• ६ चैत २०८०, मङ्गलबार

ओखलढुङ्गा–सिन्धुली जोड्ने पक्की पुल निर्माण सम्पन्न, स्थानीय खुशी

blog

ओखलढुङ्गा, साउन १२ गते । ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् । पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

करिब २३ करोड लागतमा बनेको पुल दुई सय मिटर लामो छ । पुलमा पाँच वटा स्पान छन् भने पुलको चौडाइ ११ मिटरको छ । दुई वटा ठूला सवारी साधन सहजरुपमा पार गर्न सक्नेछन् ।

निरीक्षणपछि सञ्चारकर्मीहरुसँग बोल्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख केदार नेपालले यो पुल वि.सं. २०७३ को असार अन्तिममा सुरु भएको र २०७६ सम्म नै सकिसक्नुपर्ने भए पनि कोरोना महामारीको कारण काम केही ढिला गरी सकिएको बताउनुभयो ।

पुल सम्पन्न भइसकेको र यातायात सञ्चालनको अन्तिम चरणमा रहेको प्रमुख नेपालको भनाइ छ । उहाँले पुल निर्माण गर्न कुल २४ करोड रुपियाँ लागेको बताउनुभयो । यसले सिन्धुली, रामेछाप र ओखलढुङ्गा जिल्लालाई जोड्ने र यो स्थानको मुहार फेरेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै, पूर्व सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङलगायतका जिल्लामा पहाड–तराई जोड्ने पक्की पुल आफू सांसद हुँदा नभएकोले पूर्वाधार विकासमा पहिलो जोड दिएको बताउनुभयो ।

यो पुल निर्माणपछि काठमाडौंसँग जोडिन ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङका नागरिकलाई सहज र छिटो हुने उहाँको भनाइ छ । उहाँले पक्की पुल निर्माणसँगै नजिकका जिल्लामा पर्यटकीय स्थलको सम्भावना बढ्ने बताउनुभयो ।


त्यस्तै, पुल बनेपछि स्थानीय जनप्रतिनिधि र स्थानीयवासी खुशी भएका छन् । पुल निर्माण नहुँदा डुङ्गाबाट नै आवतजावत हुने गरेको, जसले विभिन्न दुर्घटना निम्तिने गरेकोले अब यी समस्याबाट छुटकारा मिल्ने स्थानीयहरुको भनाइ छ । साथै, सामान ओसारपसारका लागि पनि सहज हुने बताए । उनीहरुले किसानको लागि पनि पुलले धेरै सहयोग पुग्ने विश्वास लिएको बताए । किसानले उत्पादन गरेका खाद्यसामग्रीको बजारीकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

पुलले ओखलढुङ्गाका जनताको कृषिसहित अन्य विभिन्न आवश्यकतालाई सहज बनाइदिएको छ । सिन्धुली जिल्लाबाट ओखलढुङ्गाको लिखु गाउँपालिका जोड्ने यो पुल सञ्चालनमा आएबितिकै सोलुखुम्बु र रामेछापको पूर्वी भेगलाई आवतजावतमा सहज हुनेछ । सुनकोशी नदीमाथिको नवलपुरको पुलले काठमाडौंसँग ओखलढुङ्गालाई जोड्ने निकै छोटो बाटो हुनेछ ।

बुधबार सांसद रामहरि खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुखसहितको स्थानीय जनप्रतिनिधिले पक्की पुलको निरीक्षण गरेका थिए ।