• ७ वैशाख २०८१, शुक्रबार

म्याग्दी पहिरो अपडेट

पहिरोमा परी एकै परिवारका पाँच जनाको मृत्यु

blog

ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन १७ गते ।
म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा गएको पहिरोमा परी बेपत्ता भएका तीनजनाको शव फेला परेको छ ।

मङ्गलबार बिहान ३ बजे घरमाथिको पाखोबाट पहिरो खसेर घर परिँदा बेपत्ता भएका एकै परिवारका तीनजनाको शव फेला परेको हो । स्थानीयले यसअघि दुईजनाको शव भेटाएका थिए ।

पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा उहाँका दुई छोरा १३ वर्षीय राजन विक र १५ वर्षीय नविन विकको शव पहिरोले परिएको अवस्थामा स्थानीयले बिहान निकालेका थिए ।

पहिरो स्थलमा पुगेको प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको टोलीले बेपत्ता भएका घामबहादुर, उहाँकी श्रीमती राममाया विक र सात वर्षीया छोरी रोजी विकको शव पहिरोले पुरिएको अवस्थामा मङ्गलबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार पहिरोले घर पुरिएको खबर पाउनसाथ गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजासहित दरबाङ इलाका प्रहरी कार्यालयबाट खटिएको टोली घटनास्थलमा पुगेका थिए ।

उहाँका अनुसार पहिरोले दुई घर र एउटा गोठ पूर्णरुपमा बगाएको छ । पहिरोमा परेर घाइते भएका दुईजनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

पहिरोले स्थानीय गोठे विक र घामबहादुर विकको घर पुरिएको हो । गोठे विक र उहाँकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

घरदेखि करिब एक सय मिटरमाथिबाट पहिरो खसेर दुई घर बगाएको वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो ।

घटनास्थल पुग्न मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट तीन घण्टाको पैदल हिड्नुपर्दछ । वर्षातका कारण ग्रामिण सडक अवरुद्ध हुँदा समयमै प्रहरी टोली पुग्न कठिनाइ भएको प्रहरीले जनाएको छ । वर्षा अझै जारी रहेकाले उद्धारमा कठिनाइ भएको छ ।