• ६ चैत २०८०, मङ्गलबार

गौतमश्री सहकारीका सञ्चालक बेपत्ता

blog

भेषराज बेल्बासे

काठमाडौँ, साउन १७ गते । काठमाडौँको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन भएका छन् । 

२५ हजार सदस्य रहेको संस्थाका सञ्चालक तथा व्यवस्थापक सम्पर्कविहीन भएपछि पीडित सदस्य आइतबार बिहानै सहकारी विभाग पुगेका थिए । सो संस्थाका २५० भन्दा बढी सदस्यले आफ्नो निक्षेप फिर्ता गर्न माग गर्दै सञ्चालक र व्यवस्थापकविरुद्ध विभागमा उजुरी दिएका छन् । विभागले सहकारीका सञ्चालक तथा व्यवस्थापकका खाता रोक्का राख्न राष्ट्र बैङ्कमार्फत बैङ्क तथा वित्तीय संस्थालाई अनुरोध पठाइसकेको छ ।

विभागले कुलेश्वरस्थित सहकारीको कार्यालय, सेवा केन्द्र, डिपार्टमेन्टल स्टोर्स तथा गोदाममा सिलबन्दी गरेको छ । विभागले सो संस्थाका सञ्चालक र व्यवस्थापकलाई विभागमा उपस्थित गराउन नेपाल प्रहरीलाई गुहारेको छ । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका जिम्मेवार सञ्चालक तथा व्यवस्थापक विभागको सम्पर्कमा नआएको विभागका उपरजिस्ट्रार उपाध्यायले बताउनुभयो ।

सो संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र विष्टलगायत अन्य सञ्चालक तथा कर्मचारी पनि फरार रहेको संस्थाका सदस्यले बताएका छन् । उपरजिस्ट्रार उपाध्यायले उजुरी दिने क्रम बढ्दै गएकाले ठगिएको रकम र सङ्ख्याबारे यकिन गर्न केही दिन लाग्ने बताउनुभयो ।

कार्यालयमा सिल

सञ्चालक सम्पर्कविहीन भएपछि सहकारी रहेको भवनमा अहिले एभरेस्ट बैङ्कले सिल गरेको छ । अध्यक्ष गौतमको निजी व्यवसाय तथा भवनमा पनि बैङ्कको लगानी छ । व्यवसायको गोदाम तथा कार्यालय रहेका कारण भवन सिल गरेको एभरेस्ट बैङ्कले सूचना टाँस गरेको छ । 

सहकारी विभागले कानुनअनुसार प्रक्रिया अगाडि बढाउने बताउँदै उपरजिस्ट्रार उपाध्याय प्रहरीको सहयोग लिएर सञ्चालक, व्यवस्थापकलाई झिकाएर छलफल गर्ने, के कति कारणले फिर्ता नगरेको सोध्नुका साथै उजुरीका आधारमा कारबाहीका लागि सिफारिस गर्ने जानकारी दिनुभयो ।

संस्थाका सञ्चालक तथा व्यवस्थापक विभागको सम्पर्कमा आएको खण्डमा छलफलबाट समस्याको जड पत्ता लगाउने तथा उनीहरू सम्पर्कमा नआए समस्याग्रस्तमा लैजाने उहाँको भनाइ छ । अरू सदस्य सक्रिय भएर आएमा सहकारी सञ्चालन हुन सक्ने भन्दै उहाँले त्यसो नभएमा समस्याग्रस्त घोषित गर्नका लागि मन्त्रालयमा पठाउने बताउनुभयो ।

पीडित बचतकर्ताका उजुरी, निवेदनका आधारमा छलफल गराई थप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने विभागका उपरजिस्ट्रार उपाध्यायले बताउनुभयो । 

समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दो

अर्बौं रुपियाँ लगानी भएका सहकारी संस्थामा सदस्यको चासो नरहने र एकाध सञ्चालकको मनोमानी र महत्त्वाकाङ्क्षाका कारण एकपछि अर्को सहकारी संस्था समस्यामा पर्ने गरेको विभागका उपरजिस्ट्रार उपाध्यायले बताउनुभयो । 

कार्यक्षेत्रबाहिर कारोबार गर्ने, घरजग्गा तथा हाउजिङमा लगानी गर्नेजस्ता गतिविधिले सहकारी समस्यामा पर्ने गरेको विभागको भनाइ छ ।

सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायका अनुसार गत आर्थिक वर्ष सहकारी संस्थाविरुद्ध तीन सयभन्दा बढी उजुरी परेको जानकारी दिनुभयो । सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालसम्म १२ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ भने गौतमश्री सहकारी संस्थासमेत गरी १३ वटा पुग्ने भएका छन् ।