• ६ चैत २०८०, मङ्गलबार

दुई लाख लुटेर फरार दुई जना पक्राउ

blog

लुटपाटमा संलग्न जितेन्द्रप्रसाद साह र दीपेन्द्रकुमार मण्डललाई सार्वजनिक गर्दै धनुषा प्रहरी । तस्बिरः लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

 जनकपुरधाम, साउन १२ गते। मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक महिलाको हातबाट दुई लाख रुपियाँ लुटेर फरार दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।  

सोमबार जनकपुरधाम उपमहानगरपालिका-१ मिल्स एरियाबाट दुई लाख लुटेर भागेका दुई जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।

धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार रकम लुटेर भागेका लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ७ का २० वर्षीय जीतेन्द्रप्रसाद साह र सोही वडामा बस्ने २१ वर्षीय दीपेन्द्रकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो।

धनुषाको सबैला नगरपालिका घर भएर जनकपुरधाम वडा नम्बर १ मिल्सएरिया बस्दै आउनुभएकी २८ वर्षीया शर्मिला यादवको हातबाट सोमबार दुई लाख लुटेर उनीहरु फरार भएका थिए।

श्रीमानले साउदीबाट पठाएको दुई लाख रुपियाँ एभरेष्ट बैंकबाट झिकेर घर फर्किने क्रममा मोटरसाइकलमा सवार युवाले उनको रकम लुटेका थिए।रकम लुटिएको ७२ घण्टामै प्रहरीले लुटेरालाई नियन्त्रणमा लिएको एसपी राजौरेले जानकारी दिनुभयो।

आरोपितले चलाएको प्रदेश २-०२-००५ प ००८५ नम्बरको मोटरसाइकललाई खोजी गर्दै जाँदा मण्डल र साह पक्राउ परेका हुन्।प्रहरीले उनीहरुको साथबाट केही रकम बरामद गरेको छ।प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।