सुनाउनेभन्दा सुन्नेलाई लाज

khagendra marasiniखगेन्द्रराज मरासिनी

एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा गठित सरकारको ‘मधुमास’ समयलाई मूल्याङ्कन गर्न सरकारमा उपप्रधानमन्त्रीसहित सबैभन्दा ठूलो सहभागी एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको स्थायी कमिटीले समीक्षा ग¥यो । एमाओवादी स्थायी कमिटीले यस अवधिमा सरकार तथा माओवादीका मन्त्रीले जनअपेक्षा, जनचाहना तथा देशको आवश्यकता बमोजिम काम गर्न नसकेको निष्कर्ष निकाली प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र सरकारमा प्रतिनिधित्व गर्ने आफ्ना मन्त्रीका हकमा देश र जनतालाई शिरोधार्य गर्दै जनताप्रति उत्तरदायी र जवाफदेही रहन परिणाममुखी काम गर्न निर्देशनसमेत दिएको सार्वजनिक भयो ।
‘मधुमास’ अवधिमा सरकारबाट जनअपेक्षानुसार काम हुन नसकेको, परिणाम प्रायः शून्य रहेको, कामका आधारका पार्टीका नेता सरकारमा सामेल भएको अनुभूति जनताले कहीँ कतै, कुनै पनि कोणबाट महसुस गर्न नसकेको एमाओवादीले निष्कर्ष निकाल्नु सही हो । सरकारले गरोस् वा नगरोस्, आफूले सम्हालेका मन्त्रालयमा मन्त्री स्वयं अग्रसर भएर जनअपेक्षा, जनचाहना तथा देशको आवश्यकता बमोजिम सही र ठोस काम गर्न केले छेकेको थियो र छ ? । नदिनी बज्यैले आइतबार बार्छिन् भने जस्तै आफैंमा अक्षम भएपछि कहाँबाट गर्न सकिन्छ राम्रो र आहा भन्ने काम । कामै नगरी कहाँबाट आउँछ राम्रो नतिजा ? आफू अक्षम हुने दोष जति अरूलाई थोपर्न मिल्दैन ।
देश र जनताप्रति उत्तरदायी हुँदै जनपक्षीय भावनाका साथ काम गर्न खोज्ने हो भने कसैले छेक्दैन । यहाँ इच्छाशक्तिको कमी हो । विषय वस्तुको ज्ञानको कमी हो । आफू सक्षम नहुने, साथी–सहयोगीको सल्लाह लिँदा जातै जान्छ जस्तो गर्ने प्रवृत्तिको उपज हो । एमाओवादीका नेता सत्तामा पुगेपछि पार्टी नेतृत्वले गरेका निर्णयको समेत खिल्ली उडाउँदै नातावाद, कृपावाद, सोर्सफोर्स तथा फरियावादलाई मुख्य आधार बनाइ मै खाउँ, मेरैले खाउन्, मै लाउँ, मेरैले लाउन् भन्ने भावनाबाट अभिप्रेरित भई काम गर्छन् । यस्तो भएपछि जनताले केको आशा एवं भरोसा गर्ने ?
विगतको सरकारमा सामेल एक दुई जना मन्त्रीले आफ्नै पहलमा जनअपेक्षा अनुसारको काम गरी चौतर्फी वाह वाह पाएका थिए । काम गर्नेलाई कुनै पनि बहानाबाजी तथा बाधा व्यवधानले छेक्दैन भन्ने उदाहरण पेस गरेका थिए । हुनत राम्रो काम गर्ने र सक्षमको खुट्टा तान्ने परम्परालाई कायम राख्दै त्यस्ता जनपक्षीय नेतालाई यो वा त्यो बहानामा पुनः मन्त्रिमण्डलमा सामेल गराइएन । किनकि ती नेताहरू ‘हाम्रा’ थिएनन्, जनताका राम्रा थिए । अक्षम थिएनन्, सक्षम थिए ।
एमाओवादीले सरकारले राम्रो काम गर्न नसकेको गुनासो वा ध्यानाकर्षण प्रधानमन्त्रीलाई गर्नु राम्रो पक्ष भए पनि आफू चाहिं पानीमाथिको ओभानो हुन खोज्नु कदापि राम्रो होइन । यो प्रत्युत्पादक हुनेछ । एमाओवादीका मन्त्रीलाई जनअपेक्षानुसार काम गर्न के प्रधानमन्त्रीले छेकेको अवस्था हो ? सरकार एमाओवादीबाहेक छुट्टै अस्तित्वको संयन्त्र हो ? नाच्न नजान्नेलाई आँगन टेडो भनेजस्तै आफू अक्षम हुने अनि अरूको जुम्रो देखाउँदै समय बिताउने प्रवृत्तिका कारण एमाओवादी र तिनका नेतृत्वप्रति गम्भीर प्रश्न खडा भएको छ । काम गर्न चाहेको भए एमाओवादीतर्फबाट भएका मन्त्रीलाई काम गर्न कसैले रोक्न सक्ने थिएन । परिस्थितिलाई दोष दिँदैमा आफू सक्षम सावित हुनसकिँदैन । २१ औँ शताब्दीका जनता कसले के भन्छ, कसले के गर्छ, को कति पानीमा, सबै कुरा छुट्याउन सक्ने स्वतन्त्र न्यायाधीश हुन् । राम्रो के, नराम्रो के, असल को, खराब को, जनपक्षीय को, जनविरोधी को भन्ने जनता जानकार छन् । गुलिया कुरा गर्दैमा आजका जनतालाई झुक्याउन सकिन्न, जनता परिणाममुखी कामको प्रतिक्षामा छन् ।
अहिले देश सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । जनताले अवस्थालाई बुझेर सरकारका काम कारबाहीमा साथ र समर्थन दिएका छन् । नेता तथा मन्त्रीबाट देश र जनताका पक्षमा ठोसरूपमा कहीँ कतै केही नगर्ने खाली खोक्रो राष्ट्रवाद मात्र फलाक्नाले भोको पेटमा मैले ताक्छु मुडो बन्चरो ताक्छ घुँडो हुनसक्छ । सचेततापूर्वक जनउत्तरदायी हुनुपर्छ नेता, मन्त्रीहरू । जनता उपयुक्त समयमा गुण र दोषका आधारमा एक एक, पाई–पाई हिसाब किताब गरी मूल्याङ्कन गर्नेछन् । अर्कालाई चोर औँला देखाउँदा बाँकी सब औँलाले आफैतिर पर्किएका हुन्छन् भन्ने नबिर्सौं ।
जनताबाट स्याबासी पाउने पाउन परिणाममुखी काम गर्नैपर्छ । नेता तथा मन्त्रीहरूले भाषण गरेरमात्र हुँदैन । सरकारमा दोस्रो ठूलो पदसहित महŒवपूर्ण मन्त्रालयको जिम्मा पाएको एमाओवादीले आफू सर्लक्क पन्छिएर सरकारले काम गर्न नसकेको दोष केवल प्रधानमन्त्रीलाई मात्र दिएर आफू पानीमाथिको ओभानो हुनसक्दैन । के एकीकृत माओवादीका मन्त्री र नेताहरूसँग हामीले यो यो कारणले जनता र देशको पक्षमा काम गर्न सकेनौँ भनेर धक नमानीकन छाती खोलेर भन्न सक्ने आधार छ ? प्रधानमन्त्री भनेकै मन्त्रीहरूकै सर्वोच्च नेतृत्व हो । मन्त्रीहरूले राम्रो र परिणाममुखी काम गरे प्रधानमन्त्री स्वतः सफल हुने हो । सरकारको जस अफजसका भागिदार मन्त्रिमण्डलका सम्पूर्ण सदस्य हुन्छन् ।
सबै मन्त्रीले जनकल्याणकारी काम गर्दै जनताको मन जित्ने काम गर्नुपर्छ । दोष जति अरूलाई थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोजेर उन्मुक्ति पाइँदैन । अहिले एमाओवादीले सरकारले जन अपेक्षानुसार काम गर्न नसकेको भनी प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउनु के जाति गर्नेलाईभन्दा देख्नेलाई लाजजस्तो हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना