• १४ वैशाख २०८१, शुक्रबार

कञ्चनमा पुल बन्दै

blog

बुटवल समाचारदाता

बुटवल, साउन १७ गते ।  रुपन्देहीको सैनामैना नगरपालिका–११ को बिचौवापुर र कञ्चन गाउँपालिका–१ को बीचमा पर्ने कञ्चन नदीमा पुल बन्ने भएको छ। 

सो पुलको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो। पुल निर्माण भएपछि सैनामैना नगरपालिकाको दक्षिण क्षेत्र र कञ्चन गाउँपालिकाको दानापुर क्षेत्रबीच भावनात्मक सम्बन्ध अझै प्रगाढ हुने विश्वास गरिएको छ। 

सभापति भरतकुमार शाहले विकास भनेको नियमित चलिरहने प्रक्रिया हो भन्दै कञ्चन गाउँपालिकामा मात्रै एक वर्षको बीचमा आधा दर्जन पुल निर्माण सम्पन्न भएको र अझै आधा दर्जन पुल निर्माणका क्रममा रहेको बताउनुभयो।

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाको दक्षिणपश्चिम क्षेत्र र कञ्चनको दानापुर क्षेत्र पुल निर्माणपछि नजिक हुने र यस क्षेत्रका हजारौँ यात्रुलाई आवागमन गर्न सहज हुने बताउनुभयो। कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले स्थानीय तहको निर्वाचनका बेला जनतासामु गरेको प्रतिबद्धता पूरा गर्न योजनाका साथ काम गरिरहेको जानकारी दिँदै कञ्चनका सुकुम्वासी समस्या समाधान गर्न पुर्जा वितरणको तयारी भइरहेकोसमेत बताउनुभयो। 

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले ‘प्री–स्टे«स’ प्रविधिमा पुल निर्माण हुन लागेको जानकारी दिँदै आठ करोड रुपियाँ लगानीमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको स्पष्ट पार्नुभयो। 

एक वर्ष ६ महिनामा पुल निर्माण हुने बताइएको छ। डाइनामिक कन्स्ट्रक्सन प्रालि भरतपुर चितवनले पुल निर्माणको ठेक्का पाएको छ भने पुलको लम्बाइ ४१ दशमलव २० मिटर र चौडाइ ११ मिटर रहेको छ।