• ६ वैशाख २०८१, बिहिबार

युगकवि सिद्धिचरण बहुभाषिक स्रष्टा

blog

काठमाडौँ, साउन १७ गते  । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको प्राज्ञिक गरिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु-याउन युगकवि सिद्धिचरण श्रेष्ठलगायत विशिष्ट स्रष्टाको भूमिका महत्त्वपूर्ण  रहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘बहुभाषिक स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठ’ विषयक विचार गोष्ठी तथा रचना वाचन कार्यक्रममा कुलपति उप्रेतीले प्रगतिशील रूपान्तरणका लागि समानताका पक्षमा युगकवि श्रेष्ठले कलम चलाउनुभएको चर्चा गर्नुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले युगकवि सिद्धिचरणको ‘मेरो प्यारो ओखलढुङ्गा’ रचनाको चर्चा गर्दै स्रष्टा र सजर्कले सयौँ रचना सिर्जना गरे पनि एउटै सिर्जनाले स्थापित र लोकप्रिय बनाउने बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव तथा दर्शनशास्त्र विभाग प्रमुख जगतप्रसाद उपाध्यायले सचेततापूर्वक दायित्वबोध गरेर कविता लेख्ने कविका रूपमा युगकवि श्रेष्ठको चर्चा गर्नुभयो ।

सदस्यसचिव उपाध्यायले नेपाली समाज र राजनीतिलाई बुझेर समाजको रूपान्तरण चाहने स्रष्टा भएकाले नै सिद्धिचरण श्रेष्ठ युगकविका रूपमा नेपाली साहित्यमा स्थापित हुनुभएको बताउनुभयो । 

प्रतिष्ठानका पूर्वकुलपति एवं युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाले युगकवि सिद्धिचरण बहुभाषिक स्रष्टासमेत भएको नयाँ जानकारी नेपाली साहित्यले प्राप्त गरेको चर्चा गर्दै यस विषयमा थप खोज र अध्ययन हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा डा. फडिन्द्रराज निरौलाले ‘बहुभाषिक स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठ’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा डा. फडिन्द्रराज निरौलाले सम्पादन गर्नुभएको ‘युगकवि सिद्धिचरणका बालकविता’ सार्वजनिक गरिएको थियो ।