• १६ चैत २०८०, शुक्रबार

सडकले थुपारेको माटोले लिँदै छ ज्यान

blog

शिवराज ढुङ्गाना

अछाम, साउन १७ गते  । कर्णाली नदी छेउमा रोपाइँको काम सकेर साउन ८ गते लेकको घर फर्केकै राति तुर्माखाँद गाउँपालिका–२, भुलुमा तीन जनाले ज्यान गुमाए । घर माथिबाट आएको पहिरोले पुरेर एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । यो पहिरोको कारण थियो, जथाभावी खनिएको सडक । 

यही दिन आउला भनेर त्यहिबेला घरमाथिबाट जथाभावी सडक नखन्न उज्ज्वलसिंह विष्टले धेरै अनुरोध गर्नुभएको थियो । पहिरोमा श्रीमती गुमाउनुभएका विष्टले निकै पछुतो मान्दै भन्नुभयो, “त्यता रोड नल्याइदिनुस्, हाम्रो घर पुरिएला भनेर पहिला नै भनेका हौँ । गरिब हुन् भनेर हामीलाई हेपे, अहिले यस्तो अवस्था भयो ।” 

मृतकका आफन्त स्थानीय तुलसी विष्टले गुनासो गर्नुभयो, “रोडको छेउतिर ढालेर राखेको चिउराको रुख हटाइ दिनुस् भनेर हामीले पटक पटक भन्यौँ तर कसैले सुनेनन् । अहिले मान्छेको ज्यान गयो ।” सडक काट्ने (खन्ने) ले घर माथिको माटो मिलाएर रुखको व्यवस्थापन गरिदिएको भए पहिरो जाने अवस्था नआउने स्थानीयको भनाइ छ । नयाँ सडकको कारण पहिरो गएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले बताउनुभयो ।

जेठको अन्तिम सातातिर खनिएको सडक भासिँदा रुखसहितको पहिरो सुरु भएर घरसम्म आइपुगेको थियो । तुर्माखाँद–भैरवस्थान– भुलु–रहफ सडक खण्डको विष्ट टोलको सडकबाट आएको पहिरोले ४२ वर्षीया हरिकला विष्ट, २५ वर्षीय वीरेन्द्र विष्ट र १५ वर्षीय संविधान विष्टले ज्यान गुमाएका थिए । ठेक्कामार्फत खनिएको उक्त सडक वातावरणीय प्रभाव अध्ययन नै नभएको पाइएको छ । पहिरो गएको ठाउँकै अगाडि भागबाट सडक भासिन थालेको र अर्को घरसमेत पुरिने सम्भावना रहेको स्थानीय तुलसी विष्टको भनाइ छ । 

उहाँका अनुसार सडककै कारण भुलुको निङगाल खानेपानीसमेत बगेको छ । अहिले आकाशे पानीको भरमा रहेका भुलुवासीले वर्षा सकिएपछि खानेपानी अभाव भोग्नुपर्ने अवस्था छ ।

तुर्माखाँद गाउँपालिकाका प्राविधिले सडक छेउमा थुपारिएको माटो र रुखलाई व्यवस्थापन गर्न स्थानीयले नदिएको बताउनुभयो । यद्यपि थुपारिएको माटो र रुखको व्यवस्थापनको सूचना गाउँपालिकासम्म नआएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बुढाले बताउनुभयो ।

ग्रामीण भेगमा जथाभावी खनिएका सडकले अव्यवस्थित रूपमा फालेका माटो नै वर्षाका बेला पहिरोको मूल स्रोत बन्ने गरेको स्थानीयको भनाइ छ । सडक खन्दा कटान गरिएका भीरपाखा वर्षामा बग्दा त्यसले खेतीयोग्य जमिन पुर्नुका साथै घरबस्ती र मानवीय क्षतिसमेत गरिरहेको बताइन्छ ।