• ७ वैशाख २०८१, शुक्रबार

वर्षापछि गैंडाकोटका केही क्षेत्र डुबानमा

blog

गैंडाकोटमा डुमानमा परेको जनक मावि ।

मीना कंडेल

कावासोती, साउन १७ गते । अविरल वर्षापछि पूर्वी नवलपरासी गैंडाकोटका केही क्षेत्र डुबानमा परेका छन् । गैंडाकोट वडा नम्बर २ र ४ का केही क्षेत्र डुबानमा पर्न थालेका छन्। 

गैंडाकोटमा भलको दीर्घकालीन निकास नहुँदा बस्ती क्षेत्र सधैँ डुबानमा पर्ने गरेको छ । पानी पर्नासाथ विशेष गरेर गैंडाकोट ४ का बासिन्दालाई समस्या बनाएको छ । 

गत वर्ष गैँडाकोट नगरपालिकाले केही नाला तथा पानी बहावको लागि कुलो निर्माण गरेको थियो । पानीको बहाव नरोकिएकाले समस्या भएकोे गैंडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले बताउनुभयो । 

पानी पर्ने बित्तिकै रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ । गैंडाकोट २ र ४ का बस्तीभित्र भल पसेको छ भने पानी थुनिएर हिँडडुल गर्न समस्या सिर्जना भएको छ । नमुना बोर्डिङ स्कुलदेखि जनक माविबाट भित्र झपर्दी बस्ती, कालिगण्डकी चोक, वडा नम्बर ४ तर्फको मुख्य राजमार्ग छेउका डुबानको समस्या बढी देखिन्छ । 

जनक नमुना माविको भुइँतला पुरा डुबानमा परेको छ । कक्षा कोठामा रहेका कम्प्युटर, महत्त्वपूर्ण कागजात डुबानमा परेको छ । केही सामग्री निकालिएका छन् । अर्को सूचना जारी नभएसम्मका लागि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चूडामणि शर्मा कँडेलले बताउनुभयो।