• ६ चैत २०८०, मङ्गलबार

पर्यटनमन्त्री श्रेष्ठ र पोल्याण्डका राजदूत बुराकोव्स्कीबीच भेट

blog

तस्बिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट

काठमाडौं, साउन १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा शुक्रबार भएको भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ६३ वर्षसम्म सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्नुहुँदै यसलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । पर्वतारोहणमा पोल्याण्डका जनताको रुचि रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

मन्त्री श्रेष्ठले कोरोना महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजना अनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराउनुभयो ।

पोल्याण्डमा उच्च अध्ययन र  रोजगारीको सिलसिलामा नेपालीहरु जाने गरेको तथा नेपालमा रहेका पोल्याण्डका जनताको भिसा र आवागमन प्रक्रियामा सरलीकरण गर्नेबारे पनि उहाँहरुबीच छलफल भएको मन्त्रालयले जनाएको छ । 

नेपाली उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा ईयूले सुरक्षासम्बन्धी सूचीमा राख्न नहुने धारणा मन्त्री श्रेष्ठको छ ।

आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा कम्पनीहरु सुरक्षित रहेको पुष्टि भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।

राजदूत बुराकोव्स्कीले सन् १९९२ मा कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुबरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिनुभएको थियो । रुटकिविज युरोपबाट सगरमाथा र केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन् । भेटवार्तामा उहाँहरुबीच नेपालको पर्यटन प्रवर्द्धनका उपायहरुबारे छलफल भएको थियो ।

भेटमा मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्याण्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको सहभागिता थियो ।