• १६ चैत २०८०, शुक्रबार

‘पत्यायन विधेयकले निरीक्षण, परीक्षण र प्रमाणिकरण कार्यलाई व्यवस्थित गर्छ’

blog

काठमाडौं, साउन १७ गते। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले प्रत्यायन विधेयक, २०७८ निरीक्षण, परीक्षण र प्रमाणीकरण गर्ने कार्यलाई प्रभावकारी र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको बताउनुभएको छ। 

मंगलवार प्रतिनिधि सभाको बैठकमा सांसदले विधेयक सम्बन्धी उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री बडूले मुलुकमा समरुपता परीक्षण, निरीक्षण, प्रमाणिकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्न यो विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुको पहुँच सुनिश्चित गराउने विषयमा पनि यो विधेयक महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो। 

मन्त्री बडूले नेपालबाट विश्व बजारमा जाने उत्पादनको विश्वसनीयता यो विधेयकका कारण बढ्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापारमा नेपालका वस्तुको पहुँच पनि सहजतापूर्वक हुने प्रतिवद्धता जनाउनुभयो।

उहाँले भन्नुभयो, ‘यो प्रस्ताव निरीक्षण, परीक्षण गर्ने, प्रमाणित गर्ने कार्यलाई प्रावकारी र व्यवस्थित गर्ने उद्देश्यले यो विधेयक ल्याइएको हो। मुलुकमा समरुपता परीक्षण, निरीक्षण, प्रमाणिकरणलाई प्रत्यायनको माध्यमबाट अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्नलाई, अन्तर्राष्ट्रिय बजारमा आफ्ना वस्तुको पहुँच सुनिश्चित गराउने विषय हो। हामीले एग्रिडिटेशन गरिसकेपछिका वस्तुको मात्र अन्तर्राष्ट्रिय बजारमा विश्वसनीयता बढ्छ र यसलाई सहजै स्वीकार्य हुनसक्छ। यसले विश्व बजारमा जाने उत्पादन र त्यसको विश्वसनीयता पनि बढाउँछ। अन्तर्राष्ट्रिय व्यापारमा हाम्रो मुलुकको वस्तुको पहुँच पनि सहजतापूर्वक होस् भनेर नै यो ल्याइएको हो।’

प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।