• ६ चैत २०८०, मङ्गलबार

बेनी–जोमसोम सडक खण्ड अबरुद्ध

blog

म्याग्दी, साउन १६ गते । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको विभिन्न स्थानमा पहिरो तथा खोलाको कटानले यातायात अवरुद्ध भएको छ ।

बेनी–जोमसोम सडक खण्ड अन्तर्रगतको बेनी–गलेश्वर सडकको जलेश्वर, रघुगंगा गाउँपालिका–३ गलेश्वर २ बेगखोलामा सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन ढकालका अनुसार अबिरल वर्षा पछि आएको बाढिले गर्दा गलेश्वर बेनीको जलेश्वरमा सडक बगेको छ । त्यस्तै बेगखोलामा गाडी खोलाबाटै तर्ने भएकोले खोलामा पानीको बहाब उच्च भएको कारणले गर्दा गाडी आवत जावत हुन सकेको छैन । त्यस्तै अन्नपुर्ण गउँपालिकाको नौनी बगरमा पनि पहिरोले गर्दा सडक अबरुद्ध भएको छ । वर्षा नरोकिएको कारणले गर्दा तत्कालन सडक खुलाउन पनि समस्या भएको प्रहरीको भनाई छ । 

त्यसैगरी अन्नपुर्ण गाउँपालिका–३ दानाको रुप्से झरना, अन्नपुर्ण गाउँपालिका–२, भुरुङतातोपानीमा पनि सडक अबरुद्ध भएको छ । रुप्सेमा आएको बाढीले सडक कटान गरेपछि सवारी आवागमन बन्द भएको हो । त्यस्तै बेनी–दरवाङ हुँदै जलजला रुकुम जोड्ने सडक खण्ड अन्तरगत बेनी–दरवाङको बाङ्गे पहिरो र घुमाउने भिरमा सडक अबरुद्ध भएको छ ।

बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनले सडक मर्मतका लागि प्रयास भएको भए पनि लगातारको वर्षाले गर्दा समस्या भएको बताउनुभयो । शेरचनका अनुसार बेनी जोमसोम सडक खण्डको म्याग्दी क्षेत्रमा मात्रै धेरै ठाउँमा अबरुद्ध छ, वर्षा कम हुँदासाथ सडक खुल्छ । रुप्सेमा शनिबार देखि नै पटक पटक अबरुद्ध हुने र खुलाउने क्रम जारी छ । आज पनि पहिरो झरेको छ त्यसलाई पन्छाएर सवारी सञ्चालन गर्नका लागि हामी प्रयासरत छौं,–शेरचनले भन्नुभयो ।

त्यस्तै म्याग्दीलाई केन्द्रीय सडक सञ्जाल सँग जोड्ने बेनी–मालढुङगा सडक खण्ड पनि अबरुद्ध रहेको छ । बेनी–बागलुङ सडक भने अहिले कुनै अवरोध नभएको प्रहरीले जनाएको छ । लगातारको वर्षाले गर्दा प्रमुख नदिहरु म्याग्दी र कालीगण्डकीमा पानीको बहाब बढेको छ । म्याग्दी सदरमुकाम बेनीमा कालीगण्डकी र म्याग्दी नदि मिसिए पछि कालीगण्डकीका नाउँले बग्ने भएकाले दुवै नदिमा भएको बहाबका कारण तल्लो क्षेत्रका तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकहरु सचेत रहनु पर्ने देखिएको छ ।

Author

अमृतप्रसाद पौडेल