• ७ वैशाख २०८१, शुक्रबार

आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादनमा वृद्धि हुनुपर्छ : अर्थमन्त्री शर्मा

blog

मंगलबार काठमाडौंमा आयोजित ६९ औं भीमदन्त पन्त स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी अर्थमन्त्री जनार्दन शर्मालगायत ।

काठमाडौं, साउन १७ गते। अर्थमन्त्री जनार्दन शर्माले आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादन वृद्धि हुनुपर्ने बताउनुभएको छ। मंगलबार काठमाडौंमा आयोजित ३० औं किसान तथा ६९ औं भीमदन्त पन्त स्मृति दिवसको कार्यक्रममा उहाँले कृषिमा आधारित उद्योगको विकासमा जोड दिनुभएको हो। 

अर्थमन्त्री शर्माले भन्नुभयो, “औद्योगिक विकासमार्फत आयात प्रतिस्थापन गर्नुपर्छ। अहिलेको राष्ट्रियता नै सबल अर्थतन्त्र हो। तरकारी आयात गर्नुपरेको छ, जब कि हामीले निर्यात गर्नुपर्थ्यो। कृषिमा आधारित उद्योग विकास गर्नुपर्छ।”

उहाँले भीमदत्त पन्तले दमनकारी सत्ताविरुद्ध जनताको पक्षमा लड्ने काम गरेको तर तात्कालीन सरकारले पन्तलाई क्रुर हत्या गरेपछि नेपाली राजनीतिमा अर्को प्रवृत्ति सुरु भएको बताउनुभयो। 

पन्तको सपना अनुसार भूमिसुधारको काम अझै हुन नसकेको र समानता, स्वतन्त्रता, जातीय विभेदको अन्त्य हुनुपर्ने भन्नुहुदै उहाँले संविधानमा उल्लेख भएका अधिकार व्यवहारिक जीवनमा कार्यान्वयन हुनुपर्ने उल्लेख गर्नुभयो। 

आम उत्पीडित, आदिवासी जनजाति, मधेसी लगायतका वर्गको आर्थिक वृद्धि एवम् समृद्धिका लागि जमिन र श्रमको एकीकृत परिचालन हुनपर्ने उहाँले बताउनुभयो। यी सबै कुरालाई वर्तमान सरकारले बजेटमा उठाउने प्रयत्न गरिएको उहाँको भनाइ छ। परिवर्तनको कुरा सापेक्षित रुपले अघि बढ्ने भन्नुहुँदै मन्त्री शर्माले भूमिहीनलाई जमिन उपलब्ध गराउनुपर्ने, श्रमिकको दक्षता वृद्धि हुनुपर्ने बताउनुभयो। 

“राष्ट्र निर्माणमा गोलबद्ध हुन देशको अर्थतन्त्रलाई सबलीकरण गर्न सकिन्छ, त्यो उपलब्धतालाई प्रयोग गर्ने कुरा हो। किसान संघका आदरणीय नेतालाई म खेतबारीमा युवा किसानलाई काममा आउन आह्वान गर्न अनुरोध गर्छु। त्यसलाई प्रेरित गर्ने गरी बजेट अहिलेको सरकारले ल्याएको छ”, उहाँले बताउनुभयो।