• ६ चैत २०८०, मङ्गलबार

राप्तीनदीमा ५५० मिटर लामो पुल निर्माण

blog

राप्ती नदीमा नवनिर्मित ५५० मिटरको पक्की पुल । तस्विर: सिराज खान

नेपालगञ्ज, साउन १४ गते । राप्ती नदीको मदुवा घाटमा पक्की पुलको निर्माण पुरा भएको छ । पुल निर्माणसँगै उक्त क्षेत्रका जनतालाई आवागमनमा सहज बनेको छ । 

विभिन्न पुल र सडक निर्माणको ठेक्का पाएका अधिकांश निर्माण कम्पनीले समयमा काम पुरा नगरेर अलपत्र पारिरहेको बेला तुँण्डी रसुवा कुमार श्रेष्ठ जेभीले निर्धारित समयमै राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा ५५० मिटर लामो पक्की पुल निर्माण कार्य सम्पन्न गरेको छ । 

७३ करोडको लागतमा सो पुलको निर्माण कार्य समयमै पुरा गरेपछि पहिलो पटक सवारीसाधनका साथ आवागमन गर्न पाएपछि सो क्षेत्रका जनता निकै उत्साहित बनेका छन् । तुँण्डी रसुवा कुमार श्रेष्ठ जेभीका निर्देशक सुजित श्रेष्ठले पुलको साइडको अलिकति काम बाँकी रहेपनि पुल निर्माण पुरा गरेर सो पुरा हुने वित्तिकै सवारी साधनको आवागमन चालु गरिएको बताउनुभयो । 

पुलको अभावले सो क्षेत्रका वासिन्दाले निकै टाढा अगैया पुगेर आवागमन गर्नु परेकोमा अहिले पुल निर्माण भएर सवारी साधन सुचारु गरिएपछि सो क्षेत्रका सयौं सर्वसाधारणले राहात महसुस गरेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो । 

२०७४ सालबाट निर्माण सुरु भएको उक्त पक्की पुल ५ बर्ष भित्र अर्थात गत असार मसान्तसम्म निर्माण सम्पन्न गरि सक्नु पर्ने थियो सोही अनुरुप कम्पनीले पुलको निर्माण कार्य सम्पन्न गरेको जनाएको छ । 

निर्माण कम्पनीका अनुसार ११ वटा पिल्लर रहेको उक्त पक्की पुल ७.५ मिटर चौडाई पिच र पुलको दुवै साईडमा १ः७५ मिटरको पैदल यात्रुका लागि बाटो गरि जम्मा ११ मिटर पुलको चौडाई रहेको छ । 

Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।