• ६ चैत २०८०, मङ्गलबार

विभिन्न स्थानको बाढीपहिरो र घटनाबारे गृहमन्त्री खाणको चासो

blog

काठमाडौं, साउन २६ गते । गृहमन्त्री बालकृष्ण खाणले कास्की, प्यूठान र पाल्पामा निरन्तरको वर्षापछि गएको पहिरोले पुर्‍याएको क्षतिबारे चासो व्यक्त गर्नुभएको छ ।

गृहमन्त्री खाणले पहिरोले क्षति पुर्‍याएको क्षेत्रमा तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन भइरहेका पहलबारे जानकारी लिनुभएको छ ।

गृहमन्त्री खाणले लुम्बिनी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग पहिरोबाट गएको क्षति र तत्कालका लागि राहत तथा नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउन गरिएको पहलबारे जानकारी लिनुभएको हो ।

उहाँले उद्धार र राहतमा थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि भन्नुभएको छ ।

त्यस्तै, काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत्यु भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिनुभएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसँग काभ्रेस्थलीमा एकै परिवारमा चार जना मृत फेला परेको अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले घटनाबारे अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई निर्देशन दिनुभएको छ ।

प्यूठानको जुम्रीमा तथा बुटवल–पाल्पा पर्ने सिद्धार्थ राजमार्गमा गएको पहिरो हटाएर सडक सुचारु गर्ने विषयमा उहाँले नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डीआइजी उपाध्याय र सशस्त्रका लुम्बिनी प्रदेश प्रमुख नेम्वाङसँग जानकारी लिनुभएको हो ।

प्रहरी, सशस्त्र र स्थानीयको पहलमा अहिले पहिरो हटाएर सडक सुचारु गराउने काम भइरहेको डीआइजी उपाध्यायले बताउनुभयो ।

यता कास्कीको पोखरा महानगरापालिका–१६ डिहिगोपाटनमा अवस्थित लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका–१ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको र घाइते भएकाहरूबारे प्रजिअ आचार्यसँग गृहमन्त्री खाणले जानकारी लिनुभयो ।

घर पुरिएका सन्तोषकी दिदी सुनीता सुनार घाइते हुनुभएको छ । घाइते सुनीताको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था सामान्य रहेको प्रजिअ आचार्यले बताउनुभयो ।

कास्कीमा परेको निरन्तरको वर्षाका कारण पोखरा–१३ कमलपोखरीमा घरहरू डुबानमा परेका छन् । घरहरू डुबानमा परे पनि मानवीय क्षति भएको छैन । डुबानमा परेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको कास्की प्रशासनले जनाएको छ ।