• १३ वैशाख २०८१, बिहिबार

कानुन निर्माणले लियो गति

blog

काठमाडौँ, साउन १७ गते । लामो समयदेखि अवरुद्ध विधायिकी प्रक्रियालाई सङ्घीय संसद्को चालू बजेट अधिवेशनले गति दिएको छ। सामान्यतः बजेट अधिवेशनमा विधेयक प्राथमिकतामा नपर्ने भए पनि यस पटक सङ्घीय संसद्का दुवै सदनबाट १९ वटा विधेयक पारित भइसकेका छन् भने अन्य केही पारितको चरणमा छन्। 

सङ्घीय संसद्को चालू अधिवेशन प्रारम्भ हुँदा ५५ विधेयक विचाराधीन थिए। अधिवेशन प्रारम्भ भएपछि सरकारले अध्यादेश प्रतिस्थापन विधेयक पनि ल्याएको थियो। यौनजन्य हिंसा तथा संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि यस अवधिमा ल्याइएका थिए। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग विधेयक पनि दर्ता भएको छ। तर संवैधानिक परिषद् र बेपत्तासम्बन्धी विधेयकको प्रक्रिया अघि बढाइको छैन। 

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले विवाद नभएका विधेयकलाई चालू अधिवेशनमा अगाडि बढाइएको बताउनुभयो। उहाँले भन्नुभयो, “लामो समय विधायिकी कार्य अगाडि बढ्न सकेन। बजेट अधिवेशनमा हामीले विचाराधीन विधेयकमध्ये केहीलाई टुङ्गो लगाएका छौँ। विवाद नभएका विधेयक अगाडि बढाउने समझदारी छ। ती विधेयक अगाडि बढ्छन्।” 

चालू अधिवेशनबाट बजेटसँग सम्बन्धितसमेत १९ विधेयक पारित भएका हुन्। जसमध्ये पाँच विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका छन्। अन्य विधेयक प्रतिनिधि सभामा उत्पत्ति भएका हुन्। 

चालू अधिवेशनबाट पारित भएका १३ विधेयक राष्ट्रपतिबाट एकैपटक प्रमाणीकरणसमेत भइसकेका छन्। जसमा अर्थ विधेयकसहित लोकसेवा आयोगसम्बन्धी विधेयक, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनसम्बन्धी विधेयक, यौन हिंसाविरुद्धका केही नेपाल ऐन संशोधन विधेयक प्रमाणीकरण भइसकेका छन्। 

यस्तै फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐनलाई संशोधन गर्न बनेको विधेयक, सामाजिक सुरक्षा विधेयक, औषधि ऐन संशोधन विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन संशोधन विधेयक र रेल्वेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण भइसकेका छन्। यस्तै दुवै सदनबाट पारित भइसकेको ज्येष्ठ नागरिकसम्बन्धी विधेयक, नागरिकता ऐन संशोधन विधेयक, इन्जिनियरिङ परिषद्सम्बन्धी विधेक, मदन भण्डारी प्रविधि विश्वविद्यालय गठनसम्बन्धी विधेयक प्रमाणीकरणको चरणमा छन्।