कोइरालाको अन्तिम वाणी

Narad GAutamनारद गौतम

शान्त र समृद्ध नेपाल बनाउने सपना बोक्नुभएका सुशील कोइरालाले अन्तिमपटक आफ्ना निजी सहयोगीका रूपमा कार्यरत कृष्ण अर्याल र निजी चिकित्सक डा. करबीर योगीसँग संवाद गर्नुभएको थियो । उहाँको अन्तिम वाणी ‘मैले बुझिसकेँ’ भन्ने थियो । उहाँलाई अलिक बढी चापेपछि निजी चिकित्सक डा. योगीलाई बोलाइएको थियो । उहाँको पल्स (नाडीको चाल) कम हुँदै गएपछि उपचारका सम्बन्धमा कुरा हुँदा उहाँले त्यसो भन्नुभएको थियो । अन्तिम समयसम्म पनि उहाँलाई अक्सिजन र नेवुलाइजर दिइएको थियो ।
कोइरालाका प्रेस संयोजक प्रकाश आधिकारीका अनुसार, उहाँमा पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो । निजी चिकित्सक र आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकहरूले सेवा पु¥याउँदै आउनुभएको थियो । दमको समेत प्रभाव देखिएकाले कोइरालाले केही दिन अगाडिदेखि आवश्यकताअनुसार नेवुलाईजर र अक्सिजन लिने गर्नुभएको थियो । उहाँमा केही दिनयता निद्रा पनि कम हुँदै गएको थियो । यस्तो बेलामा टेलिभिजनमा देश विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसँग चिन्ता व्यक्त गर्नुहुन्थ्यो ।
संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गर्नुभएका सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका प्रधानमन्त्री कोइरालाले आफ्नो वचनबद्धता अनुरूप संविधानसभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गर्नुभएको थियो । उहाँ २०७० माघ २७ गते देशको प्रधानमन्त्री बन्नुभएको थियो र उहाँको पार्थिव शरीरलाई माघ २७ कै दिन आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिनेछ । विद्युतीय शवदाहमा अन्त्येष्टि गरिने उहाँ पहिलो विशिष्ट व्यक्तित्व हुनुहुन्छ ।
घरबारविहीन नेता
नेपाली राजनीतिमा एक सरल र सादा जीवनका पर्यायकारूपमै नेतृत्व तहमा पुग्नुभएका कोइराला विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । गान्धीवादी आदर्शसमेतबाट प्रेरित कोइराला अविवाहित हुनुहुन्थ्यो । आफ्नो निजी घरसमेत नभएका कोइराला काठमाडौँमा बी.पी. पुत्र डा. शशाङ्क कोइरालाको महाराजगञ्जस्थित निवासमा बस्दै आउनुभएको थियो । यसभन्दा अघि उहाँ नयाँवानेश्वरमा भान्जा रमेश भण्डारीको घरमा लामो समय बस्नुभएको थियो । उहाँको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो । विराटनगरमा जन्मेर नेपालगञ्जलाई आफ्नो कर्म थलो बनाउँदै आउनुभएका कोइराला त्यहाँ जाँदा आफ्ना कान्छा भाइ विजय कोइरालाको निवासमा बस्ने गर्नुहुन्थ्यो । केही महिनाअघि मात्र उहाँका अर्का भाइ डा. अरूण कोइरालाको निधन भएको थियो ।
सादा जीवन जीउने नायक
त्यागी र निष्ठावान् नेताका रूपमा स्थापित तथा सादा जीवन एवं उच्च विचारका धनी कोइराला राजनीतिमा निरन्तर सहमति, सहकार्य, मेलमिलाप र एकताका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने भन्ने मान्यता राख्नुहुन्थ्यो । सादा जीवन जीउने र सरकारी लाभको पदलाई कहिल्यै लक्ष्य नबनाउनु भएका कोइरालाको देशको सेवा नै प्रमुख लक्ष्य थियो । पटक–पटक लाभको पद त्याग्नु भएका उहाँले गणतन्त्रपछिको छैटौं प्रधानमन्त्री भएर संविधानसभाबाट नेपालको संविधान जारी गर्ने नायक पनि बन्नुभयो । उहाँको समन्वयकारी नेतृत्वले नै संविधान जारी हुन सम्भव भएको थियो ।
पूर्वप्रधानमन्त्री स्वं गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गर्नुभएका सुशीलले सहमति, सहकार्य र मेलमिलापको मार्गबाट हिँडेर मुलुकलाई नयाँ संविधान दिने प्रण पूरा गरी सरकारको नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । नेपाली राजनीतिमा अविच्छिन्न ६५ वर्ष योगदान पु¥याउनुभएका कोइरालाको निधनले नेपालको समकालीन राजनीतिको एक युगको अन्त्य भएको छ तर निष्ठाको राजनीति गर्नेहरूका लागि उहाँ प्रेरणाको स्रोत बन्नुभएको छ । उहाँ देशको प्रधानमन्त्री बनेपछि आफ्नो सम्पत्तिमा मोबाइल मात्रै भएको उल्लेख गर्नुभएको थियो र गरिब प्रधानमन्त्रीको रूपमा चर्चित हुनुभएको थियो ।
प्रजातान्त्रिक आन्दोलनका योद्धा
विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता नेतासँग निकट रही काम गर्नुभएका कोइराला ‘राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमानदारिता नै हो’ भन्ने गर्नुुहुन्थ्यो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित कोइराला काँग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै काठमाडौँमा भएको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित हुनुभएको थियो । जिब्रो, छातीको लामो समयदेखि क्यान्सर रोगबाट पीडित कोइरालाको निधन पार्टीको १३ औँ महाधिवेशनको जिल्ला अधिवेशन जारी रहँदा भएको छ । उहाँ पुनः सभापति पदमा उठ्ने चर्चा चलिरहँदा निमोनियाबाट ग्रसित हुनुभयो । पार्र्र्टीिभत्र सन्त, भद्र र निष्ठावान् नेताका रूपमा परिचित कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठनकर्ताको रूपमा परिचित हुनुहुन्थ्यो ।
समन्वयवादी नेता
संविधान निर्माण र जारी गर्ने कठिन अवस्थामा भिन्न विचार दृष्टिकोणका राष्ट्रिय राजनीतिक शक्तिहरूबीच समन्वयकारी भूमिकामात्र होइन, कोइरालाकै प्रधानमन्त्रीत्व समयमा २०७१ मङ्सिरमा काठमाडौँमा सम्पन्न १८ औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलनमा उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच सौहार्दता बढाउन खेल्नुभएको भूमिका पनि सराहनीय भयो । २०७२ वैशाखमा गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प जाँदा उहाँ देश बाहिर हुनुहुन्थ्यो । विदेश यात्रा छोटाएर स्वदेश आई सम्पूर्ण नेपाली जनता र विदेशीबाट सहयोग र सद्भाव जुटाएर उद्धार र राहत वितरण कार्यको नेतृत्व गर्नुभयो । भारत, चीन, म्यानमार, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जेम्बर्ग, इण्डोनेशियाको भ्रमण गर्नुभएको कोइरालाले प्रधानमन्त्री पदमा रहँदा भ्रमण मार्गमा यूएईको अबुधावी, थाइल्याण्डको पनि भ्रमण गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्रसङ्घको ६९ औं महासभा, अफ्रो एसियाली शिखर सम्मेलनको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजित जकार्ता र वाङडुङ सम्मेलनमा सम्बोधन गरी विश्वमा लोकतन्त्रिक व्यवस्थाका माध्यमबाट शान्ति, सद्भाव कायम गर्दै विश्वभर सुख शान्ति र समृद्धि फैलाउन आग्रह गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना