम्पदा छन् । भोजपुरको टक्सार गाविस कुनै समय देशलाई आवश्यक डोलीपैसा बनाउने ठाउँले चर्चित थियो । अहिले यो ठाउँ सुनसान बन्दै गएको छ । महोत्सवपछि सुनसान टक्सार बजारमा चहलपहल बढ्ने आयोजकको दाबी छ ।
तत्कालीन नेपाल सरकारले वि.सं. १८७० देखि भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र इलामसहितका पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन गर्न थालेपछि टक्सारमा अड्डासमेत स्थापना गरेको थियो । अड्डा स्थापनापछि पाटनबाट ल्याइएका कालीगढले फलाम र तामाका डोलीपैसा बनाउँथे ।
टक्सारमा टक छाप्ने पेसा शाक्य वंशले गर्दै आएका थिए । त्यस बेला एक तोला र दुई तोला तौलका डोली टक पैसा राणा शासनमा प्रचलित रहेको टक्सार–४ का टेकबहादुर थापाले बताउनुभयो । डोली टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयवासी बताउँछन् । किरातकालीन खिकामाछा थुमका राजा खिकाहाङको पालामा पाटनबाट आएका शाक्य वंशले टक्सारमा मूर्तिकला र हस्तकला उद्योग खोलेका थिए । पाटनबाट टक्सार आएका नेवार जातिले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति पनि सँगै ल्याए ।
टक्सारमा थेरवादी पहिलो बौद्ध गुम्बासमेत रहेको छ । राणाहरूले टक्सारबाट डोलीपैसा चलाएका बेला मठमन्दिर, गुम्बा, चैत्य, बौद्धविहार, धारा, पाटीपौवा, हस्तकला र मूर्तिहरू बनाइएको स्थानीय बूढापाका बताउँछन् । तर अहिले ती सम्पदा संरक्षण नहुँदा जीर्ण छन् । त्यसो त राणा शासनकालमा टक्सार ताप्लेजुङको ओलाङचुङ्गोलाबाहेकको तिब्बतको व्यापारिक केन्द्र डिगर्चा जाने मुख्य बाटोसमेत थियो ।
टक्सारमा बनेका हस्तकलाका सामग्री चीनको तिब्बत, भारतको दार्जिलिङ, आसाम, सिलगढी र कलकत्तासम्म निर्यात गरिन्थ्यो । पञ्चायतकालसम्म टक्सारमा रहेका क्षेत्रीयस्तरका विभिन्न सरकारी कार्यालय तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुटा सारेपछि यहाँको व्यवसाय ओरालो लागेको टक्सारस्थित यशोधरा उच्च माविका प्रधानाध्यापक किशोर ताम्राकार बताउनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना