• ६ चैत २०८०, मङ्गलबार

सप्तकोसीले उदयपुर र सुनसरीमा कटान

blog

सुनसरी समाचारदाता

इटहरी, साउन १७ गते । पूर्वीपहाडी जिल्लामा परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा आएको बाढीले उदयपुर र सुनसरी जिल्लाका नदी तटीय क्षेत्रमा तीव्र रूपमा कटान गरेको छ। उदयपुर जिल्लाको बेलका नगरपालिका–८, डुम्रीबोटे र सुनसरीको वराहक्षेत्र नगरपालिकाअन्तर्गत पर्ने श्रीलङ्काटापु क्षेत्रमा बाढीले कटान गरेको हो । 

कटान तीव्र हुन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी कटान नियन्त्रणका लागि परिचालित भएका छन् भने स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। सप्तकोसीमा आएको बाढीले पछिल्लो एक हप्तादेखि दुई जिल्लाको तटीयक्षेत्र कटान गरिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो। उदयपुरतर्फ हालसम्म ४०–५० बिघा जमिन कोसीले कटान गरिसकेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईको भनाइ छ। 

हाल कोसी कटान नियन्त्रणका लागि काम भइरहे पनि प्रभावकारी र दिगो भने हुनसकेको छैन। सयौँको सङ्ख्यामा स्थानीय बासिन्दाका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारत सरकारअन्तर्गतको कोसी प्रोजेक्टको तर्फबाट कटान नियन्त्रण गर्ने प्रयास भइरहेको प्रजिअ यादवले बताउनुभयो। यस क्रममा बोरामा गेग्य्रान भरेर लगाउने, प्रोकोपाइन निर्माण गर्ने र गिट्टी लगाएर कटान नियन्त्रणको कार्य भइरहेको छ। 

उदयपुरको डुम्रीबोटेमा कटान सुरु भएपछि बेलका, चौदण्डी, सप्तरीको सप्तकोसी, कञ्चनरूपलगायत सुनसरीको वराहक्षेत्र नगरपालिका–६ र ९ मा पर्ने श्रीलङ्का टापुसमेत जोखिममा परेको बताइएको छ। नदीमा निरन्तर आएको बाढीले पश्चिमतर्फको भू–भाग कटान गर्दा वराहक्षेत्रअन्तर्गत पर्ने श्रीलङ्का टापुका करिब पाँच सय घरपरिवार बाढीको उच्च जोखिममा परेको सप्तकोसी बाढी कटान तथा डुबान सङ्घर्ष समितिका सचिव बाबुराम कार्कीले जानकारी दिनुभयो।  

डुम्रीबोटे तथा श्रीलङ्का टापुक्षेत्रमा भइरहेको कटानको स्थलगत निरीक्षण गर्न पुग्नुभएका बराहक्षेत्रका नगरप्रमुख रमेश कार्की कोसी कटान नियन्त्रण गर्न तत्काल दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो। कटान नियन्त्रणका लागि वराहक्षेत्र नगरपालिकाले प्रदेश सरकार, सङ्घीय सरकार र भारत सरकारसँग समन्वय र पहल गर्ने बताउनुभयो।