• ६ चैत २०८०, मङ्गलबार

महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको विरोध प्रदर्शन (फोटो फिचर)

blog

तस्बिर : केशव गुरुङ/गोरखापत्र अनलाइन

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १६ गते । प्रतिपक्षी दल नेकपा (एमाले) ले महँगी एवम् भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ । एमाले उपत्यकाविशेष प्रदेश कमिटी, केन्द्रीय विभागहरु, उपत्यकाका स्थानीय जनप्रतिनिधिहरु, सम्पर्क मञ्चका सदस्य र सांसदहरु सोमबार भएको प्रदर्शनमा सहभागी हुनुभएको थियो ।

सरकारले महँगी एवम् भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै प्रदर्शनकारीले मूल्यवृद्धि नियन्त्रणको माग गरेका छन् । अत्यधिक मूल्य वृद्धिले जनताको दैनिक जीवनयापनमा समेत समस्या भएको एमालेले जनाएको छ । काठमाडौंको भृकुटीमण्डप, नरदेवी, असन, भोटाहिटीलगायत विभिन्न स्थानबाट र्‍याली प्रदर्शन गर्दै प्रदर्शनकारीहरु बसन्तपुर परिसर परिक्रमा गरेका थिए ।  

र्‍याली प्रदर्शनपछि जम्मा भएको भेलामा पार्टी महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्नुभयो । बजारमा महँगी बढेपछि सर्वसाधारण नागरिकले दुःख पाएको बताउनुहुँदै मूल्यवृद्धि नियन्त्रणमा सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो । पछिल्लो समय मूल्यवृद्धिले नागरिकलाई समस्या परेको भन्दै त्यसमा ध्यान दिन उहाँले सरकारसँग आग्रह गर्नुभयो । प्रदर्शन कार्यक्रममा एमाले नेताहरु योेगेश भट्टराई, विशाल भट्टराई, लालबाबु पण्डित, शेरबहादुर तामाङसहितका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।